
काठमाडौं, २७ वैशाख – नेपाल विद्यार्थी संघले लिपुलेकसहितको नेपाली भूभाग अतिक्रमण गरी भारतले चीनको मानसरोवर पुग्ने सडक निर्माण गर्दा पनि सरकारले आवश्यक कूटनीतिक पहल नगरेको ठहर गरेका छ।
नेपाल विद्यार्थी संघका अध्यक्ष राजीव ढुङ्गानाले शनिबार विज्ञप्ति प्रकाशित गरी नेपाली भूमि रक्षार्थ कूटनीतिक पहल गर्न सरकारको ध्यानाकर्षण गराएका हुन्।
सरकारले तत्काल भूमि फिर्ताको पहल नगरे आन्दोलनमा उत्रिने चेतावनी पनि अध्यक्ष ढुङ्गानाले दिएका छन्। सीमा मिचिँदा पनि थाहा नपाएझैँ गरी चुप लागेर बस्ने वर्तमान सरकारको कार्यले थप सशंकित बनाएको अध्यक्ष ढुङ्गानाकाे भनाइ छ।
‘चुनावका समयमा राष्ट्रियताका ठूला र खोक्रा नारा दिने यो सरकारको अहिलेको लम्पसारवादी प्रवृत्ति भारतको मिचाह प्रवृत्तिभन्दा पनि खतरनाक छ,’ ढुङ्गानाले भनेका छन्।
कूटनीतिक संवादमार्फत भारतीय पक्षलाई सडक निर्माण रोक्न लगाउन नेवि संघको माग छ। भारत सरकारले चीनको मानसरोवरसम्म पुग्ने बाटो निर्माण गर्ने बहानामा नेपाली भूभाग लिपुलेक हुँदै सडक निर्माण कार्य अघि बढाएको भन्ने समाचारले स्तब्ध बनाएकाे विज्ञप्तिमा उल्लेख गरिएकाे छ।
‘केही समयअघि नेपाली भूभाग कालापानी, लिपुलेक र लिम्पियाधुरा भारतले आफ्नो नक्सामा राखी प्रकाशित गर्नु र अहिले उक्त भूभागमै भारतीय राजमार्ग निर्माण गर्नु अत्यन्तै खेदजनक कार्य हो,’ विज्ञप्तिमा भनिएको छ।
कोरोना संक्रमितको रक्षा र सीमा रक्षामा सरकार असफल भएको नेवि संघको ठहर छ। ‘कोरोना संक्रमित जनताको जीवन रक्षामा पनि गम्भीर नहुने र नेपाली सीमा मिचिँदा पनि एक शब्द नबोल्ने सरकार पनि नेपाली जनताको सरकार हुन सक्छ र? अब त सत्ताको फोहोरी खेल खेल्न छोडेर जनताको जीवन रक्षा र राष्ट्रको सीमा रक्षामा लाग्नुहोस्, प्रधानमन्त्रीज्यू,’ विज्ञप्तिमा भनिएको छ।
प्रतिक्रिया