
काठमाडौँ, २४ वैशाख – नेपाल विद्यार्थी संघका अध्यक्ष राजीव ढुङ्गानाले विदेशमा अलपत्र परेको विद्यार्थीको उद्दार गरी क्वारेन्टाइनमा राख्न सरकारसँगको ध्यानाकर्षण गराएका छन्।
तत्काल उद्दार गर्न नसक्ने अवस्था भएमा सम्बन्धित देशमा रहेका राजदूताबासमार्फत् जीविकोपार्जनका लागि आवश्यक आधारभूत सामग्री उपलब्ध गराउन अध्यक्ष ढुङ्गानाको माग गरेका छन्।
‘प्रधानमन्त्रीज्यू, विश्व नै लकडाउनको परिस्थितिमा रहेका बेला ऋण काडेर विदेश गएको विद्यार्थीहरू पैसा सकिएर र रोजगारी गुमेर अलपत्र अवस्थामा छन्,’ अध्यक्ष ढुङ्गानाले भने, ‘कम्तिमा अहिले तत्कालका लागि नेपाल सरकारले ती विद्यार्थीको जिम्मेवारी लिनुपर्छ।’
अध्यक्ष ढुङ्गानाले सरकारले विदेशमा रहेका नेपालीको अवस्थाबारे जानकारी लिन पनि सरकार र प्रधानमन्त्री केपी ओलीको ध्यानाकर्षण गराएका छन्।
‘हिजो भोट दिएका आफ्ना नागरिकहरू अहिले फिर्ता ल्याउन सकिँदैन भन्ने अभिव्यक्तिहरू गलत छन्, संकटका बेला स्वदेश फर्किन चाहने नागरिकलाई निश्चित मापदण्ड बनाएर र क्वारेन्टाइनमा राख्ने व्यवस्था गरेर फिर्ता ल्याउनुपर्छ,’ ढुङ्गानाले भने।
महामारीको संकट अझै धेरै जान सक्ने सम्भावनालाई दृष्टिगत गरी दृघकालीन कार्यक्रम बनाउन अध्यक्ष ढुङ्गानाले माग गरेका छन्। ‘त्यसमा युवा र विद्यार्थी परिचालनको जिम्मा हामी लिन तयार छौँ,’ उनले भने।
भारतसहित विभिन्न एशियाली मुलुक, अमेरिका, क्यानडा, अस्ट्रेलिया, रूस, बेलायतसहितका युरोपेली मुलुक र अन्य सबै देशमा अलपत्र परेका नेपालीहरूको तथ्याङ्क संकलन गरी उद्दारको काम थाल्न सरकारको ध्यानाकर्षण गराएका हुन्।
‘कूटनीतिक निकाय र सामाजिक संघसंस्थामार्फत् लगत संकलन गर्ने र ती विद्यार्थीको उद्दार गर्नुपर्छ, नभए ठूलो विपत्ति विद्यार्थीलाई मात्रै होइन सरकारलाई पनि आउन सक्छ,’ नेवि संघ अध्यक्ष ढुङ्गानाले भने।
प्रतिक्रिया