काठमाडौं, ७ साउन – नेपाल राष्ट्र बैङ्कले बुधबारदेखि बजारमा ल्याएको एक हजार रुपैयाँको नयाँ नोटमा नेपालमै जन्मिएको जुम्ल्याहा हात्तीको फोटो राखिएको छ । अहिलेसम्म प्रयोग हुँदै आएको अफ्रिकन हात्तीको फोटो हटेको छ ।
हजारको नोटमा नेपाली हात्तीको फोटो राख्ने निर्णय राष्ट्र बैङ्कले आर्थिक वर्ष २०६९/७० सालमै गरेको भए पनि बुधबारदेखि मात्रै नेपाली हात्तीको फोटोसहितको नयाँ नोट बजारमा आएको हो ।
हाल नोटमा समेटिएका दुई जुम्ल्याहा हात्तीका ०६५ सालतिर चितवनमा जन्मिएका हुन् । जुम्ल्याहा भएका कारण उनीहरूको नाम ‘राम–लक्ष्मण’ राखिएको थियो ।
नेपालमा यति धेरै हात्ती हुँदाहुँदै पनि नोटमा अफ्रिकन हात्तीको फोटो प्रयोग गर्ने राष्ट्र बैङ्कलाई नेपाली हात्तीको फोटो राख्ने सुझाव र ज्ञान कसले दियो त ?
२०६९ सालको मंसिर महिनामा बजारमा केही नयाँ नोट छाप्न दिनुपर्ने अवस्था आएकाले नोट तथा सिक्का डिजाइन समितिको बैठक बसेको थियो । त्यतिबेला समितिका संयोजक तत्कालीन गभर्नर डा. युवराज खतिवडा थिए भने डेपुटी गभर्नर थिए महाप्रसाद अधिकारी ।
सो बैठकमा राष्ट्रिय निकुञ्जका तर्फबाट आउने प्रतिनिधिका रूपमा तत्कालीन राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु व्यवस्थापन विभागका महानिर्देशक मेघबहादुर पाण्डे उपस्थित थिए । इतिहासविद्का रूपमा शताब्दी पुरुष सत्यमोहन जोशीलाई पनि बैठकमा बोलाइएको थियो ।
नोट तथा सिक्का प्रकाशन गर्नुपूर्व पनि नेपाल राष्ट्र बैङ्कका गभर्नरको संयोजकत्वमा रहेको सिक्का डिजाइन तथा सिफारिस समितिले निर्णय गरेर राष्ट्र बैङ्कको बोर्ड बैठकमा पेश गर्ने गर्छ । बाहिर देखिने फोटो परिवर्तन गर्ने काम राष्ट्र बैङ्कको बोर्डबाट पारित भएपछि मन्त्रिपरिषदसम्म पुग्ने गर्छ । त्यसपछि मात्रै नयाँ नोट छपाइको प्रक्रियामा जाने गर्छ । सो डिजाइन गरेर सिफारिस गर्ने समितिमा भाषाविद्, पुरातत्वविद्, वन्यजन्तु विशेषज्ञ, इतिहासविद् लगायत विभिन्न क्षेत्रका एक÷एक जना प्रतिनिधि संलग्न हुने गर्छन् ।
बैठकमा सहभागी पाण्डेले सुरुमा नै नेपाली नोटमा प्रयोग गरिने नोटहरूको विषयमा आपत्ति जनाए । नेपालमा पाइने वन्यजन्तुको साटो विदेशी वन्यजन्तुलाई नोटमा समेटिएकोप्रति उनको आपत्ति थियो । पाण्डेको सो प्रस्तावलाई जोशीले पनि एकै झोक्कामा सहमति जनाए । जोशीपछि गभर्नर डा. खतिवडा र डेपुुटी गभर्नरले यसमा मञ्जुरी दिएपछि एक हजार रुपैयाँको नोटमा गलत फोटो प्रयोग भएको निश्कर्ष निकालियो र नेपाली वन्यजन्तुकै फोटो खिचेर राख्ने निर्णय भयो । त्यसका लागि फोटो संकलन गर्न डेपुटी गभर्नरको संयोजकत्वमा समिति नै गठन भएको थियो ।
मंसिरताका भएको बैठकले पाण्डेलाई हरेक नोटमा प्रयोग भएका वन्यजन्तुको फोटो खिच्ने जिम्मेवारी दिएको थियो । जिम्मेवारीपछि आफूले फोटो ग्राफरलाई चितवन पठाएर जुम्ल्याहा वन्यजन्तुको फोटो खिच्न लगाएको पाण्डे बताउँछन् । उनी भन्छन् ‘राष्ट्रिय निकुञ्जमा त हरेक वन्यजन्तुको तस्वीर हुन्छ । तर, हजारको नोटमा राख्ने हात्तीका लागि फोटो खिच्न छुट्टै फोटोग्राफर पठाएको थिएँ ।’
मंसिरमा गठन भएको सो समितिले ६ महिनापछि सबै फोटो राष्ट्र बैङ्कलाई बुझायो । पाँच सय रूपैयाँको नोटमा बाघको फोटो थियो । तर, त्यो बाघ पनि नेपालमा पाइने बाघ थिएन । त्यसको पुच्छर साइबेरियन हिमालमा पाइने बाघको जस्तो थियो । शरीरको अगाडि झुप्प परेको भुत्ला पनि नेपालको बाघमा नदेखिनेखालको थियो । पाण्डे भन्छन् ‘त्यो बाघ पनि नेपाली बाघ होइन । त्यसमा रहेको पुच्छर र भुत्लाले त्यो नेपाली बाघ नभएको स्पष्ट पाथ्र्याे । हामीले पाँच सयको नोटमा त्यो पनि परिवर्तन गर्न सुझाव दियौं ।’
राष्ट्र बैङ्कले यो निर्णय गर्दा नेपालमा अति दुर्लभ मानिने जुम्ल्याहा हात्ती जन्मिएको ४÷५ वर्ष भइसकेको थियो । अर्काेतिर, नोटमा प्रयोग गरिएको हात्ती विदेशी पाइएपछि स्वदेशी जुम्ल्याहा हात्तीलाई हजारको नोटमा प्रयोग गर्ने निर्णय गरिएको राष्ट्र बैङ्कका अधिकारीहरू बताउँछन् ।
अहिले पनि विश्वमा मुस्किलले आधा दर्जन मुलुकमा मात्रै जुम्ल्याहा हात्ती जन्मिएका छन् । तीमध्ये नेपाल, श्रीलंका, केन्या र थाइल्याण्ड लगायतका मुलुकहरूमा मात्रै जुम्ल्याहा हात्ती जन्मिएका छन् ।
पाण्डेका अनुसार ५० रुपैयाँमा भएको याकको फोटो झुम्लुङ्ग परेकोले त्यसले पनि नेपालीपन नदेखाउने र त्यो अमेरिकन बाइसनको स्वरुपमा रहेकोले त्यसलाई पनि सोही समितिले परिवर्तन गर्नको लागि नयाँ फोटो उपलब्ध गराएको थियो । त्यस्तै, २० रुपैयाँको नोटमा झारलको फोटो त्यो, त्यो नेपालमा पाइएको झारलको फोटो नरहेको पाण्डे बताउँछन् । त्यसलाई पनि समितिले फोटो उपलब्ध गराएर परिवर्तन गर्न सुझाव दिएको थियो ।
सबै फोटोहरू संकलन भइसकेपछि २०७० सालको जेठ महिनामा राष्ट्र बैङ्कले हजारको नोटमा जुम्ल्याहा बच्चाहरूसहित अरू गलत फोटो भएका सबै नोटमा नेपाली वन्यजन्तुको फोटो प्रयोग गर्ने निर्णय गरेको थियो ।
किन ढिलो छापियो नोट ?
नयाँ नोट छाप्ने २०७० सालको निर्णयलाई २०७७ सालमा मात्रै किन कार्यान्वयन गरियो त ? भन्ने प्रश्नमा नेपाल राष्ट्र बैङ्कका कार्यकारी निर्देशक रेवती नेपालले यसको प्रक्रिया ढिलो नभएको दाबी गरे । उनका अनुसार सम्झौता भएको आठदेखि नौ महिनामा नोट बजारमा आउने गर्छ ।
नेपालले नोट समयमै छापिए पनि नेपाल आइपुग्न लकडाउनका कारण केही ढिला भएको बताए । उनले भने ‘यसको प्रक्रिया ढिला भएको होइन । लकडाउनका कारण कोलकाता बन्दरगाहमा केही समय रोकिएको बाहेक अरू सबै प्रक्रिया द्रूत गतिमा सम्पन्न भएको छ ।’
राष्ट्र बैङ्कका अधिकारीहरूका अनुसार सो समितिले २०७० सालमा नै निर्णय गरेको भए पनि मन्त्रिपरिषदले निर्णय गर्नेदेखि छपाइ प्रक्रिया सुरु गर्नेसम्मको प्रक्रियामा नै ढिलाइ भएको थियो ।
सुदर्शन अर्याल/अनलाइनखबर
प्रतिक्रिया