अरुण बाँस्तोला
नौ महिना कठिन गर्भमा राखी
जन्मायौ तिमीले
लोइ लोइ बाबु भन्दै क ख रा
सिकायौ तिमीले।
हातका औँला समाइ संसार
टेकायौ तिमीले,
पौरखी मन, यो सुन्दर विश्व
देखायौ तिमीले।
तिम्रा ती झुत्रा गुन्यु र चोली
तिम्रो त्यो स्पर्श,
भुल्न कहाँ सक्थेँ र मेरीआमा
अतीतका ती वर्ष।
दिनभरि झरी अर्काको काम
फर्केर साँझमा,
बाबु र आमा साक्षत ईश्वर
मै हुन्थेँ माँझमा।
पढायौ सन्तान बढायौ सन्तान
हुर्कायौ गनेर,
दु:ख र पछि सुखका दिन
आइजाउन् भनेर।
हरघडी समय टिकटिक आवाज
बज्दैछ खै कहाँ,
आमा,संसारकी प्यारी बनाउने साहस
गर्दैछु म यहाँ।
प्रतिक्रिया