काठमाडौं, २ असाेज – कोरोना भाइरस महामारीका कारण धेरै मानिसले जागिर गुमाएका छन्। व्यापार व्यवसाय गर्नेहरुको अवस्था पनि उस्तै छ। महामारी नियन्त्रणका लागि भन्दै सरकारले कहिले लकडाउन त कहिले निषेधाज्ञा जारी गर्दा धेरैको कमाइमा मन्दी छाएको छ।
तर, पाँचथर हिलियाङटार गाउँपालिका ४ का टुरुप संग्रौला र झापाका ईशान सिटौलालाई यसले कुनै असर गरेको छैन । बरु उनीहरुको व्यवसाय थप फस्टाएको छ। राजधानीको मध्य बानेश्वरमा वेबसाइट निर्माण गर्ने कम्पनी ‘एपहरु’का सञ्चालक संग्रोला र सिटौलालाई यतिबेला पनि भ्याइनभ्याइ छ।
उमेरले २७ वर्षमात्र पुगेका संग्रौला र सिटौलाको टीमका १६ जना साथीहरूले खटिएर काम गरिरहेका छन्, जसको नतिजा सुखद् रहेको उनीहरू बताउँछन्।
कोरोना महामारीका कारण धेरैले कामबाट हात धुने अवस्था बनेको छ तर इन्टरनेट वा अनलाइनबाट हुने काम भएकाहरू बेरोजगार बन्नुपर्ने अवस्था खासै बनेको छैन। जसका कारण पनि मानिस त्यसतर्फ आकर्षित भएका छन्, त्यसको लाभ संग्रौला र सिटौलाको टिमले लिइरहेको छ।
‘लकडाउनका कारण धेरैले जागिर गुमाउनु भएको छ, कामहरू बन्द भएका छन् तर हाम्रो व्यवसायमा यसले खासै असर गरेको छैन,’ संग्रौला भन्छन्,‘कोरोनाले धेरैलाई इन्टरनेटबाट गर्ने खालका व्यवसाय तर्फ आकर्षित गरेका कारण पनि हाम्रो व्यवसायमा अहिलेको परिस्थितिले असर परेको छैन।’
एक हजारभन्दा धेरै वेबसाइट
एपहरूका सञ्चालक संग्रौलाका अनुसार उनीहरुको कम्पनीले एक हजारभन्दा धेरै वेबसाइट निर्माण र पुनर्निर्माणको काम गरेको छ। उनीहरूले एक सयभन्दा धेरै न्यूज साइट (अनलाइन न्यूज पोर्टल) बनाएका छन्।
उनीहरूले बनाएका न्यूज पोर्टलहरू वेवसाइटको नेपाल र्याङ्किङको लिस्टिङ टप ५० भित्र धेरै रहेका छन्। त्यस्तै उनीहरुले विभिन्न संघसंस्था र व्यक्तिहरूको वेबसाइटहरू बनाएका छन्। जसमा ठूला र नाम चलेका विदेशी संस्थाहरू रहेको सञ्चालक सिटौला बताउँछन्।
हास्कलाकार मनोज गजुरेलले सञ्चालन गरिरहेको गजुरियल डटकमदेखि प्रदेश १ को मुख्यमन्त्री कार्यालयसम्मको वेवसाइट उनीहरूले निर्माण गरेका छन्। ‘अहिले हामीले १ सयभन्दा धेरै वेबसाइटहरू बनाएका छौं, त्यसमा सबैभन्दा धेरै न्यूज पोर्टलहरू छन्,’ संग्रौलाले भने।
एपहरूले टेलिभिजन च्यानलहरूले सञ्चालन गर्ने वेबसाइट पनि बनाएका छन्। न्यूज २४ र एबीसी लगायतका टेलिभिजन र अहिले चल्तीमा रहेका धेरै न्यूज पोर्टल एपहरूले बनाएको छ।
एपहरूले आफ्नो वेबसाइटमा राखेको जानकारीअनुसार कम्पनीले ठूलो संख्यामा समाचार पोर्टलहरू निर्माण गरेको छ। लकडाउनका कारण मानिसहरू घर भित्रै रहने र समाचारमा सबैको चासो हुने भएका कारण पनि यसतर्फ धेरैको आकर्षण भएको हुन सक्ने संग्रौला बताउँछन्।
वेबसाइट पाँच हजारदेखि लाखौं मूल्यसम्मका हुन्छन्। रकमको मूल्यांकन वेवसाइटका फिचरका आधारमा फरक पर्न जान्छन्। लकडाउनका कारण धेरै सञ्चारगृहहरुबाट कर्मचारी कटौती भएको र बेरोजगार बन्ने अवस्था बनेसँगै धेरै पत्रकारहरु आफूहसँग जोडिएको उनको अनुमान छ।
फेसबुक र गुगलले दिने पैसाका कारण पनि विशेषगरि पत्रकारहरु आफै वेबसाइट चलाउन तर्फ आकर्षित भएका हुनसक्ने उनी बताउँछन्। नेपालमा युट्युवको आकर्षण पनि बढिरहेको छ। युट्युबबाट राम्रौ आम्दानी हुने भएपछि कतिपय युट्युब सञ्चालकहरूले वेबसाइट पनि बनाउने गरेका छन्।
‘पछिल्लो समय बेवसाइट बनाउनेको संख्या बढेको छ। धेरैले समाचार पोर्टल बनाइरहेका छन्,’ उनी भन्छन्, ‘लकडाउनले बेरोजगारी बढेका कारण अनलाइनतर्फ मानिसहरूको आकर्षण बढेको हो, यसमा फेसबुक र गुगलले पनि पैसा दिने भएका कारण आकर्षण बढेको हो।’
पाँच हजारदेखि लाखौं मूल्यका वेबसाइट
सञ्चालक संग्रौलाका अनुसार वेबसाइट पाँच हजारदेखि लाखौं मूल्यसम्मका हुन्छन्। रकमको मूल्यांकन वेबसाइटका फिचरका आधारमा फरक पर्न जान्छन्। वेबसाइटको निर्माणमा धेरै पक्षले प्रभाव पार्ने भएका कारण त्यसको मूल्य फरक फरक हुने संग्रौला बताउँछन्।
‘वेबसाइट मात्र भनेर हुँदैन त्यसको मूल्यमा फरक पर्न जान्छ। त्यसमा गरिने डिजाइन, होस्टिङ, सरोबर लगायतले पनि असर गर्छ। हामीले ५ हजारदेखि २५/३० लाखसम्मका बेवसाइट बनाएका छौं,’ संग्रौला भन्छन्।
व्यवस्थापन पढेर आइटीमा सफलता
टुरुप संग्रौलाको जन्म पाँचथरको हिलियाङटार गाउँपालिका–४ मा भएको हो। उनले विद्यालय शिक्षा फिदिम र झापामा पूरा गरेका थिए। फिदिममा रहेको नमूना माविबाट एसएलसी गरेका संग्रौलाले प्लस टु व्यवस्थापन संकायमा गरेका थिए।
झापाबाट प्लसटु गरेका उनले राजधानीको शंखरदेवबाट व्यवस्थापन संकायमा स्नातक गरेका छन्। नाताले संग्रौलाका मामा पर्ने सिटौला झापा दुवागढीका हुन्। स्कुले शिक्षापछि सिटौलाले आइटी अध्ययन गरे। सानैदेखि सूचना प्रविधिको क्षेत्रमा रुची भएका उनले राजधानीको लर्डबुद्धमा आइटी अध्ययन गरेका हुन्।
आफूले अध्ययन गरेको क्षेत्रमा लागेर पनि कतिपयले सफलता हासिल गर्न नसकेको उदाहरण प्रस्त छन्। तर, सिटौलाले आफ्नै क्षेत्रमा सफता हात पारिरहेका छन्। आइटीको औपचारिक अध्ययन नगरे पनि उनका भान्जा संग्रौलाले फरक विधामा गएर पनि सफलता हात पारेका छन्।
व्यवस्थापन पढेर पनि संग्रौला कसरी आइटीमा अब्बल बने त? भन्छन्,‘रुची लागेको क्षेत्रमा लाग्दा फाइदा पुग्ने रहेछ।’ सानैदेखि आइटी क्षेत्रमा रुची रहेका संग्रौलाले इन्टरनेटको सहाराले नै ज्ञान लिएको बताउँछन्।
आफूले केही समय वेबसाइट बनाउने ट्रेनिङ गरे पनि त्यसलाई पूरा गर्न नपाएको तर इन्टरनेटबाटै धेरै कुरा सिकेको उनले बताए। काम गर्दै जाँदा धेरै कुरा सिक्ने अवसर पनि पाएको उनी बताउँछन्।
दुवै जनाले वेबसाइटको काम गर्ने भए पनि आफू अलि बढी व्यवस्थापन, क्लाइन्टसँगको डिलमा रहने गरेको संग्रौलाले बताए। सन् २०१२ बाट वेबसाइट बनाउने काम थालेका सिटौला र संग्रौलाले क्लाइन्टको संख्या बढेसँगै २०१७ बाट एपहरू प्रालि सञ्चालन गरेर वेबसाइट बनाउने कामलाई व्यवस्थित गरेका हुन्।
यतिबेला आफूहरू वेबसाइट, मोबाइल एप, सपोर्टमा बढी सक्रिय रहेको र ग्राफिक्स काम पनि गर्ने गरेको सिटौलाले बताए। सुरुमा वेबसाइटहरूलाई डाउनलोड गर्ने डाउनलोडिङ साइट बनाउन कम्मर कसेका मामा भान्जाले त्यसमा सफलता हात पर्न सकेनन्।
एउटा काम गर्न सकिएन भनेर हतास भइयो भने थप सफलता हात पर्न सकिँदैन भनेर निरन्तर यही क्षेत्रमा खटिरहेका संग्रौलाले भने, ‘त्यसपछि दुई जना मिलेर वेबसाइटको काम थाल्यौं, र यो अहिले यो अवस्थामा आइपुगेका छौं।’
एपहरू कम्पनीले अहिले होस्टिङ सर्भिस सुरु गरेको छ। नेपालमा गुणस्तरीय होस्टिङ नभएको कारण आफूहरूले यसको सुरुवात गरेको सिटौलाले बताए। वेबसाइट मात्र नभएर फेरि रिडिजाइन गर्दा त्यसको डाटा सुरक्षित गर्ने काममा यसले फाइदा पुग्ने उनले बताए।
सिटौलाका अनुसार अहिले विशेषगरि एपहरुसँग वेवसाइट रिडिजाइनका काम बढी मात्रामा आइरहेका छन्। अन्य कम्पनी र व्यक्तिले बनाएका वेबसाइटमा समस्या आएपछि मानिसहरुले विशेषगरि आफूहरुलाई रोज्ने गरेको सिटौला बताउँछन्।
किन रिडिजाइन ?
कुनै पनि वेबसाइट सुरुमा विभिन्न प्रक्रिया पार गर्दै निर्माण हुन्छ। कतिपयले निर्माण गर्ने काम मात्र यस्ता कम्पनी वा आइटी पढेका व्यक्तिलाई दिने गर्छन्। यसरी सञ्चानमा रहेका र व्यावसायिक रुपमा चलेका कम्पनीहरूले बनाएका वेबसाइटमा समस्या आउँदा त्यसको समाधान हुन नसकेपछि साइट रिडिजाइन गर्ने गरिन्छ।
‘अरुले बनाएका साइटहरूमा समस्या आएपछि धेरै क्लाइन्टहरू हामीकहाँ आइपुग्नु हुन्छ,’ सिटौलाले भने, ‘हामीले त्यसका हरेक प्राविधिक पक्ष हेरेर सरल मूल्यमा समस्या समाधान गरिदिने गरेका छौं।’
साइबर सुरक्षा, ट्राफिक (भिजिटर) व्यवस्थापन, वेबसाइटको आकर्षकता, क्लाइन्टको आवश्यकता अनुसारको फिचर आदिको कुशल रुपमा व्यवस्थापन गर्ने भएका कारण एपहरूसँग जोडिनेको संख्या बढिरहेको संग्रौलाले बताए।
इन्स्ट्यान्ट आर्टिकलको माध्यमबाट फेसबुक वा अन्य माध्यमबाट आउने पैसाको व्यवस्थापनदेखि सामाजिक सञ्जालको व्यवस्थापनसम्मको काम आफूहरुले गरिरहेको संग्रौलाले बताए।
‘हामीहरूले रिडिजाइनका काम मात्र होइन, एप, न्यूज पोर्टल र अन्य वेवसाइटलाई आम पब्लिककहाँ लैजाने कामको प्राविधिक सहयोग पनि हामीले गर्ने गरेको छौं,’ सिटौलाले भने।
आफूहरुसँग सामाजिक सञ्जाल फेसबुकको धेरै पेजहरु रहेको संग्रोला बताउँछन्।
न्यूज पोर्टलका लागि आफ्ना समाचारहरु पाठकसमक्ष लैजान अहिले फेसबुक पेज निकै महत्त्वपूर्ण हुन्छ। धेरै जसो वेवसाइटहरुमा भिजिटर अर्थात् पाठक सामाजिक सञ्जालमार्फत् जोडिन्छन्।
सिधै वेबसाइटमै गएर समाचारहरू वा कुनै पनि संस्थाको जानकारी लिने नेपाली पाठकको संख्या न्यून रहेको छ। ‘हामीले वेबसाइट बनाउनेदेखि पेजको व्यवस्थापनसँगै सबै पक्ष मिलाइदिने गरेका छौं,’ संग्रौलाले भने, ‘लाखौंको संख्यामा लाइक भएका पेजहरू हामीसँग छ, जसको फाइदा क्लाइटले राम्रोसँग लिन सक्छन्।’
प्रतिक्रिया