Logo

शिक्षा

नेपालकी पहिलो महिला क्याम्पस प्रमुख अंगुरबाबा जोशीकाे निधन



काठमाडौं, ५ असार – वि.सं. २०७२ सालदेखि स्वास्थ्य समस्या झेलिरहेकी नेपालकी पहिलाे क्याम्पस प्रमुख अंगुरबाबा जाेशीकाे निधन भएकाे छ। मुटु, पेट र फाेक्साेकाे समस्याबाट ग्रस्त जाेशीकाे ८८ वर्षकाे उमेरमा शनिबार निधन भएकाे हाे।

बिरामी भए पनि पुस्तक लेखनमै व्यस्त थिइन् जाेशी

अंगुरबाबा जति नै बिरामी परुन्, उनको पढ्ने र लेख्ने कार्य रोकिँदैनथियाे। उनी अहिले पनि पुस्तककै तयारीमा थिइन्। वार्षिक रुपमा एउटा पुस्तक अनिवार्य निकाल्ने जोशीले सन् २०१७ मा दीक्षाको अंग्रेजी संस्करण तयार पारेकी थिइन्। त्यसपछि पनि उनी लेखनमै सक्रिय थिइन्।

पहिलो महिला क्याम्पस प्रमुख

अंगुरबाबा जोशी अध्ययनशील थिइन्। अध्ययनका लागि बेलायत गइन्। नेपाल फर्किएपछि वि.सं. २०१९ मा पद्मकन्या क्याम्पसको प्रमुख भइन्। शिक्षा क्षेत्रमा क्रान्तिकारी कदमको नेतृत्व गरिन्।

करिब दुई दशकसम्म पद्म कन्यामा उनले सेवा गरिन्। १२ वर्षसम्म त उनी क्याम्पस प्रमुखकै जिम्मेवारीमा थिइन्। तर, ‘छोरी भएर’ जन्मिएकै कारण अंगुरबाबाले सानैमा धेरैको धारे हात सहनु परेको थियो।

सानैदेखि मेधावी विद्यार्थी

नेपाली समाजमा अहिले पनि छोरी नजन्माएको दोष लगाएर महिलामाथि आक्रमण गर्ने प्रवृत्ति छ। ‘नेपालका सहरी क्षेत्रमा पनि त्यस्ता अवस्था छ,’ जोशीले केही महिनाअघिकाे कुराकानीमा भनेकी थिइन्, ‘त्यति बेला झन कस्तो थियो होला!’

छोरीलाई लक्ष्मी, दुर्गा, महाकाली भनेर पूजा गर्ने यही समाजमा उनी छोरी भएकै कारण अवहेलित हुने स्थिति थियो नै। अंगुरबाबाभन्दा अगाडि नै उनकी दिदी जन्मिसकेकी थिइन्। आफू जन्मिँदा नाति जन्मिने आशामा रहेकी हजुरआमाले, ‘हरे, साहिँली दुलैले फेरि छोरी पाइछे’ भनेको प्रसंग जोशी बेला–बेला सम्झिने गर्छिन्।

उनका बुवाको चिन्ता पनि छोरीको ‘गरिखाने’ विषयमै केन्द्रित थियो। तर, उनले गरि मात्रै खाइनन्। नेपालकै पहिलो महिला क्याम्पस प्रमुख भएर सामाजिक र शैक्षिक रुपान्तरणको मियो नै बनिन्।

काठमाडौंको बागबजारस्थित घरमा अंजुरबाबासँग कुराकानी गर्दा उनले आफ्नो बाल्यकाल कहिले उत्साहका साथ र कहिलेकाही अनुहारमा अलिकति तनाव लिएर सम्झिने गर्थिन्।

‘घरमै शिक्षक राखेर पढाउने गरिन्थ्यो,’ उनले भनिन्, ‘छोरी अर्कैको घर जाने जात भनेर पढाउने चलन थिएन, अलि सम्पन्न परिवारका छोरीलाई मात्रै पढ्ने सुबिधा थियो।’ यतिसम्म विभेद थियो कि, छोरालाई अंग्रेजी पढाउने र छोरीलाई हिन्दीसम्म पढ्ने सुबिधा थियो।

यही परिवेशमा उनी हुर्किंदै थिइन्। अंगुरबाबा, आफ्ना भाइहरु पढेको हेरेर बस्थिन्। कसैले नदेख्नेगरी किताब पढेर बस्थिन्। संयोगबश, एकदिन शिक्षकले उनका भाइहरुलाई प्रश्न गरे। भाइहरूले शिक्षकले सोधेको प्रश्नको जवाफ दिन सकेनन्।

तर, अलिपरबाटै अंगुरबाबाले प्रश्नको जवाफ दिएकी थिइन्। ‘संयोगवंश मैले दिएको जवाफ आमाले सुन्नु भएछ,’ उनले हर्सित भावमा भनिन्, ‘त्यही दिनदेखि मैले पढ्न पाएँ।’ उनले अंग्रेजी पनि पढ्न पाइन्।

सानैदेखि जिज्ञाशु स्वभावकी थिइन्, अंजुरबाबा। भाइको ब्रतवन्धका बेला पण्डितले गायत्री मन्त्र सिकाएको देखिन्। उनले पनि गायत्री मन्त्र जान्ने इच्छा व्यक्त गरिन्। भाइलाई सोधेपनि उनले जान्न सकिनन्।

शिवरात्रिका बेला गायत्री मन्त्र लेखिएको तस्बिर किनिन्। र, आउदो पारिन्। गायत्री मन्त्र उनले आउदो मात्रै पारिनन्, सबैलाई सुनाउँदा उनकी हजुरआमा आश्चर्यचकित भएको उनी सम्झिन्छिन्। प्रतिकात्मक रुपमा सामाजिक सुधारको अभियान यसरी नै सुरु भएको थियो।

प्राध्यापन सुरु गरेपछि उनले धर्मशास्त्रमा भएका गल्ती र महिलालाई गरिएको विभेदको अध्यापन नै सुरु गरिन्। अन्धविश्वासविरुद्ध यो उनको मिसाल थियो।

१० वर्षमै विवाह

‘जति बेला मेरो विवाह भयो, विवाह भनेको के हो भन्ने पनि थाहा थिएन,’ अ‍ंगुरबाबाले भनिन्, ‘दिदीको त ९ वर्षमै विवाह भयो।’ महिनावारी नहुँदै विवाह गरिदिने त्यतिबेलाको समाजमा उनको विवाह पनि त्यही कुरीतिकै उपज थियो।

डिल्लीबजारका जोशी परिवारका छोरासँग अंगुरबाबाको विवाह निश्चित भयो। सानैमा विवाह भएपछि पनि अंगुरबाबाले सासूआमा र श्रीमानको माया पाएको बताउँछिन्। शिक्षामा पनि उनको ध्यान थियो।

अंगुरबाबाले कहिल्यै विद्यालयमा पाइला टेकेकी छैनन्। घरमै पढेर हाइस्कुलको पढाइ पूरा गरिन्। सन् १९४८ मा उनले श्रीमानसँगै एसएलसी पास गरिन्। अंगुरबाबासँग एसएलसीदेखिहरुमा सहाना प्रधान, साधना प्रधान, भुवनराज्यलक्ष्मी राणा थिए। उनले घरमै पढेर सरस्वती सदनमा मानविकी संकायबाट आइए पूरा गरिन्।

भारतकको बनारस हिन्दु विश्वविद्यालयबाट राजनीतिशास्त्र र संस्कृत विषयमा स्नातक गरिन्। एमए को एडुकेसनबाट गरिन्। र, बेलायतमा पढाइसम्पन्न गरी पद्मकन्या क्याम्पसमा अध्यापन सुरु गरेकी हुन्।

प्रकाशित : ६ असार २०७७, शनिबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    दुर्गादेवी अधिकारी ९८१५९२९१२४
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल