काठमाडौं, ६ भदाै – युरोपको सबैभन्दा ठूलोमध्येको एक ओस्लो युनिभर्सिटी हस्पिटलमा ३० हजार मानिस काम गर्छन्। कयौं नेपाली डाक्टर, नर्स र स्वास्थ्यकर्मी पनि उक्त अस्पतालमा सेवारत छन्।
कोभिड–१९ को महामारीमा दिनरात खटिने चिकित्सकहरूमध्येका एक हुन् डा. सुरज थापा। ओस्लो युनिभर्सिटी हस्पिटलको नेतृत्व तहमा बसेर काम गरिरहेका छन् उनी।
विभागीय र रिसर्च प्रमुखको जिम्मेवारीमा विश्वकै लागि नमुना अस्पतालमा काम गरिरहेका डा. थापाले नीति निर्माणको तहमै पहुँच राख्छन्।
कोभिड–१९ को विश्वव्यापी महामारीमा अधिकांश युरोपेली मुलुकहरू गम्भीर स्वास्थ्य संकटमा परेपनि नर्वेमा त्यसको प्रभाव साधारण छ।
‘सरकारको पूर्वतयारी र सब निकायले जिम्मेवारीपूर्वक काम गरेकै कारण नर्वेमा कोभिड–१९ को प्रकोपको असर सामान्य रूपमा देखिएको हो,’ डा. थापाले भने।
त्यसो त नर्वे सरकारका हरेक निर्णय र जनतालाई स्वास्थ्यसेवा दिने कार्यमा डा. थापाजस्ता हजारौं चिकित्सकहरूको विशिष्ट योगदान रहेको छ।
सरकारले सबै कुराको जिम्मेवारी दिएपछि काम गर्ने विषयमा उत्साह मिल्ने डा. थापाले बताए। ‘प्रधानमन्त्री तहदेखि विभागीय प्रमुख र अस्पतालका निर्देशकसम्मले नै जिम्मेवारीपूर्वक काम गरेपछि कोभिड–१९ को प्रकोपविरुद्ध लड्न सहज भएको हो,’ उनले भने।
अन्तर्राष्ट्रिय सीमा बन्द, लकडाउनको नयाँ मोडालिटी
कोभिड–१९ को प्रकोप नर्वेमा पनि फैलियो। झण्डै १० हजा २ सय नागरिक कोरोना भाइरसको संक्रमणबाट पीडित हुँदा २ सय ६४ ले ज्यान गुमाए।
कोभिड–१९ को संक्रमण विस्तार रोक्नका लागि नर्वे सरकारले झण्डै २ महिनासम्म लकडाउन गर्यो।
‘लकडाउन गरिएपनि देश पूर्ण रूपमा बन्द भएन, विश्वविद्यालय बन्द भए, सीमा बन्द गरियो, तर, सार्वजनिक यातायात खुला थियो,’ उनले भने।
लकडाउनको मोडालिडी हेरेर आवश्यकता अनुसार परिमार्जन गर्न सकिने उदाहरण नर्वेले प्रस्तुत गरेको डा. थापाले बताए।
साझा संस्था निर्माण गरी नेपालीको सुरक्षा
युरोपेली मुलुकमा जाने नेपालीहरूको रोजगारी ‘फ्रन्टलाइन’मै हुन्छ। सुरूआतमा दिनमा नर्सिङ होमहरूमा पनि संक्रमण देखिएको थियो।
डा. थापाका अनुसार नर्सिङ होम तथा अन्य पेसा–व्यवसायीमा रहेका नेपाली नागरिक कोरोनाको संक्रमणको जोखिममा थिए।
‘यद्यपि, सरकारले विज्ञको टोलीदेखि आवश्यक सम्पूर्ण सामग्रीको व्यवस्था गरेको थियो, सबै हिसावले सरकार तयार हुँदा संक्रमण हुँदैन भन्ने प्रमाण पनि नर्वेले प्रस्तुत गर्यो,’ उनले भने।
डा. थापाका अनुसार नर्वे, स्वीडेन, डेनमार्क र फिनल्यान्डमा काम गर्ने नेपाली डाक्टरहरूको साझा संस्था छ। जसमार्फत् नेपाली नागरिकको रेखदेख र उपचारको कार्यमा उनको टिम परिचालित हुन्छ।
‘नेपालीलाई कोभिड १९ को समस्या भएमा डाक्टरमार्फत् जानकारी दिने र परीक्षण गर्न चाहेका लागि सोको व्यवस्था मिलाइएको छ,’ डा. थापाले भने।
नेपाली विद्यार्थी तथा अन्य क्षेत्रमा काम गर्नेहरूका लागि पनि सकेको सहयोग गर्दै आएको उनले बताए।
लकडाउनमा घरैबाट काम
अस्पतालको व्यवस्थापकीय दायित्व भएका कारण कोभिड १९ प्रकोपका बेला डा. सुरज थापाले केही समय घरबाटै काम गरे।
उनका अनुसार सरकारले नै लकडाउनका बेला वार्डमै काम गर्नुपर्ने डाक्टरहरूले जानैपर्ने हुँदा सुरक्षा अपनाउँदै काम गर्न प्रोत्साहित गरेको थियो।
‘व्यवस्थापनको तहमा बसेका डाक्टरहरूले घरबाटै काम गरेका थियौं, अस्पतालका निर्देशकदेखि विभागीय प्रमुखहरूसम्मले पनि घरैबाट काम गरेका थिए, तर पनि अस्पतालमा आउने बिरामीले कहिल्यै पनि स्वास्थ्य सेवा नपाउने अवस्था आएन,’ डा. थापाले भने।
व्यवस्थापकीय टिमको मिटिङ बिहान ८ बजे हुन्थ्यो। अस्पतालमा कति बिरामी आए, कति जनाको पोजिटिभ देखियो, कति जानको अवस्था जटिल छ भन्ने विषयमा प्रत्येकको स्थिति बुझेर आवश्यक उपचार सेवा दिनका लागि सम्बन्धित सेवाक्षेत्रका डाक्टरलाई सुझाउने गरिएको उनले बताए।
‘डाक्टर, नर्सहरूलाई चाहिने सामग्री प्रदान गर्ने र फलोअपमा आउने, सामान्य बिरामीलाई भिडियोमार्फत् जानकारी दिनेसम्मका काममा हामी सहभागी छौं,’ उनले भने।
नर्वेका नेपाली
एक हजार विद्यार्थीसहित झण्डै ३ हजार नेपालीको बसोबास रहेको छ नर्वेमा। २ महिनासम्म लकडाउन हुँदा विद्यार्थीलाई अप्ठ्यारो पर्यो।
काम बन्द भएपछि समस्यामा परेका विद्यार्थीहरूलाई आवश्यक राहतको प्रबन्ध गर्न सरकारी निकाय तथा नेपाली सामाजिक संघसंस्था पनि जुटे।
‘विद्यार्थीहरू नयाँ–नयाँ हुनुहुन्छ, उहाँलाई केही समस्या भएपनि अरू स्थायी बसोबास गर्नेहरूलाई कुनै समस्या भएन,’ डा. थापाले भने।
नर्वेमा एक सय ५० भन्दा धेरै नेपाली नर्स पनि कार्यरत छन्। फ्रन्टलाइनमा काम गर्ने नर्सहरू सुरक्षाका लागि सरकारले सबै सामग्री उपलब्ध गराएको उनले बताए।
‘रोग सरिहाल्छ कि भनेर डराउनु भयो, तर विस्तारै डर कम भएको छ, नियमित काममा फर्किनेहरूको संख्या बढेको छ,’ डा. थापाले भने।
सचेतना अभियान र सुरक्षाका सबै उपाय अवलम्बन गरेपछि मनोवैज्ञानिक त्रास घट्दै गएको थापाले बताए।
सरकारको जिम्मेवारी
सरकारी निकाय, सम्बन्धित निकायका विज्ञ र नागरिकको साथ भएमा जस्तोसुकै संकटको निराकरण गर्न सकिने अनुभव डा. थापाले सुनाए।
‘प्रत्येक दिन प्रधानमन्त्री आफै आएर संक्रमणका विषयमा जानकारी दिने, स्वास्थ्यमन्त्री पनि त्यतिकै सक्रिय, विज्ञहरूलाई अगाडि ल्याएर सम्पूर्ण सचेतना जगाउने काम गरेपछि नागरिकमा आशा र भरोसा जाग्छ,’ डा. थापाले भने, ‘नेपालमा त्यही कुराको अभाव छ।’
कोभिड–१९ को महामारी समाधानका विषयमा बहस चलाउनुपर्ने बताउँदै डा. थापाले जोगिने विषय र सतर्कताका सवालमा पनि सरकारले जिम्मेवारी र अग्रसरता देखाउने पर्नेमा जोड दिए।
‘कोभिड–१९ का बारेमा आएका विषयहरूमा सत्य कुरा जानकारी दिने र परीक्षणलाई तीव्र पार्ने कार्य पनि सरकारका प्रमुख दायित्वभित्र पर्छन्,’ उनले भने।
स्वास्थ्यकर्मीलाई सम्मान र उत्साह दिनुपर्ने बताउँदै डा. थापाले घरबेटीले घरबाट निकालेको, प्रहरीले नै डाक्टर कुटेकोजस्ता प्रकरणले डाक्टरका मनोबल कमजोर हुने प्रष्ट पारे।
‘कि सरकारले व्यवस्थापन गर्नुप¥यो, कि त जनताले उत्साह दिनुपर्छ, दुवै भएन भने डाक्टरले कसरी काम गर्ने?,’ उनको प्रश्न छ।
को हुन् डा. सुरज थापा?
काठमाडौंको धापासीमा जन्मिएको डा. सुरज थापाले शिवपुरी माध्यमिक विद्यालयबाट २०४३ सालमा एसएलसी पास गरे।
अमृत साइन्स क्याम्पसबाट आइएस्सी गरेपछि शिक्षण हस्पिटल महाराजगञ्जबाट सन् १९९६ मा एमबिबिएस गरे। त्यसपछि सन् १९९९ मा नर्वे गएका डा. थापाले विभिन्न विषयमा विशेषज्ञता हासिल गरेका छन्।
नर्वे जाने बित्तिकै अन्तर्राष्ट्रिय स्वास्थ्य अवस्थाका सम्बन्धमा जानकारी हासिल गर्ने गरी एमपिडको २ वर्षको पढाई पूरा गरेका डा. थापाले पिएसी ३ वर्षको अध्ययन गरे।
त्यसपछि ७ वर्षसम्म इन्टरनेसनल हेल्थ, साइक्याट्रिस्ट, रिसर्च लगायतका विषयमा अध्ययन गरेका डा. थापा स्वास्थ्य विभाग र सिनियर कन्सल्ट्यान्टको जिम्मेवारीमा कार्यरत छन्।
प्रतिक्रिया