![](https://www.asiasanchar.com/wp-content/uploads/2019/11/Giriraj-Mani-Pokharel-Ministry-of-Education-Science-and-Technology.jpg)
महोत्तरी, ४ माघ – शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले सामुदायिक विद्यालयलाई सवलीकरण गर्न हरेक पक्षको सकारात्मक भूमिका आवश्यक रहेको बताएका छन्।
महोत्तरीको गौशाला नगरपालिकाले आयोजना गरेको ‘सामुदायिक विद्यालय सुधार’ विषयक सम्मेलनलाई सम्बोधन गर्दै मन्त्री पोखरेलले शिक्षालाई अब सीपसँग जोडेर त्यसको एकीकृत विकासका लागि सकारात्मक भूमिका निर्वाह गर्न आग्रह गरेका हुन्।
मन्त्री पोखरेलले वर्तमान परिवेशमा प्रमाणपत्रमा सीमित रहँदै आएको सामुदायिक विद्यालयको शिक्षालाई अब विकाससँग गाँसेर अभिभावकलाई पनि शिक्षित पार्दै विश्वस्तरको बजारमा बिकाउ हुने किसिमको वैज्ञानिक एवम् प्राविधिक शिक्षा दिनुपर्ने बताए।
यस्ता सम्मेलन देशका ७ सय ५३ वटै पालिकामा गर्ने बताउँदै पोखरेलले सम्मेलनबाट आएका सुझावलाई मनन गरी त्यही अनुरुप शिक्षा प्रणालीको विकास गर्न सके मात्र मुलुक सुखी र समृद्ध हुने विश्वास व्यक्त गरे।
एक अर्को प्रसङ्गमा मन्त्री पोखरेलले शिक्षकले देशको विभिन्न कालखण्डमा परिवर्तनको पथमा अहम् भूमिका निर्वाह गर्दै आएकाले शिक्षकलाई राजनीतिभन्दा टाढा राख्न नहुने प्रष्ट पारेका छन्।
प्रतिक्रिया