Logo

राजनीति

विधेयकको विरोध गर्दै कांग्रेसले जनतालाई सोध्यो, ‘पाँच वर्ष जेल बस्न तयार हुनुहुन्छ?’



विश्वप्रकाश शर्मा।

काठमाडौं, १५ पुस – प्रमुख विपक्षी नेपाली कांग्रेसले सूचना प्रविधि र विशेष सेवासम्बन्धी विधेयकबारे सरकारलाई प्रश्न गर्न आमनागरिकलाई अपील गरेको छ।

सूचना प्रविधि विधेयकले सामाजिक सञ्जालमा कसैलाई हेच्याउने, जिस्क्याउने काम गरे ५ वर्षसम्म जेल हाल्न व्यवस्था छ भने विशेष सेवासम्बन्धी विधेयकमा सरकारले सार्वसाधारणको फोन ट्यापिङ गर्न सक्ने व्यवस्था छ।

कांग्रेसले दुवै विधेयकको विरोध गरेको छ। कांग्रेस पार्टी कार्यालयमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता विश्वप्रकाश शर्माले सूचना प्रविधि विधेयकले सरकारमाथिको अधिनायकवादी आशंकालाई पुष्टि गरेको बताए।

शर्माले सामाजिक सञ्जालमा कसैलाई जिस्क्याएकै भरमा ५ वर्ष जेल बस्नुपर्ने, १५ लाख रुपैयाँ जरिवाना तिर्नुपर्ने जस्ता प्रावधान लोकतान्त्रिक राज्य व्यवस्थाको भावना र मर्म विपरीत रहेकाे उल्लेख गरे।

‘नागरिकले राजनीतिक दलको आलोचना गर्ने, राजनीतिकर्मीहरुप्रति व्यंग्य गर्ने, सरकारलाई सच्चिन सामाजिक सञ्जालमार्फत कोर्रा लगाउन पाउने संविधानले दिएको अधिकार हो, यसलाई यो सूचना प्रविधि विधेयकमार्फत कुण्ठित गर्न खोजिएको छ,’ उनले भने।

सरकार बहुदलीय पञ्चायती व्यवस्थाको अभ्यासमा रहेको बताउँदै कांग्रेसले आमजनतालाई सोधेको छ, ‘के तपाई आफ्नो व्यक्तिगत फोन सरकारले रेकर्ड गर्न पाउने कानून बनाउन दिने पक्षमा हुनुहुन्छ? के तपाई सामाजिक सञ्जालमा कुनै सामान्य व्यंग्य कसैलाई गरे वापत ५ वर्ष जेल बस्न तयार हुनुहन्छ?’

नागरिकले आफूले दिएको मत यसका लागि होइन भन्ने सन्देश दिनुपर्ने कांग्रेस प्रवक्ता शर्माले बताए। साथै उनले विधेयक फिर्ता लिन मागसमेत गरेका छन्।

प्रकाशित : १५ पुस २०७६, मंगलबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    दुर्गादेवी अधिकारी ९८१५९२९१२४
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल