Logo

समाचार

‘दुई रुपैयाँ भ्रष्टाचार गर्ने पनि भ्रष्टाचारी हो, कारबाही हुन्छ’



काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगका नवनियुक्त प्रमुख आयुक्त नवीनकुमार घिमिरेले भ्रष्टाचारी साना र ठूला नहुने भएकाले सबैलाई कानूनअनुसार कारवाहीको दायरामा ल्याउने बताएका छन्।

घिमिरेले दुई रुपैयाँ भ्रष्टाचार गर्ने पनि भ्रष्टाचारी भएको उल्लेख गर्दै भने – ‘करोडौँ खाने पनि भ्रष्टाचारी हो । भ्रष्टाचार गर्ने जो कोहीलाई पनि कानूनी दायरामा ल्याउन आयोग प्रतिबद्ध छ।’

आयोग कार्यालय टङ्गालमा आज पदबहालीपछि उनले भ्रष्टाचार एउटा महारोगका रुपमा विकसित भएको बताउँदै यसलाई नियन्त्रणका लागि आयोगले इमान्दार र सकारात्मक पहल गर्ने प्रष्ट पारेका छन्।

कानूनको सीमाभित्र रहेर इमान्दारीपूर्वक काम गर्ने र सानाठूला सबै खालका भ्रष्टाचारीलाई आयोगले कठोरतापूर्वक कारवाही गर्ने उनले प्रतिबद्धता व्यक्त गरे। सामाजिक प्रवृत्तिका रुपमा भ्रष्टाचार संस्थागत हुँदै गएकाले त्यसलाई नियन्त्रणका लागि कानूनी दायरामा रहेर आयोगले काम गर्ने भन्दै नवनियुक्त प्रमुख आयुक्त घिमिरेले सरकारका निकाय, नागरिक समाज, सञ्चारकर्मीबाट पनि आयोगले साथ पाउने विश्वास व्यक्त गरे।

राज्यका सबै निकायको एकीकृत र समन्वायत्मक प्रयासबाट मात्रै भ्रष्टाचारको पूर्ण नियन्त्रण हुने भन्दै नवनियुक्त प्रमुख आयुक्त घिमिरेले सहयोगका लागि आग्रह गरे। आफूले कानूनको अधीनमा रहेर भ्रष्टाचार नियन्त्रण, अनुसन्धानको कामलाई अगाडि बढाउने र समाजमा भ्रष्टाचार महारोगका रुपमा फैलिएको छ, त्यसलाई नियन्त्रण गर्न अधिकत्तम प्रयास गर्ने उनको कथन थियो।

प्रवृत्तिगतरुपमा पनि भ्रष्टाचारका अनेकन रुप देखिएकाले अनुसन्धानका लागि दक्ष जनशक्ति तथा प्रविधिको प्रयोगलाई पनि आफ्नो कार्यकालमा अगाडि बढाउने उनको भनाइ थियो ।

नवीनकुमार घिमिरे।

विसं २०७४ फागुन २ गतेदेखि कायममुकायम प्रमुख आयुक्तका रुपमा कार्यरत घिमिरे आज मात्रै प्रमुख आयुक्तमा नियुक्त भएका हुन्।

शपथ लिएलगत्तै आयोग कार्यालय पुग्नुभएका नवनियुक्त प्रमुख आयुक्त घिमिरेलाई आयोगका आयुक्तहरु, सचिव तथा आयोगमा कार्यरत कर्मचारीले स्वागत गर्दै सफल कार्याकालको कामना गरेका छन्।

पदभार ग्रहणलगत्तै नवनियुक्त आयुक्त घिमिरेले भ्रष्टाचार नियन्त्रणमा इमान्दार भएर खट्न, अनुसन्धानलाई प्रभावकारी बनाउन आयोगमा कार्यरत कर्मचारीलाई निर्देशन दिएका थिए। उनले जनताको अपेक्षाअनुसार अनियमितता र भ्रष्टाचार नियन्त्रणमा आयोगका कर्मचारीको भूमिका महत्वपूर्ण हुने भएकाले इमान्दार प्रयत्न गर्नसमेत आग्रह गरेका छन्।

संसदीय सुनुवाई समितिले आज मात्रै प्रमुख आयुक्तमा घिमिरेलाई अनुमोदन गरेको थियो।

प्रकाशित : ४ आश्विन २०७५, बिहिबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    दुर्गादेवी अधिकारी ९८१५९२९१२४
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल