काठमाडौं, भदौ ११ – नेपाली समाज विस्तारै समानतातर्फ उन्मूख हुँदैछ। विशेषतः साँघुरो मानसिकताका कारण समाजमा छुवाछुत जस्तो अपराध पनि अहिलेसम्म खुलेआम हुने गरेको छ। शहरी क्षेत्रमा नभएपनि ग्रामीण क्षेत्रमा छुवाछुत व्याप्त छ। अझ, आजभन्दा एक–दुई दशकअघिसम्म नेपाली समाजमा छुवाछुतको स्थिति कति विकराल थियो होला?
‘मेरो पढाई सानैदेखि राम्रो थियो, म सधैँ कक्षामा प्रथम हुन्थेँ,’ नेपाली दलित आन्दोलनका अगुवा तथा अनेरास्ववियुका केन्द्रीय सचिवालय सदस्य मोती विक (महेन्द्र) भन्छन्, ‘कक्षामा प्रथम भएकै कारण मैले कुटाई खानु पर्थ्याे, अवहेलना सहनुपर्थ्याे।’
युवा नेता विकले कक्षामा अन्य समुदायका विद्यार्थीलाई पढाईमा जित्दा ज्यादती सहेपनि उनी आफ्नो कर्ममा निरन्तर लागिरहे। र, अहिले उनी नेपाली राजनीतिमा युवाहरुको ढुकढुकी भएर उदाइरहेका छन्।
उनी प्रतिकार र प्रतिवाद पनि गर्थे। र, सामन्ती सोचको परिणामका रुपमा रहेको छुवाछुतलाई जरैदेखि निर्मुल पार्नका लागि उनले सोचाई नै परिवर्तन गर्नुपर्ने धारणाका साथ सचेतना अभियानमा लागेका हुन्।
‘सामाजिक जागरण र राजनीतिक परिवर्तन सँगसँगै गएमात्रै मुलुकका सबै नागरिकले समानताको अनुभव गर्न सक्छन्,’ युवा नेता मोती विक महेन्द्रले दृढता व्यक्त गर्दै भने, ‘न्यायपूर्ण समाज निर्माणको अभियान तब मात्रै पूरा हुनेछ।’
अछामदेखि काठमाडौंसम्मको यात्रा
अछाम साँफेबगर नगरपालिका–१३ निबासी सर्जन विक र ममता विकका सुपुत्र मोती विक महेन्द्रको जन्म वि.सं. २०३८ साल मंसिर ११ गतेका दिन भएको हो। साँफेबगरस्थित राष्ट्रिय माविबाट एसएलसी पास गरेका उनले प्रविणता प्रमाणपत्र तहको पढाई बानेश्वर क्याम्पसबाट पूरा गरेका हुन्।
व्यवस्थापन संकाय अध्ययन गरेका अखिलका नेता विकले स्नातक तह र स्नातकोत्तर तहको पढाई नेपाल कमर्श क्याम्पसबाट पूरा गरेका छन्। उनले विवाह पनि गरिसकेका छन्। उनी श्रीमती उषा बस्नेत हुन्। मोती र उषाका एक छोरा र एक छोरी छन्।
कक्षा–८ मा पढ्दा राजनीतिमा
वि.सं. २०५४ सालमै विद्यार्थी राजनीति शुरु गरेका विक प्रारम्भिक कमिटी सदस्य भए। त्यसपछि अध्यक्ष भएका उनले २०५५ सालमा इलाका सचिव भएर काम गरे।
र, जिल्ला सदस्यको जिम्मेवारीमा रहेका बेला काठमाडौं आएका विक बानेश्वर क्याम्पसको प्रारम्भिक कमिटी सदस्य भए। त्यसपछि सचिव तथा स्कूल जिल्ला कमिटीको सह–संयोजक भएर काम गरे।
वि.सं. २०५८ सालमा नेपाल कमर्श क्याम्पसमा प्रारम्भिक कमिटीकै सदस्य भएका विकले २०६२ सालमा स्ववियु सदस्यमा जीत हासिल गरे। २०६५ सालमा स्ववियु उपसभापतिमा विजयी भएका उनी २०६६ सालमा स्ववियु परिचालन विभागको केन्द्रीय सचिव भए।
२०६८ सालमा अनेरास्ववियुको मनोनित केन्द्रीय सदस्य भए। र, २३औं राष्ट्रिय सम्मेलनबाट अनेरास्ववियुको सचिवालय सदस्यमा निर्वाचित भएर काम गरिरहेका छन्।
स्कूलदेखि नै संघर्ष
नेपाली समाजको संरचनामा पूर्णतः परिवर्तन आइसकेको छैन। जातीय विभेद उन्मूलन गर्न कानून बनेको वर्षौ भएपनि प्रभावकारी कार्यान्वयनको अभाव अझै देखिँदै आएको छ।
दलित आन्दोलनका अगुवा मोती विक महेन्द्र पनि नेपाली समाजसँग लड्दै अघि बढिरहेका छन्। स्कूलमै प्रथम भएका कारण ज्यादती भोगेका विक समानता स्थापित गर्न निरन्तर सक्रिय छन्।
कक्षाकोठाका बेञ्चमा ‘यहाँ नबस्’ लेखेको उनी भेट्थे। तर, उनी आफ्नो पढाईलाई बढी प्राथमिकता दिन्थे। ‘खुब लडाई हुन्थ्यो, प्रतिकार गरेर भएपनि म अघि बढिरहेँ,’ उनले गम्भीर हुँदै भने।
प्रमाणपत्रमा थर नै सच्याउनु पर्यो
मोती विक महेन्द्रले शुरुवाती शिक्षा आर्जन गर्ने क्रममा आफ्नो थर ‘विक’ लेख्न पाएनन्। तर, उनले संघर्ष नै गरेर आफ्नो हक लिएर छाडे।
उनी भन्छन्, ‘स्कूलमा कामी लेखिएको थियो, मैले विक लेख्न आग्रह गर्दा स्कूल प्रशासनले नमानेपछि दिपायलस्थित क्षेत्रीय शिक्षा निर्देशनालयमा गएर सच्याएको हो।’
युवा आन्दोलनका अगुवा
अखिलका नेता मोती विक महेन्द्र नेपाली युवाहरुका लागि प्रेरणाका स्रोत पनि हुन्। उनले गरेको संघर्षलाई युवाले मार्गदर्शनका रुपमा लिन सक्छन्। विक राजनीतिसँगै सामाजिक र आर्थिक स्थिति सुधार्नु पर्नेमा जोड दिँदै आएका छन्।
‘नेपाली युवामा राजनीतिक चेतना चाहिँ आइसकेको छ, अधिकारको कुरा पनि बुझेको छ,’ उनी भन्छन्, ‘तर, राज्यका मूल प्रवाहमा नपुगेसम्म आफ्नो हक लिन समस्या नै हुन्छ।’
विकका अनुसार नेपाली दलित समुदायका युवालाई अझैपनि अधिकारबाट बञ्चित गराइँदै छ। ‘दलितका लागि आएको छात्रवृत्ति विभिन्न बहानामा लुकाइन्छ, यो प्रवृति हटाउनु पर्छ,’ उनले भने, ‘वर्षौंको लडाइँपछि प्राप्त अधिकारको सुनिश्चितता गर्नैपर्छ।’ उनी अधिकारकै लागि निरन्तर आवाज उठाइरहेका छन्।
युवाको जिम्मेवारी
दलगत र गुटगत स्वार्थभन्दा माथि उठेमात्रै युवाहरु राज्य सञ्चालनका साझेदार हुनसक्ने विकले बताएका छन्। उनी भन्छन्, ‘पिछडिएको ठाउँबाट जितेपनि शहरको विकासका लागि सोच्ने प्रवृतिको अन्त्य हुनुपर्छ, उत्पीडनको समस्या एउटै हो, सबै युवाहरु एकै ठाउँमा आएर समाधान खोज्नुपर्छ।’
युवालाई नेतृत्व दिए मुलुकमा देखिएको निराशा चिर्न सक्ने विकको धारणा छ। ‘एमालेमा नेतृत्व गर्न सक्ने युवा नेता माधव ढुंगेललाई अघि बढाऔं, कांग्रेस नेता विश्वप्रकाश शर्माले अबको कांग्रेसको नेतृत्व लिनुपर्छ,’ उनले भने, ‘नेपालमा आर्थिक समृद्धि र स्थायित्व हासिल हुन एक दशक लाग्दैन।’
रमेश खरेल कुन पार्टीमा प्रवेश गर्दैछन् ?
प्रतिक्रिया