नेपाली राजनीतिका शिखरपुरुष एवं नेपाली कांग्रेसका संस्थापक विश्वेश्वरप्रसाद कोइराला (बीपी कोइराला) वि.सं. २०३३ साल पुस १६ गते राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिएर नेपाल फर्किनु भयो। नेपालमा प्रजातन्त्र स्थापनाका निम्ती कठोर संघर्ष गर्नु भएका बीपीको उक्त नीतिकै कारण नेपालमा अहिले संघीय लोकतान्त्रिक गणतन्त्र प्राप्ति भएको हो। वि.सं. १९७१ भदौ २४ गते जन्मिनु भएका बीपी लामो समयसम्म जेल र निर्वासनमा बस्नु भयो। भारतमा निर्वासन, प्रजातान्त्रिक आन्दोलनको सफलता तथा वि.सं. २०१५ सालको आमनिर्वाचनमा दुईतिहाइ मतको सरकारको प्रधानमन्त्री कोइरालाको जीवनका विविध आयामहरु शोधकै विषय हुन्। साहित्यकार तथा महान् राजनीतिज्ञ कोइरालाको क्यान्सर रोगका कारण वि.सं. २०३९ साउन ६ गते निधन भयो। तर, बीपी कोइरालाको निधनपछि पछि उनको भिजन र मिसन अनुरुप देशअघि बढ्यो। यही सन्दर्भमा सन् १९८२ मा भारतको कलकत्ताबाट प्रकाशित हुने अमृतबजार दैनिकको अंग्रेजी संस्करणमा नेपाली कांग्रेसका संस्थापक बीपी कोइरालाको अन्तरवार्ता प्रकाशित भयो। वरिष्ठ पत्रकार तीर्थशंकरले बीपीसँग गरेको अन्तरवार्ता अहिले पनि उत्तिकै पठनीय छ। वि.सं. २०४० सालमा पाक्षिक पत्रिका सम्बत्सरको वर्ष १, अंक ३, मा जयराज आचार्यको अनुवादमा उक्त अन्तरवार्ता पुनः प्रकाशन भयो। र, नेपाली राजनीतिका सदावहार नेता बीपी कोइरालाको सम्मान स्वरुप सोमबार राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाइँदै छ। सोही सन्दर्भमा यो अन्तरवार्ता सोही पत्रिकाबाट साभार गरेर प्रकाशित गरिएको हो।
तीर्थशंकरः जीवनमा तपाईले कहिले निश्चय गर्नुभयो कि, तपाई एउटा डाक्टर वा यस्तै केही हुनुहुने छैन, बरू आफूलाई राजनीतिमा समर्पित…?
बीपी कोइरालाः हेर्नुस् त्यो कुनै सचेत निर्णय थिएन। राजनीतिमा हाम्रो रगतमा थियो। म तीन वर्षको हुँदा मेरा पिताजीले नेपाल छोड्नु परेके थियो। उहाँको विरोधमा परिवारका प्रत्येक सदस्यलाई पक्रिने वारेण्ट (पुर्जी) थियो। हाम्रो सर्वस्व हरण भएको थियो। हामीहरू देशनिकाला भई भारतमा १२ वर्ष बस्यौं। त्यसरी मेरो प्राथमिक शिक्षा भारतमै भयो। र त्यही नै कलेजमा भर्ना भएँ। स्कूलमा छँदा म आतंककारी आन्दोलनमा संलग्न भएँ। त्यतिबेला आतंककारी आन्दोलन केन्द्रीय रूपमा संगठित थिएन। कलकत्तामा दुई तीन समूह थिए। विहारमा एक, हाजिपुर समूह थियो।
पञ्जावमा दुई तीन समूह थिए। म बिहार समूहसँग संलग्न थिएँ। र, बनारसमा स्कूलमै हुँदा सर्वप्रथम पक्राउ परेँ। पछि म छोडिएँ किनभने म ज्यादै सानो उमेरको थिएँ। र मजिस्ट्रेटले विश्वासै गरेनन् कि यति सानो लडाकाले त्यत्रो ठूलो लुट र डकैती गरेको होस्। त्यसपछि म कम्युनिष्ट आन्दोलनमा लागेँ र बनारसमा त्यसको विद्यार्थी संगठनको सानो केन्द्र खाले, जसमा देवकान्त बरुवा र राजेश्वर राव पनि थिए। म त्यो संगठनको सचिव थिएँ। र हामीहरू कम्युनिष्ट पार्टी बन्ने परीक्षणकालमा जस्तै थियौँ। जब ट्रोस्टस्कीको पक्षमा म थिएँ –मलाई विरक्त लाग्न थाल्यो र स्वराज आन्दोलनकाताका म गान्धीजी तर्फ विस्तारै खिचिँदै गएँ।
तीर्थशंकरः तपाईका त्यतिखेरका भावनाहरू सम्झिदा तपाई भारतलाई आफ्नो घर जस्तै ठान्नुहुन्थ्यो?
बीपी कोइरालाः करिब। हामी घरमा नेपाली राजनीतिका कुरा गर्थ्यौं। किनभने देशनिकाला भएका मानिसहरू त्यहीँ आएर भेटघाट गर्थे। हामीलाई थाहा थियो, अन्त्यमा हामीले नेपाल फर्कनु पर्नेछ, त्यो त सदैव पृष्ठभूमिमा विद्यमान हुन्थ्यो। तर, हामीले भारतीय स्वराज आन्दोलनमा पनि भाग लियौँ। मेरो पिताजी जिल्ला काँग्रेस कमिटीका सदस्य हुनुहुन्थ्यो। उहाँ भन्नुहुन्थ्यो –भारत स्वतन्त्र नभइञ्जेल नेपालमा कुनै प्रजातान्त्रिक आन्दोलन सफल हुन सक्दैन। ती त एक सिक्काका दुई पाटा जस्ता थिए। त्यस कारण भारतको स्वतन्त्रताका लागि लड्ने नेपालका प्रजातन्त्रवादीहरूको पनि काम थियो। त्यसरी म राजनीतिमा चाख राख्ने भएँ। अनि म सन् १९३५ मा समाजवादीहरूका सम्पर्कमा आएँ र म काँग्रेस सोसलिष्ट पार्टीको अत्यन्त सक्रिय सदस्य भएँ।
तीर्थशंकरः त्यो त १९३५ को कुरा भयो, राजनीतिमा लागेको ४६ वर्षपछि आएर आज कुनै पश्चाताप गर्नुहुन्छ कि? मैले के सोधेको भने आज राजनीतिक आन्दोलनहरूले जनतालाई केही दिन सक्छन् भन्ने तपाई ठान्नुहुन्छ कि हुन्न?
बीपी कोइरालाः सन्तोष?
तीर्थशंकरः होइन, मेरो आशय, यी सारा प्रक्रियाबाट केही गर्न सकिन्छ र?
बीपी कोइरालाः हेर्नोस्, मैले त्यो समस्यालाई अझसम्म समाधान गरेको छैन। किनभने राजनीतिमा सक्रिय हुँदा–नहुँदा मैले अलिकति साहित्यमा पनि हात चलाउन थालेको थिएँ। म हिन्दीमा लेख्थेँ। म स्कूले विद्यार्थी छँदा नै धेरै महत्वपूर्ण हिन्दी पत्रिकाहरुमा मेरा कथाहरू छापिन्थे। त्यस कारण म राजनीतिमा नलागेको भए मैले केही सिर्जनात्मक साहित्यिक कृतिहरू लेख्ने सक्थेँ होला। तर, अन्तत्वगत्वा मेरो के सोचाई छ भने राजनीतिबाट उम्किन खोजेपनि त्यसले हामीलाई पक्डिन्छ, जस्तो कि हामीले ट्याक्स तिर्नुपर्छ, जुन किसिमको समाजमा हामी बस्छौँ, त्यसमा राज्यले व्यक्तिगत जीवनका क्षेत्रलाई पनि आक्रान्त पारेको छ।
तीर्थशंकरः कुरो ठीक हो, राज्यले आक्रान्त पारेको छ। त्यसकारण तपाईले जुन प्रजातान्त्रिक प्रक्रियाका लागि जीवनमा संघर्ष गर्नुभयो, त्यसको के फल हुन्छ? विकसित मुलुकहरूमा होइन, हाम्रा मुलुकहरूमा प्रजातन्त्र जुन किसिमले सञ्चालित छ, त्यसले खाली यो देशमा प्रजातन्त्र चल्न सक्दैन भन्ने मात्र देखाउँछ होइन?
बीपी कोइरालाः तैपनि… भारतमा भएका गत दुई वटा संसदीय चुनावहरूको उदाहरण लिनुहोस्, जो पनि चुनावलाई एउटा स्वाँग धोका मात्र भन्थे, मतदान केन्द्रहरू हडपिएका हुन्थे, तैपनि करोडौं रुपैयाँ खर्च भएका थिए। हामीले सामना गरिरहेको एउटा समस्या त्यही हो र हाम्रो एउटा काम आफ्नो देशमा वास्तवमै प्रजातन्त्र सफल रूपमा सञ्चालित गर्नु नै हो। जुन किसिमका हाम्रा कार्यकर्ताहरू छन्, र जुन किसिमको शुद्ध माटो यहाँ छ, भारतमा जस्तो गहिरो जडा गाडेको परम्परागत कट्टरता यहाँ छन् र मलाई यो काम सम्भव छ जस्तो लाग्दछ। हामीहरू भारतीय जस्ता कट्टरपन्थी छैनौं। भारतमै पनि जनता असफल भएका छैनन्, नेताहरू असफल भएका छन्।
पाकिस्तान, बंगलादेश र दक्षिणपूर्वी एशियाका अधिनायकवादी देशहरूले जस्तै समान पूर्वाधार खडा गरेर पनि तिनीहरूले भारतमा केही पनि गर्न सकेका छैनन् भन्ने होइन। अरूले भन्दा भारतले राम्रो गरेको छ। तैपनि मलाई के लागेको छ भने नेताहरूले विकासको लागि जुन प्राथमिकता निर्धारण गरेका छन् त्यो गलत छ। तिनीहरूले विकासका लागि अमेरिका वा युरोपको नमूना अपनाएका छन्। तिनीहरूले जाने बुझेको नमूना पनि त्यही हो। मैले यहाँका मानिसहरूलाई भनिरहेको छु, भारतले अपनाएको नमूना अमेरिकाबाट आएको हो र त्यो नमूना अन्तर्गत भारतले ठूलो विकास गर्न सक्छ। तर त्यसको परिणाम ४०–४५ प्रतशित जनतालाई सदासर्वदा गरिबीको रेखामुनि नै राख्नु हुनेछ।
तीर्थशंकरः यहाँ मसँग तपाईंले भनेका एक वाक्य छ – ‘समाजवादी विकासका लागि हामी कहाँ आर्थिक आधार भएन’ तपाई अझै यस्तै सोच्नुहुन्छ?
बीपी कोइरालाः हो। (म यस्तै सोच्छु।)
तीर्थशंकरः उसो भए तपाई प्रधानमन्त्री नै भएर प्रजातान्त्रिक एवम् स्वतन्त्र हातले काम गर्न पाएपनि नेपाललाई अर्को हङकङ या सिंगापुर बनाउने के लोभ नहोला?
बीपी कोइरालाः अहँ, छैन। म त त्यस्ता बृहत् परिणामका नमूनाको विरुद्धमा छु।
तीर्थशंकरः त्यसो भए यी कुरामा के महात्मा गान्धी नै अझै पनि तपाईका आदर्श हुन्?
बीपी कोइरालाः तपाईले गान्धीको कुन पक्ष भन्नुभएको मलाई थाहा भएन।
तीर्थशंकरः गान्धीको धारणा थियो कि, विदेशी सहायताद्वारा कसैले पनि आफ्नो देशलाई समृद्ध बनाउन सक्दैन। तपाईको पनि त्यही हो?
बीपी कोइरालाः हो, त्यसमा म पनि सहमत छु।
तीर्थशंकरः साम्राज्यवाद या उपनिवेशवादले मानिसका मनमा पार्ने प्रभावबारे तपाईको के विचार छ? तपाईले भारतीय युवावर्गको परिवर्तनलाई नियालेर हेर्नुभएको होला नि?
बीपी कोइरालाः विकासका लागि अमेरिका या युरोपेली नमूना ग्रहण गर्नुभएको छ। फलस्वरूप जब एउटा सम्पन्न वर्गको जन्म हुन्छ, त्यसले उस्तै भोगवादी प्रवृत्ति बढाउँछ। त्यही नै बाँकी जनताका लागि पनि अनुकरणको वस्तु बन्न जान्छ।
तीर्थशंकरः हो। तर, नेपालीलाई यस्ता नमूना अघि सारेर विकास गर्नबाट तपाई कसरी रोक्नुहुन्छ?
बीपी कोइरालाः म त्यस प्रकारको सम्पन्नताको प्रवेश हुन दिन्न। म ठूलाठूला होटलहरू बनाउन्न, म तिनका विरुद्ध छु। किनभने तिनले युवकहरूको मनलाई भ्रष्ट पार्दछन्। त्यसबाट हुन जाने राष्ट्रिय क्षतिको जुनमूल्य छ त्यसको विचार गर्नुपरेको छ।
तीर्थशंकरः गान्धीजीले भारतीय नेतृत्व वर्गमा कुनै त्यस्तो प्रभाव छोडेर जानुभएन्। तपाई यहाँ नेपालमा त्यस्तो प्रभाव पार्न सकौँला भन्ने कसरी ठान्नुभइरहेछ?
बीपी कोइरालाः भारतीय नेतृत्व वर्गले गान्धीजीलाई प्रयोग गर्यो। जब भारत स्वतन्त्र भयो, नेताहरूले गान्धीको साथ छोडिदिए। गान्धीजी माथि तैपनि कामको भार थियो। उनको यति धेरै काम थियो कि तपाई विश्वासै गर्न सक्नुहुन्नथ्यो। तर, त्यो सब काम उनी एउटा सानो व्यवस्थाद्वारा गर्दथे। उनलाई दरबारको आवश्यकता परेन। तर हामीले दरबार बनाउन थाल्ने हो र हाम्रा कर्मचारीहरूलाई दरबारमा बसेर काम गर्न लगाउने हो भने त्यसले एउटा नमूना प्रस्तुत गर्दछ र भोलि गएर कुनै विद्यार्थी पहिला भयो या जाँचमा राम्रो गर्यो भने मैले त्यही दरबारमा काम पाउनुपर्ने हो भन्न थाल्छ। जब नेतृत्व नै… भने त्यसले अरूलाई कसरी चरित्र प्रदान गर्न सक्छ? जवाहरलाल नेहरुले समेत कमाण्डर इन चिफका घरमा बस्न चाहनुभयो। तर, मलाई नेपाली मानिसमाथि विश्वास छ नभए म राजनीतिमा लाग्ने थिइन।
यो देशको नियतिमाथि विश्वास नभएको भए म बाँचिरहने थिइन। यो देशको नियतिमाथि विश्वास नभएको भए म दश वर्ष जेलमा बस्दा र फाँसीको फन्दाको नजिक पुग्दासम्म म बाँचिरहने थिइन। निश्चय पनि कहिलेकाही निराशाका क्षणहरू आउँछन्। तैपनि म के भनेर आफूलाई सान्त्वना दिन्छु भने मैले मेरी माता (मातृभूमि) क्यान्सर रोगबाट मुक्त पार्न सकिन भने पनि हरेश खाएर पनि छोडिदिने त छैन, बरू आफूले सक्दो भरमग्दुर गर्नेछु।
तीर्थशंकरः तपाईको जीवन भन्नु निराशाको चक्र होइन? भनौँ न समाजवादी आन्दोलनको सफलता या तपाई नै यहाँको सत्ताबाट यति लामो अवधिसम्म बाहिर रहिरहनु इत्यादि…?
बीपी कोइरालाः जब लेनिनले ठूलो परिणाममा माक्स वादको कार्यान्वयन गर्ने मौका पाए, उनको अगाडि विकासको नमूना थियो अमेरिका। मलाई यो अमेरिकाप्रतिको मोह देख्दा अचम्म लाग्छ। लेनिन सधैं भन्थे – ‘हामी २५ वर्षमा अमेरिकालाई भेट्टाउँछौं। त्यो अमेरिकी नमूना थियो। अमेरिकाको नमूना कस्तो थियो? हेनरी फोर्ड प्रथमले अमेरिकामा एउटा बृहत् उत्पादन प्रणालीद्वारा उत्पादन गर्ने कारखाना चलाए। रुसले पनि त्यही अनुकरण गर्यो र माक्र्सवादको असफलताको जरो पनि त्यहीनिरै थियो। तपाई कुनै रुसी कारखानाको राम्रो प्रबन्धक हुनुहुन्छ भनेर अमेरिकी कारखानामा पनि राम्रो हुन सक्नुहुन्छ। किनभने शोषणको माध्यम फरक हुनसक्छ तर उत्पादन प्रणाली उही नै हो। तपाईको राजनीतिक व्यवस्था या सिद्धान्त जेसुकै होस् जनताका आधारभूत भौतिक आवश्यकताहरू पूर्ति गर्नका लागि यदि तपाईं कुनै नमूना ग्रहण गर्नुहुन्छ भने त्यसले उनै दोषीहरूलाई जन्म दिन्छ।
तीर्थशंकरः तर, माओले चीनमा आफ्नो ३० वर्षको शासनकालमा अमेरिकी नमूनाको कहिल्यै अनुकरण गरेनन्?
बीपी कोइरालाः माओले पनि फेरि त्यही नमूना ग्रहण गरे। तर, उनीसँग त्यो प्रविधि नभएको हुनाले त्यसको अभावमा नै उनले सो काम गर्न चाहे – ‘हाम्रा रित्ता हातले हामी…’
तीर्थशंकरः …पहाड हल्लाउने छौं?
बीपी कोइरालाः हो, तर त्यो सम्भव थिएन। माओको त्रुटी त्यहीनिर थियो। चीनले पनि उत्पादित भौतिक लाभको परिणामका आधारमा नै विकासको हिसाबकिताब गर्यो। यदि अमेरिकी नमूना नै गर्ने हो भने त्यही प्रविधि पनि स्वीकार गर्नैपर्छ। बृहत् उत्पादन गर्ने हो भने त्यही बमोजिमको उचित प्रविधि पनि ग्रहण गर्नुपर्छ। जब म चीन गएको थिएँ, र बिजुली उत्पादन गर्न भनि लाखौं श्रमिकहरू ठूलो बाँध निर्माण गर्ने काममा लागेको देखेँ। यी सब ठूला कुरा किन? किनभने उनीहरूले अमेरिकासँग प्रतिस्पर्धा गर्न चाहे, यद्यपि, उनीहरूसँग सामान्य बुल्डोजर जस्ता आधारभूत कुराहरू पनि थिएनन्।
तीर्थशंकरः चीन जस्तो ठूलो मुलुकले त्यस्तो बृहत् औद्योगिकीकरण नगरी पनि काम चलाउन सक्छ भन्ने तपाई ठान्नुहुन्छ?
बीपी कोइरालाः मैले आफ्नो दिमाग चीनका समस्यामा लगाएको छैन। तर, नेपालमा हामीलाई त्यति ठूला कुरा चाहिँदा पनि चाहिन्न र हाम्रो औकातले पनि भ्याउँदैन।
तीर्थशंकरः तर, त्यसका लागि फेरि नयाँ मानिस चाहिन्छ। यस्तो प्रलोभनमा फस्नबाट तिनीहरूलाई जोगाएर राख्न सक्नुहुन्छ?
बीपी कोइरालाः यो एउटा गाह्रो काम हो र मेरो विचारमा एकदम महत्वपूर्ण पनि छ। म त ठूलाठूला सडकहरूको निर्माणको समेत विरुद्धमा छु। र त्यसले गर्दा मेरो निकै आलोचना भएको छ। किनभने म जहाँसुकै पनि भनिदिन्छु – ‘हामीहरूलाई ठूला सडक चाहिँदैन। सडक भनेको के हो? सञ्चारको माध्यम। हेर्नुहोस् अमेरिका एउटा ठूलो देश हो र त्यहाँ बृहत् परिणामका प्राकृतिक श्रोतहरू लडिरहेका छन् मानिसहरूलाई पर्खेर। त्यहाँको जनसंख्या थोरै छ, त्यसकारण अनिवार्य श्रमदान गर्नुपर्ने भयो।
फलतः तिनीहरूले श्रम बचाउन प्रविधिको विकास गर्नै पर्यो। हाम्रो त्यो अवस्था छैन। अमेरिकामा विभिन्न उपनिवेशहरू थिए, जो विभिन्न उत्पादन केन्द्रका रूपमा थिए। र, सामानहरूको ओसारपसारका लागि सडकहरू बनाउन पर्यो। त्यो अवस्था यहाँ छैन। करोडौं रुपैयाँ खर्च गरेर सडक निर्माण गरी शहरहरूलाई जोडिएको छ। तर, ओसारपसार गर्ने कुरा केही छैन। एक–दुई वटा बस चल्छन्। हामीसँग सडकको सम्भार गर्ने पैसा पनि छैन। त्यस कारण हाम्रो काम गाउँको निर्माण गर्नु हो, गाउँको गरिबी उन्मूलन गर्नु, अशिक्षा उन्मूलन गर्नु, ओखतीमुलो र शिक्षाको व्यवस्था गर्नु हो। यदि हामी यही गर्न सक्दैनौँ भने राजनीतिमा लाग्नुको कुनै अर्थ छैन।
तीर्थशंकरः तपाईले भेटेका विभिन्न विचार र प्रवृत्तिका मानिसहरूमध्ये सबैभन्दा सहृदयी र इमान्दार व्यक्ति को लाग्यो?
बीपी कोइरालाः महात्मा गान्धी।
तीर्थशंकरः गान्धीको त कुरै छोडिदिनुहोस्। जो सत्तामा बसे तिनका बारेमा मैले सोधेको।
बीपी कोइरालाः सत्तामा? मलाई लाग्छ, जवाहर नेहरु बडो संवेदनशील मानिस थिए। मैले सुभाष बाबु (सुभाषचन्द्र बोश) लाई पनि एकैपटक भेटेथेँ। र उनले मलाई निकै प्रभावित पारेका थिए। तर, मैले उनलाई राम्रोसँग चिनिन।
तीर्थशंकरः यो उपमहाद्विपभन्दा बाहिरका मानिसहरूमध्ये सबैभन्दा बढी कसबाट प्रभावित हुनुभयो?
बीपी कोइरालाः चाउ एनलाई। म उनलाई ठूलो आदरका दृष्टिले हेर्छु। माओसँग मेरो एक्कै पटक मात्र आधारात २ घण्टा जति भेट भएको थियो। उनी बुढा भइसकेका थिए र एक किसिमले पिता जस्तो व्यक्ति। मलाई लाग्छ –नेहरुजीले आफूले धेरै मिहेनत नगरी नै सफलता हासिल गर्दा एक प्रकारले पुल्पुल्लिएर हुर्केका मानिस जस्ता लाग्थे। गान्धीजीले उनलाई कसरी भारतको उत्तराधिकारी छाने म बुझ्न सक्दिन। उनी त गान्धीवादका विपरीतवादी थिए। अन्तर्राष्ट्रिय मामिलाको ज्ञान चाउ एनलाईलाई बढी थियो। उनी बडो सुसंस्कृत र परिष्कृत व्यक्ति थिए। आफ्नो व्यवहारबाट म र मेरी श्रीमती दुवैलाई अत्यन्त प्रभावित पारेका थिए।
तीर्थशंकरः दशकौंसम्म जुन आधारभूत कुराहरूका लागि तपाई लडिरहनु भएको छ, सबैलाई संसदीय अधिकारहरू, आधारभूत मानवअधिकार या नागरिक स्वतन्त्रता…
बीपी कोइरालाः जनसाधारणको आर्थिक सुधार। एउटा चाखलाग्दो कथा छ। म प्रधानमन्त्री भएपछि मोहनशमशेर राणासँग कहिलेकाही बातचित हुन्थ्यो। एक पटक उनले मलाई सोधे – ‘अब त तपाई प्रधानमन्त्री पनि हुनुभयो, यसपछि तपाईको के आकांक्षा छ? तपाई के गर्न चाहनुहुन्छ?’ मैले भनेँ – ‘मेरो एउटै आकांक्षा छ, म एउटा निम्नमध्यम् परिवारको मानिस हुँ। मेरो सानो खेतिपाती छ, जसबाट मेरा आधारभूत आवश्यकता पूरा हुन्छन्, मेरा दुई वटा गाई छन्, र मेरा केटाकेटी यहाँ स्कूलमा पढ्छन्। त्यस कारण म नेपालको सबैभन्दा गरीब परिवारलाई मेरो परिवारको बराबरीमा ल्याउन चाहन्छु, ठूलाठूला सडक र भव्य भवनहरू हैन, नेपालको सबैभन्दा गरीब परिवारले मेरो जत्तिकै आर्थिक आस्था प्राप्त गर्नुपर्छ।
तीर्थशंकरः यस्तो केही पनि हासिल नभएको देख्दा तपाईलाई निराशा हुँदैन?
बीपी कोइरालाः हैन, हामीले प्रयास गरिरहनुपर्छ। स्वभावतः कहिलेकाही निराशाका क्षणहरू पनि आउँछन्। र मलाई लाग्छ म एउटा ढुङ्गाको पर्खालमा टाउको ठोकी रहेछु। तर त्यो निराशा धेरैबेर रहँदैन। हामीले प्रयास जारी राख्नुपर्छ।
तीर्थशंकरः नेपालमा प्रजातन्त्र आउन कति वर्ष लाग्ला – २ वर्ष, ३ वर्ष…?
बीपी कोइरालाः हैन, प्रजातन्त्र त एउटा प्रक्रिया हो, क्रमशः विकसित हुन्छ। यदि त्यो प्रक्रिया शुरु भैदिए, आर्थिक विकासका नीतिहरू उचित किसिमले बनाइदिए, र ती नीतिहरूको कार्यान्वयन शुरु भैदिए म खुशी हुने थिएँ। प्रजातन्त्र स्थापना हुना साथ इतिहासको अन्त्य हुने होइन। मानव जातिको समस्यालाई निरन्तर लखेटिरहनेछ । मैले देख्न खोजेको के हो भने हामीहरूले ती समस्याहरूलाई स्वतन्त्रताका साथ समाधान गर्ने प्रयास गर्न थाल्यौं, जसमा हाम्रो भावना, या निर्णयको छनोटमा कुनै बन्देज नहोस्। सायद म अलि दार्शनिक हुँला।
हेर्नुहोस्, मानिसको दुर्भाग्य के छ भने ऊ कहिल्यै पूर्ण हुन सक्दैन। एउटा किसानको उदाहरण लिनुहोस्। ऊ विचरा हरसम्भव प्रयास गर्छ, जमीन जोत्छ, मल हाल्छ, सिँचाई गर्छ। तर, अकस्मात् उसको नियन्त्रण बाहिरको कुनै घटना भइदिन्छ र उसको सारा प्रयास खेर जान्छ। मानिसको दुर्भाग्य त्यही हो। भविष्यमा के हुन्छ कसैले जान्न सक्दैन। तैपनि हामीले आफ्नो देश र समाजका सम्बन्धमा निर्णय लिने अधिकार हामी कुनै एक व्यक्तिलाई दिने कि सबै जनता मिलेर सामूहिक रूपमा यो निर्णय लिने?
तीर्थशंकरः तपाई प्रायः जेलमै हुनुहुन्छ, या निर्बासनमा हुनुहुन्छ। त्यसकारण तपाईको पार्टीले दोश्रो तहका नेताहरूको पनि विकास गरेको छ। त्यो दोश्रो तह कत्तिको राम्रो छ? राजनीतिबाट तपाई लोप हुनुभयो भने तिनले आन्दोलन चलाउन र अझ महत्वपूर्ण कुरो त देशको प्रशासन चलाउन सक्छन्? दोश्रो तहको नेतृत्व वर्गलाई तपाईको सन्तुष्टि बमोजिम विकास गर्न सक्नुभएको छ?
बीपी कोइरालाः देशलाई सञ्चालन गर्न दोस्रो तहको नेतृत्व मैले विकास गर्न सकेको छु भनेर मैले तपाईलाई भनेँ भने त्यो तपाईंप्रतिको न्याय र स्वयंप्रति इमान्दार नभएको ठहरिन्छ। हाम्रा मानिसहरू एकदमै इमान्दार छन् र तिनीहरूले बडो दुःख पाएका छन्। तर उनीहरूले सबै कुरा आफैँ सञ्चालन गर्न सक्छन् भनेर म भन्दिन। अन्तर्राष्ट्रिय मामिलामा, वित्तीय मामिलामा, योजनामा हाम्रा कार्यकर्ताहरूमध्ये हामीसँग अत्यन्त सक्षम मानिस होइन। त्यसका लागि हामीले बाहिरबाट मानिस झिकाउनुपर्ला। तर, हामी त्यसो गर्न पनि चाहदैनौँ…। भारत स्वतन्त्र हुँदा भारतको त्यो अवस्था थिएन। तपाईहरू कहाँ प्रशस्त सक्षम मानिसहरू थिए र आज देशले दुःख पाएको उनीहरूको अक्षमताले होइन, बरु साम्राज्यवादी प्रयोजनका लागि ब्रिटिशहरूले स्थापना गरेका एउटा संस्था पनि खारेज नर्गनाले हो। पुलिसको नियमावली, सेनामा भर्ना र प्रमोशनको नियम –यी पनि आजसम्म उही नै छ।
तीर्थशंकरः तपाई यो व्यवस्था परिवर्तन गर्न सक्नुहोला? घुसखोरी, भ्रष्टाचार…?
बीपी कोइरालाः त्यसलाई परिवर्तन गर्न सकिन्छ। हाम्रा मानिसहरूले भारतीयहरूले भन्दा गुणात्मक रूपमा बढी दुःख सहेका छन्। र, संख्यात्मक रूपमा पनि तुलनात्मक आधारमा हेर्दा तिनको संख्या बढी नै छ। उनीहरू देशभक्त र अनुशासित छन्। तिनीहरू त्यस्तो सामन्ती व्यवस्थाका पासोबाट मुक्त हुनसक्छन् भन्ने आशा गर्न सकिन्छ। तर जब तिनीहरूले नयाँ समाजको निर्माण गर्ने कोसिस गर्नेछन्, तिनीहरूमा त्यो क्षमताको अभाव हुनसक्छ।
हेर्नुहोस्, लेनिनले जब शक्ति हत्याएका थिए, केही महिना त जे काम पनि छुनासाथ भैहाल्यो। तर, प्रश्न थियो सेनाको पुनर्गठन कसरी गर्ने? लालसेनाका जिम्मा लिएका व्यक्ति ट्रोटस्कीका अगाडि समस्या के थियो भने जंगीअड्डाहरू सञ्चालन गर्न सक्ने अफिसरहरू जति सारा सामन्ती वर्गबाट आएका व्यक्तिहरू थिए। उनी बडो अप्ठ्यारो दुविधामा परे। त्यसपछि उनले को–को बोल्शेभिक पक्षका समर्थक थिए र को–को थिएनन् भन्ने आधारमा छुट्याउन थाले।
तीर्थशंकरः तीन वर्षसम्म एक असाधारण आकर्षक भएका व्यक्तिका रूपमा चिनिँदा तपाईलाई कस्तो लाग्छ?
बीपी कोइरालाः हैन, मलाई लाग्छ –मैले एउटा नेताले पाउने आधारभन्दा बढी प्रेम र स्नेह प्राप्त गरेको छु। तपाईलाई थाहा छ, मानिसहरू मलाई सान्दाजु (दाजुहरू मध्येमा सानो चाहिँ) जसले माने हुन्छ, दाजु भन्नाले आफूभन्दा ठूलो र आदरणीय सानो भन्नाले आफ्नो नगिचैको उमेरको, अलिकति मात्र जेठो। त्यस कारण मैले एउटा परिवारको नेतृत्व गरेको छु, निःसन्देह मेरो यो परिवार एकदम ठूलो छ। पार्टीमा मेरो स्थानको कारणले गर्दा मैले इँटाको प्रहार पनि खाएको छु। यदि म पुल्लुलइएको भए मैले आफ्नो विवेक गुमाउँथे होला, मलाई थाहा छैन, जब मेरा साथीहरू के गर्ने भन्ने निर्णय लिने संकटमा पर्छन्, म एउटा समाधान भेट्छु –सायद उति उज्ज्वल समाधान नहोला। तर त्यो काम चलाउ समाधान अवश्य हुनसक्छ।
तीर्थशंकरः तपाईको निर्णय गर्ने प्रक्रियाको मूलस्रोत के हो? – बौद्धिकता… सहज ज्ञान…?
बीपी कोइरालाः मलाई थाहा छैन, म आफूलाई विश्लेषण गर्न सक्दिन।
तीर्थशंकरः तपाई आफूलाई कस्तो किसिमको मानिस भन्नुहुन्छ –यथार्थको मैदानमा दह्रो गरी खुट्टा टेकेको मानिस, अलि रोमाण्टिक या सम्भवतः अलि ज्यादा आदर्शवादीमा के?
बीपी कोइरालाः मैले आफ्नो जीवनको पहिलो प्रेस सम्मेलन गरेको कलकत्ता ग्य्राण्ड होटेलमा १९४७ मा हो। म त्यतिखेर खुब डराएको थिएँ। र कलकत्ताका पत्रकारहरू त्यति दयालु पो कहाँ हुन्छन् र? तैपनि तिनका प्रश्नहरूको सकेसम्म मैले राम्रो जवाफ दिएँ। जब सम्मेलन सकिएको थियो, एउटा पत्रकार मसँग आए, र मलाई त्यसले भने –कोइरालाजी, तपाई एउता यथार्थवादी राजनीतिज्ञ हुनुभन्दा एक रोमाण्टिक व्यक्ति जस्तो देखिनुहुन्छ। मलाई पनि त्यस्तै हो जस्तो लाग्छ। अलिकति रोमाण्टिक भावनाको मात्रा नभई जीवनको यति ठूलो पीडा सहन सकिन्न, यो मेरो सोचाइ छ।
म अलि स्वप्नदर्शी पनि छुकि जस्तो लाग्छ। एकपटक मलाई जेलमा ६ महिनासम्म पूर्ण एकान्तमा राखिएको थियो। मेरा हात गोडामा हत्कडी र नेल थिए। र कुनै मानिसलाई देख्न पाउँदैनथेँ। म खाली दूरबाट आएको आवाजमात्र सुन्थें। म त्यहाँबाट कसरी भाग्ने या त्यस्तै विषयमा सपना देखिरहन्थेँ। केही घण्टापछि म झल्याँस्स हुन्थे, कि मैले केवल सपना देखिरहेको थिएँ। आफ्नो व्यक्तिगत दुःख सहनका लागि पनि हामीहरूलाई केही रोमाण्टिक भावनाको आवश्यकता पर्छ जस्तो लाग्छ। दुःख पाएका आइमाइहरू, दुब्लाएका केटाकेटीहरू…
तीर्थशंकरः राष्ट्रहरूको नियतिलाई केले नियन्त्रण गर्छ–मार्क्सवादी द्वन्द्व, ईश्वर?
बीपी कोइरालाः म एक अर्थमा माक्सवादी हुँ। किनभने समाजको कसरी विकास हुन्छ भन्ने व्याख्यामा मैले मार्क्सवादी पद्धति स्वीकार गरेको छु। तर त्यो मात्र सम्पूर्ण होइन। मेरो विचारमा मानवका अनन्त पक्ष छन्। आर्थिक पक्षले मात्र उसको व्याख्या गर्न सकिँदैन। वास्तवमा इतिहासका क्रान्तिकारीहरू मानिसमा पेटको समस्याले भएका होइनन् भन्ने मेरो धारणा छ। पेटको समस्याभन्दा उच्चतर कुनै उद्देश्यले प्रेरित नभई मानिस मानिस बलिदान हुन्छन् भन्ने म ठान्दिन। दोश्रो विश्वयुद्धका बेला बंगालको महाअनिकालबारे सोच्नुहोस्। कलकत्तामा सडकमा लाखौं मानिस मरे। तर, त्यहाँ कुनै क्रान्ति भएन किनभने तिनको त्यो भोकको समस्याभन्दा उच्चतर कुनै वस्तुसँग गाँसिएको थिएन। अर्को कुरा, मलाई के लाग्छ भने मानिसका दुईवटा आधारभूत विरोधाभास छन् –उसका निहीत अराजकतावादी तत्व र सामाजिक तप्का बीचमा। नेतृत्व सधैँ अराजकतावादी हुन्छ, र त्यसले आफ्नो स्वतन्त्रतामा कहिल्यै कुनै बन्देज स्वीकार गर्दैन।
सबैभन्दा राम्रो साम्यवादी वा समाजवादी समाज मौरी या कमिलाहरूको हुनसक्छ। तर, तिनीहरू विकासवादी सिद्धान्त बमोजिम विकसित हुँदैनन्। किनभने तिनीहरूमा कुनै विद्रोह जन्मिदैन। मानव समाजको त्यो नयाँ जरा हाल्ने प्रयास गर्छ, त्यसको भयंकर विरोध हुन्छ। क्राइष्ट, सोक्रेटिस, गान्धी, त्यस्तै अर्का मान्छे जो चैनसँग मर्न पाए ती बुद्ध थिए, तर कसरी पाए म व्याख्या गर्न सक्दिन। तर, आज कुरा अस्वीकृत हुन्छ, त्यही नै भोलि गएर संविधान बन्छ। मैले अराजकतावादी या विद्रोही भावनाहरूलाई उपन्यास आदि लेखेर तृप्ति दिन्छु, र मेरा समाजवादी भावनालाई राजनीतिमा काम गरेर आफ्नो समाजका मानिसहरूको भाग्यमा सुधार ल्याउने कोसिस गरेर तृप्ति दिन्छु। एक समाजवादीका हैसियतले म मानिसलाई नियमित गर्ने असलभन्दा असल कानूनको खोजीमा हुन्छु। यी भावनाको बीचमा सन्धि गराउन मानिसहरूलाई गाह्रो लाग्छ, र कति त मसँग भन्छन् –मेरा साहित्यिक कृतिहरूले मेरा राजनीतिक संघर्षलाई प्रतिबिम्बित गर्दैनन्। त्यो किन हुन्छ भने जब म लेख्छु, त्यतिखेर म राजनीतिज्ञ हुन्न।
तीर्थशंकरः तपाईं समग्र चिन्तन प्रणालीमा कहीँनेर ईश्वरको पनि स्थान छ?
बीपी कोइरालाः अहँ! ईश्वर छ, तर प्रचलित अर्थमा होइन, जस्तो कि, हाम्रो नियतिको निर्माताका रूपमा होइन। म यसपाली जयप्रकाश नारायणजीसँग गफ गर्दै थिएँ। उहाँ पनि कहिलेकाही यस्ता कुरा उठाउनुहुन्थ्यो र मैले भनेँ –एकछिन अघि मैले तपाईलाई पनि भनेँ नि, मानिस एक स्वप्नदर्शी पनि हुनुपर्छ। यदि तपाईं एउटी केटीलाई प्रेम गर्नुहुन्छ, र त्यो केटी गुलाफको फूल हो या त्यसको अनुहार नै चन्द्रमा नै हो, भन्न सक्नुहन्छ भने तपाईले उसलाई पर्याप्त प्रेम गर्नुभएन। प्रेमको अवस्था एउटा भ्रम हो, तर साथसाथै एउटा वास्तविकता पनि हो। कविता पनि वास्तविक हो।
बिहान बाघ भञ्ज्याङ(दार्जीलिङ) माथिबाट सूर्योेदय भएको दृश्य देखेर यदि तपाई उद्धेलित हुनुभएन अथवा त्यसबाट उद्धेलित भएर दिनभरिका लागि आनन्दित भइरहन सक्नुभएन, यदि चौपाटी (बम्बईको समुद्र किनारस्थित मैदान) बाट सूर्यास्त भएको हेरेर पनि रातभर आनन्दित निदाउन भएन भने तपाईले कुनै आधारभूत कुरा गुमाउनु भयो। पुरी (जगन्नाथ पुरीबाट) देखिने समुद्रको शान्त छटालाई देखेर पनि तपाई आन्दोलित हुनुभएन भने तपाईले जीवनको केही कुरा गुमाउनु भएको छ। यिनै अनुभूतिमा ईश्वर विराजमान छन्, ईश्वर कवितामा हुन्छन्, ईश्वर सपनामा हुन्छन्। ईश्वरलाई विज्ञानको माध्यमले तपाई व्याख्या गर्न सक्नुहुन्न। भौतिक आधारमा व्याख्या गर्न सक्नुहुन्न। ईश्वर भन्नु एक आध्यात्मिक अनुभव हो।
तीर्थशंकरः बितेका ३० वर्ष तपाई कुनै किसिमले बिताउन पाएको भए सायद कसरी बिताउनुहुन्थ्यो होला? तपाईलाई कुनै विषाद छ?
बीपी कोइरालाः अर्को कुनै किसिमले होइन। यदि मैले आफ्नो जीवन पुनः शुरु गरेर बाँच्न थाल्ने हो भने सायद एक दुई साधारण कुरामा म परिवर्तन रोज्थेँ हुँला, तर मूलतः म उनै कुरा गर्दथेँ। कुनै पनि हालतमा म कटु अनुभवग्रस्त व्यक्ति होइन, म निराशाले ग्रस्त व्यक्ति होइन। म आनन्दले परिपूर्ण व्यक्ति पनि होइन। म अझ बढी बोध, बढी बुद्धिमानीको चाहना गर्दथेँ हुँला। तर, आधारभूत परिवर्तन होइन। अहँ, म सन्तोषपूर्ण व्यक्ति होइन, तर मेरो कुनै सिकायत पनि छैनन्। मैले एउटा यस्तो परिवार पाएको छु जसलाई पाउन म योग्य छैन। मैले यस्ता साथीहरू पाएको छु, जो मलाई प्रेम गर्छन्। मेरा शत्रुले पनि मलाई ठूलो आदर गर्छन्।
तीर्थशंकरः तपाईको जीवनमा सबैभन्दा आनन्ददायी अनुभव या स्मृति कुन हो?
बीपी कोइरालाः मेरो जीवनको सबैभन्दा आनन्ददायी अनुभव म प्रधानमन्त्री हुँदाको अनुभव होइन, म प्रधानमन्त्री बन्ने कुराका मेरी दुलहीले घोर विराध गरेकी थिइन्। यति विरोध गरिन् की त्यसपछिको केही कार्यक्रम समारोहहरूमा मसँग नबोल्ने भइन्। साँच्चै भनुँ, मेरो जीवनको सबैभन्दा आनन्दायी अनुभव या स्मृति हालसालैको एउटा घटनाको छ –त्यसबारे म तपाईलाई भन्छु। म एउटा गाउँको भ्रमणमा थिएँ। एउटी १९–२० वर्षकी एकदम राम्री र स्वस्थ केटी म कहाँ आइन्। तिनी शिवजीको मन्दिरमा पूजा गरेर आएकी रहिछन्। र, निधारमा पूजाको टिका समेत लगाएकी थिइन्। म अति नै व्यस्त थिएँ। तैपनि तिनले एकपाली भेट गर्ने आग्रह गरिछन्। जब मेरा साथीहरूले तिनलाई मकहाँ ल्याए, उनले म एक्लै भेटेर कुरा गर्न चाहन्छु भनिन्, अनि हामी एक्लै कुरा गर्न थाल्यौं। उनले मलाई भनिन् कि, उनी आफ्नो जीवन मलाई अर्पण गर्न भनेर मन्दिर गएकी थिइन्। म बिरामी छु। र, चाँडै अप्रेशनका लागि दिल्ली जाँदैछु भन्ने उनलाई थाहा रहेछ।
ती अविवाहित षोडसीले जसले खाउँ–खाउँ र लाउँ–लाउँको वयमा उभिएर आफ्नो जीवन देवमन्दिरमा गएर मलाई अर्पण गरिछन्। मैले भने –यो त ज्यादै ठूलो उपहार भयो, त्यसको बदलामा म तिमीलाई के दिन सक्छु? उनले भनिन् –तर म तपाईले दिनुभएको उपहार लिन बाँचिरहेको छैन, म त मरिहाल्छु नि। म त्यो दिन प्रशन्नताका साथ रोएँ। मेरो जीवनको सबैभन्दा आनन्दको स्मृति हो। केहीदिन अघि केही बुढाबुढीहरूको हुल मेरो घरतिर आइरहेको मैले देखेँ। अनि ती मान्छेको हुन् भनेर मैले सोधेँ। उनीहरू शिवरात्रीको दिन पशुपतिनाथको दर्शन गर्न भनि तराईको कुनै गाउँबाट यहाँ आएका थिए, दर्शन गरेर घर फर्किंदै थिए। मैले उनीहरूलाई भनेँ –पूरा तीन दिन हिँड्न बाँकी नै छ। र मलाई भेट्न आएर आफ्नो समय मात्र किन खेर फाल्नुभो? तिनीहरूको अगुवाले भने –हैन, नभेटी जाने हो भने गाउँका मानिसहरूले यिनीहरूलाई गाली गर्छन्। काडमाण्डू त गयो। तर बीपी कोइरालालाई नभेटी आयौँ? अनि तिनीहरूले आफ्नो घर लाने भनेर मेरो तस्बीर मागे। त्यस्तो स्नेह गरेको देख्दा प्रशन्न नभई को रहन सक्ला र?
तीर्थशंकरः तपाई आफूलाई कुन रूपमा सम्झिन चाहनुहुन्छ?
बीपी कोइरालाः मलाई थाहा छैन… कुन रूपमा… मलाई थाहा छैन।
तीर्थशंकरः विशेषगरी तरुणहरूले कुन रूपमा सम्झना गरुन्?
बीपी कोइरालाः हेनोस्, अब मेरो धेरै बाँच्नुछैन। हद से हद धेरै बाँचे ३–४ वर्ष। यदि प्रजातन्त्रको स्थापना गर्नमा केही गर्न सकेँभने त्यही नै कामद्वारा मेरो सम्झना हुन्थ्योहोला। त्यस कारण जब जान्छु म जान्छु। हिन्दु चलनअनुसार शवदहनको खरानी नदीमा फालिन्छ, कुनै स्मारक या चिहान बनाइँदैन। मलाई त्यो विचार बडो राम्रो लाग्छ। सारा हिन्दु जातिको कला हेर्नुहोस् –ती विशाल मन्दिरहरू हेर्नुहोस्। कसले तिनको नक्सा बनायो, कसले निर्माण गर्यो, जनताका भित्ते चित्रहरू कसले लेख्यो? यो अज्ञात परम्परालाई मलाई अत्यन्तै मुग्ध पार्छ।
यतिका वर्ष राजनीतिमा रहेर पनि मलाई ठूलाठूला स्वागत समारोहहरूले अप्ठ्यारोमा पार्छन्।
मलाई ठूलाठूला समारोहहरू मन पर्दैनन् भनेर जब म भन्छु, मैले खाली बहाना पारेको मात्रै होइन, भन्ने कुरा सबैलाई थाहा छ। म कुन उडान नम्बरबाट आउँदैछु, भनेर कहिल्यै बताउन्न किनभने मलाई स्वागत गर्न एयरपोर्टमा मानिसहरू आए भने मलाई बडो अप्ठ्यारो लाग्छ। सार्वजनिक जीवनमा अज्ञात रहने अवस्था नै मलाई ठीक लाग्छ। भीड देखेर म लाज मान्छु। हेर्नोस्, कुनै मानिस वास्तवमा त्यति ठूलो हुँदैन, जति ठूलो ठानिएको हुन्छ, न त त्यति सानो नै हुन्छ जति उसलाई सानो बनाउन खोजिन्छ।
तीर्थशंकरः गान्धीजी नि?
बीपी कोइरालाः महात्मा गान्धी त मानिस नै भिन्दै थिए। आजसम्मका महानतम् मानिसहरूमध्ये एक। यसको मतलब गान्धीजीले भनेको सबै कुरामा म समर्थन गर्छु भनेको होइन। तर, उनी मेरो जीवनकालमा सर्वोत्तम् व्यक्ति थिए। गान्धीपछि म जयप्रकाश नारायणलाई अर्को आदरणीय व्यक्ति मान्छु। निश्चय नै गान्धी जति ठूला त होइनन्, गान्धीको जस्तो तीक्ष्ण बुद्धि उनमा थिएन। तर उनी साँच्चै नै असल व्यक्ति थिए। अरू सबै साधारण मानिस थिए, कुनै–कुनै अरूभन्दा अलि बेस। म तिनीहरूमध्ये एउटा हुन सकौँला। तर गान्धी हुन सक्दिन।
तीर्थशंकरः तपाई आफू कुन किसिमले सम्झिइनु चाहनुहुन्छ भनेर मैले सोद्धा मेरो के तात्पर्य थियो भने तपाई एक असल नेता, एक दयालु व्यक्ति वा यस्तै के रूपमा सम्झिनु चाहनुहुन्छ?
बीपी कोइरालाः एउटा असल मानिस। म एउटा असल मानिस भनी परिचित हुन चाहन्छु। मैले एउटा उपन्यास लेखेको छु –मोदिआइन (मोदीकी स्वास्नी)। कथा महाभारतबाट लिइएको हो। अझ गीतबाट भनौं। आठ वर्ष जेलमा रहँदा मैले गीता पढेको थिएँ। मैले धेरै टिकाहरू पनि हेरेँ, तर मलाई गीताले सन्तुष्टि दिन सकेन। त्यसपछि मैले त्यो उपन्यास लेखेँ। त्यो उपन्यासको नायक ९–१० वर्षको लड्का छ, त्यो केटाले भविष्यमा गर्न चाहेको सबै कुरा मोदीकी स्वास्नीलाई बताउँछ। मोदीकी स्वास्नीले त्यो लड्कालाई भन्छे उसको अन्तिम वाक्य पनि यही हो –नानी महाभारतका वीर जस्तै ठूलो नहुनु, वीर नहुनु। तिनीहरूको वीरताले विध्वंश निम्त्यायो। खाली असल हुनु। प्रधानमन्त्री हुनुभन्दा अघि मैले अर्कौ एउटा उपन्यास पनि लेखेको थिएँ –हिटलर र यहुदी। यसमा पनि मैले उही सिद्धान्त प्रतिपादन गरेँ –मानिसले यदि ठूलो हुने महत्वाकांक्षा राख्यो भने उसले केवल विध्वंश ल्याउनेछ।
प्रतिक्रिया