
काठमाडौँ, २ जेठ – नेपाली कांग्रेसका युवा नेता भुपेन्द्रजङ्ग शाहीले नेपाली भूमि अतिक्रमणका बारेमा माथिल्लो राजनीतिकस्तरमा वार्ता गर्न प्रधानमन्त्री केपी ओलीलाई सुझाव दिएका छन्।
युवा नेता शाहीले मन्त्रालय तहभन्दा पनि प्रधानमन्त्री ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग सीधा संवाद गरी नेपाली भूमिमाथिको अतिक्रमण रोक्न पहल गर्नुपर्ने बताएका हुन्।
सबै सीमा विवादको हल निकाल्न पनि उच्च नेतृत्वबाटै पहल हुनुपर्नेमा शाहीको जोड छ। ‘नेपाली भूमि यसै फिर्ता हुनेवाला छैन, प्रधानमन्त्रीबाटै पहल हुनुपर्छ,’ उनले भने।
नेपाली सीमा अतिक्रमणका बारेमा तत्कालीन प्रधानमन्त्री एवं जननेता बिपी कोइरालाले गरेको पहललाई युवा नेता शाहीले स्मरण गरे। कोइरालाले चीन र भारतका समकक्षीलाई पत्र लेखेर नेपाली भूमि फिर्ता गराएका थिए।
‘यही बेला प्रष्ट संवाद भएन भने ढिला हुन्छ, भूमि अतिक्रमण रोकिँदैन, प्रधानमन्त्रीज्यू, बिपी कोइरालाको जस्तै आँट गर्नुस्, मोदीसँग सीधा र प्रष्ट कुरा गर्नुस्,’ शाहीले भने।
नेपाल, चीन र भारतको अन्तर्राष्ट्रिय सीमाका विषयमा उत्तरी छिमेकीसँग पनि गम्भीर ढंगले कुरा गर्न प्रधानमन्त्रीलाई शाहीले सुझाव दिएका छन्।
कालापानी, लिपुलेक र लिम्पियाधुरा अतिक्रमणमा दुवै छिमेकीको संलग्नताले नेपाली नागरिकलाई आघात पु¥याएको बताउँदै शाहीले कूटनीतिकस्तरबाट उठेर राजनीतिकस्तरमा संवादको थालनी गर्न सुझाव दिएका छन्।
युवा नेता शाहीले ऐतिहासिक प्रमाण, तथ्य र दस्तावेजका आधारहरू प्रस्तुत गरेर नेपाली भूमि फिर्ता गर्न प्रधानमन्त्री ओलीलाई सुनौला अवसर अहिले प्राप्त भएको बताएका छन्।
प्रतिक्रिया