लण्डन, २९ जेठ — विश्वभरि फैलिएको कोरोना भाइरस (कोभिड—१९) महामारीले विश्वकै पत्रकारिता क्षेत्र नराम्रोसँग प्रभावित भएको र यसले स्वतन्त्र प्रेसको अस्तित्वमा नयाँ चुनौतीहरु थपिदिएको मिडिया अध्येताहरुले जनाएका छन् ।
ग्लोबल नेप्लिज डटकमको आयोजनामा ‘विश्व मिडियामा कोभिड—१९ को असर’ विषयक छलफल कार्यक्रममा बोल्दै क्यानडाको युनिभर्सिटी अफ अटवामा आबद्ध मिडिया अध्येता भानुभक्त आचार्यले कोरोना संकटले परम्परागत मिडियाहरूको अस्तित्व नै चौपट हुनसक्ने जोखिम रहेको बताउँदै सबै किसिमका मिडियाले यथाशीघ्र डिजिटल प्रणालीमा जानै पर्ने बाध्यता रहेको बताए।
उनले कोभिड—१९ पत्रकारिताको समस्या मात्रै नभएर यसले सुरक्षाकर्मी र स्वास्थ्यकर्मी जस्तै पत्रकारलाई पुनः ‘पहिलो पंक्तिका रक्षक’ भन्ने श्रेयलाई पुष्टि गरेको बताउँदै कोरोनाका कारणले सिर्जित सूचनाको महामारीका कारण व्यावसायिक पत्रकारिताको उपादेयता अझै बढी पुष्टि भएको बताए।
आचार्यले जानकारी दिएअनुसार कोभिड—१९ का कारण संसारभरि हजारौं पत्रकारको जागिर गुमेको, हजारौं सञ्चार संस्थाहरु पूर्ण वा आंशिक रुपमा बन्द भएको, ११७ जना पत्रकारले कोरोना संक्रमणका कारणले ज्यान गुमाएको एवम् ३३५ ओटा प्रेस स्वतन्त्रता उल्लंघनका घटनाहरु भएका छन्।
अध्येता आचार्यले मिडियाको विषयवस्तुका उपभोक्ता ऐतिहासिक रुपमा बढ्दै गएको तर विज्ञापन लगभग शून्य हुने अवस्था आएकाले कोभिड—१९ को असरबाट धेरै सञ्चारसंस्थाहरु पुनर्जागृत हुनै नसक्ने अवस्थामा पुगेकाले नयाँ रणनीतिहरु बनाउनु पर्ने आवश्यकता औंल्याए।
उनले कोभिडकै कारणले पत्रकारको स्वतन्त्र आवामनमा बाधा पुगेको, सूचनामा पहुँच घटेको, आलोचनात्मक समाचार समाप्त भएको, राज्यका निकायहरुले पत्रकारलाई धरपकड गर्ने गतिविधि विश्वभरि नै बढेको तथ्यांक प्रस्तुत गरे।
आचार्यका अनुसार गुगल र फेसबुकले सूचना दिने, युट्युब र नेटफ्लिक्सले मनोरञ्जन दिने, अनलाइनबाट विश्वविद्यालयहरुले पढाउने भएपछि अब पत्रकार किन चाहियो भनेर सत्ताका कारिन्दाहरुले प्रश्न गर्न थालेकाले पत्रकारले पत्रकारिता आवश्यक छ भनेर पुष्टि गर्नु पर्ने बेला आएको छ । सूचनाको महामारीमा सही सूचना पत्ता लगाइ जनमानसमा फैलिएको भ्रम निवारण गर्न एवम् सत्तामा रहेका शक्तिलाई जनताप्रति उत्तरदायी बनाउन मिडिया इतिहासमा आज जति कहिल्यै आवश्यक थिएन।
अस्ट्रेलियाको क्विन्सल्याण्ड युनिभर्सिटी अफ टेक्नोलजीमा आबद्ध प्राध्यापक भरतराज पौडेलले कोभिड—१९ बाट सबैभन्दा बढी अस्ट्रेलिया डराएको र सबैभन्दा छिटो तङ्ग्रिएको भन्दै अन्य देशमा जस्तो त्यहाँ मिडियालाई खासै असर नपरेको बताए।
उनले भने, ‘कोभिडले अष्ट्रेलियालाई मिडियासम्बन्धी एउटा राम्रो नीति निर्माण गर्ने बाटो खोलिदियो । यहाँ सरकारले मिडियाका जागिरदाता र जागिरदारहरुलाई आर्थिक सहायता गर्दै मिडियालाई कोल्याप्स हुनबाट रोक्यो । तसर्थ अस्ट्रेलियाको मिडियामा कोभिड—१९ को प्रभाव ज्यादै कम देखिएको छ ।’
छलफलमा बोल्दै नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष एवम् फ्रिडम फोरम नेपालका अध्यक्ष तारानाथ दाहालले नेपालमा कोरोनाका कारण ९० प्रतिशत छापा पत्रपत्रिकाहरु बन्द भएको, धेरै स्थानीय रेडियोहरु बन्द हुने संघारमा पुगेको र करिब ६० प्रतिशत पत्रकारको जागिर गएको अनुमान गरिएको बताए । उनले कोभिड १९ बाट नेपाली पत्रकारहरुमा परेको असरबारे आफ्नो संस्थाले अध्ययन सुरु गरेको जानकारी पनि दिए।
अध्यक्ष दाहालले हालसम्म नेपालका कति स्थानीय रेडियो र पत्रपत्रिका बन्द छन् भन्ने यकीन जानकारी नभएपनि धेरै पत्रपत्रिका, रेडियोहरु बन्द भएको र केहीले सञ्चारमाध्यम बचाउनकै लागि सञ्चालन भएपनि रेडियोको समय र पत्रपत्रिकाको पेज कटौती भएको बताए।
दाहालले नेपालमा कोरोनासँगै सरकारी सञ्चारमाध्यम झन् हुँदै गएको तर स्वतन्त्र सञ्चारमाध्यमहरु भने धराशायी बनेको बताए । ‘निजी क्षेत्रका मिडियाले सरकारबाट कुनै पनि किसिमको सहयोग पाएका छैनन, तिनीहरुको पुनरोत्थानको बारेमा त हामीले सोचेका पनि छैनौं,’ उनले भने।
कार्यक्रममा मिडिया अध्येताहरु चुन गुरुङ, भुवन केसी लगायतका वक्ताहरुले कोभिड—१९ को सङकटबाट जोगिन मिडियाले अझ ठूलो नेटवर्क बनाउनु पर्ने, आपसमा सहकार्य गर्नुपर्ने र तथ्यजाँच गर्ने स्वतन्त्र संस्थाहरु स्थापना गर्नु पर्ने र राजनीतिक स्वार्थ नभएका सार्वजनिक प्रसारण संस्थाहरु स्थापना गर्नुपर्ने बताएक थिए।
त्यस्तै स—साना सञ्चारगृहहरुलाई आपसी सहकार्य बढाउन र पत्रकारहरुलाई डिजिटल प्रविधिसंग परिचित हुंदै जस्तोसुकै प्रतिकूल परिस्थितिमा पनि पत्रकारिताको औचित्य अझैं छ भन्ने पुष्टि गर्न हरेक पत्रकार लागिपर्नु पर्ने सुझाव पनि दिइएको थियो।
ग्लोबल नेप्लिज डटकमले विश्वभर कोरोना भाइरसको महामारीसँगै यसले विश्वभरका मिडियामा पारेको प्रभाव र असरबारे विभिन्न देशमा रहेका अनुसन्धानकर्ताहरुसंग आइतबार एउटा वेबिनार सञ्चालन गरेको थियो। छलफललाई डिसी नेपाल डटकमले प्रत्यक्ष प्रसारण गरेको थियो।
प्रतिक्रिया