
काठमाडौँ – सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बास्कोटाले प्रधानमन्त्री केपी शर्मा ओली निवासबाटै ज्यान मार्ने धम्की आएको भन्ने नेकपा नेता, सांसद तथा पूर्वगृहमन्त्री भीम रावलको आरोप निराधार रहेको बताएका छन्।
सरकारका प्रवक्ता बास्कोटाले बिहीबार मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री निवासबाट यस्तो धम्की आउनै नसक्ने प्रष्ट पारेका हुन्।
‘प्रधानमन्त्रीले आफ्नै कार्यकयर्ताका लागि तरवार र खल्तीमा गोलीको माला बोकेर हिँड्नुहुन्न, तपाई पत्याउनुहुन्छ यो कुरा?,’ प्रतिप्रश्न गर्दै बास्कोटाले भने, ‘सरकारले उहाँ (रावल)लाई पूर्ण सुरक्षा दिइरहेको छ, उहाँको सुरक्षामा पछुवा पनि पूर्वगृहमन्त्रीको हैसियतले प्राप्त सुरक्षाकर्मी छन् र उहाँको साथमा अन्य सुरक्षाकर्मी पनि छन्।’
रावलले केही दिन पहिले एमसीसीविरुद्ध बोल्दा बालुवाटारबाट ज्यान मार्ने धम्की आएको अभिव्यक्ति दिएका थिए। तर, बास्कोटाले रावलको अभिव्यक्ति निराधार रहेको बताउँदै भने, ‘प्रधानमन्त्री त्यस्तो खालको हुनुहन्छ? कसैको ज्यानै लिने हो?, पत्यार लाग्छ?’
प्रधानमन्त्रीले भाषण गर्ने, टिप्पणी गर्ने गरेको तर कसैलाई ज्यानै मार्ने धम्की नदिएको बास्कोटाले प्रष्ट पारे। उनले नेताहरूले टिप्पणी गर्नु, आलोचना गर्नु सही भए पनि ज्यान मार्ने धम्की दियो भन्नेमा सत्यता नभएको बताए।
प्रधानमन्त्री निवासबाट त्यस्तो धम्की आएको भए खुलस्त पार्न पनि बाँस्कोटाले रावललाई चुनौती दिएका छन्। ‘साँच्चै त्यस्तो हो भने उहाँले भन्नुपर्छ, यो नम्बरबाट फोन आयो र कसले धम्की दियो भनेर बोल्नुपर्छ,’ उनले भने।
प्रधानमन्त्री नेकपाकै र रावल पनि नेकपाकै भएकाले त्यस्तो हुनै नसक्ने बताउँदै बास्कोटाले सरकार सबै नेता कार्यकर्ताको सुरक्षाप्रति संवेदनशील रहेको प्रष्ट पारे।
प्रतिक्रिया