काठमाडौं, ९ भदौ – विश्वमा कोभिड–१९ को संक्रमण बढ्दै जाँदा उत्पन्न मनोवैज्ञानिक त्रासका कारण धेरै मानिस पीडित भए।
मनोविदहरूका अनुसार कोभिड–१९ को संक्रमण नभए पनि यसबाट अनावश्यक सन्त्रास पैदा हुँदा गम्भीर मानसिक समस्या झेल्नेहरूको संख्या निकै धेरै छ।
यसरी कोभिड–१९ को संक्रमणभन्दा पनि मानसिक चिन्ताले ग्रस्त कयौं अमेरिकी नागरिकको सेवामा सक्रिय छन् डा. शरद कोइराला।
‘महामारीको जोखिम एकातिर छ, अर्कोतिर गम्भीर मानसिक समस्याबाट गुज्रिरहेका छन् यहाँका धेरै नागरिक, उनीहरूको स्वास्थ्योपचार गर्नु मेरो नियमित ड्यूटी हो,’ डा. कोइरालाले भने।
कोभिड–१९ सँगै निकै चर्को समस्याको रूपमा देखापर्यो मानसिक स्वास्थ्य समस्या। धेरै मानसिक रूपमा कमजोर भएको पनि पाइयो।
विश्व स्वास्थ्य संगठनले पनि मानसिक स्वास्थ्यका सन्दर्भमा निर्देशिका जारी गरेको छ। सन्त्रासमा सतर्क रहन विश्वस्तरीय स्वास्थ्य संस्थाहरूले आग्रह गरिसकेका छन्।
यद्यपि, विभिन्न प्रकृतिका मानसिक समस्या बढिरहेको डा. कोइरालाको अनुभव छ। ‘डर लुकाउने ठाउँ हुँदैन’ भनेझैं डा. कोइरालाको परिवारमा पनि एक किसिमको त्रास थियो।
‘त्रास त मेरो परिवारलाई पनि थियो, मेरी श्रीमती पनि डाक्टर भएकाले शुरुका दिनमा आलोपालो काम गर्ने वा कामै छोड्ने विकल्पमा कुरा गर्यौं,’ उनले भने, ‘तर, स्थिति सहज हुँदैछ, हाम्रो काम नियमित रूपमा अघि बढिरहेको छ।’
उच्च मनोबलका साथ काममा
हरेक दिन बिहानको शुरुआत बिरामीसँगको भेट र अन्तरंग कुराकानीबाट हुन्छ। बालबालिका र किशोरहरूलाई मनोपरामर्श दिने डा. कोइराला अस्पताल जान्छन्। उनी औषधिले काम गरेको छ–छैन हेर्छन्।
अस्पतालमा रहेका मेन्टल हेल्थ बर्करहरूले परिवारका सदस्यलाई सम्बन्धित बिरामीको अवस्थाबारे जानकारी गराउने गर्छन्।
‘मानसिक रोगीको वार्डमा कोभिड–१९ का बिरामी राखिँदैन, कोरोना संक्रमितलाई राख्न छुट्टै व्यवस्था मिलाइएको छ,’ उनले भने, ‘बिरामीसँग पनि दुरी कायम गरेरै आवश्यक परामर्श दिने गरिएको छ ।’
अस्पतालमा भएका मानसिक स्वास्थ्य समस्याका बिरामीलाई पनि भिडियो वा फोनमार्फत् आवश्यक परामर्श दिने गरिएको डा. कोइरालाले बताए।
‘म सब ठिक छु भन्छन्, तर अनुहारमा समस्या झल्किरहेको हुन्छ, कोभिड–१९ का कारण केही होला कि भनेर चिन्ता गर्नेहरूलाई पनि सन्तुलित व्यवस्था र मनोवैज्ञानिक समस्यामुक्त गर्ने हाम्रो प्रयास रहन्छ,’ उनले भने।
सिकागो सहरस्थित माउन्ट साइनाई हेल्थ सिस्टमको माउन्ट साइनाई हस्पिटल र होलिक्रस हस्पिटलमा कार्यरत डा. कोइरालाले कोभिड–१९ को महामारीको शुरुआत भएपछि देखिएको विकराक अवस्थामा विस्तारै कमी हुँदै आएको बताए।
कोभिड महामारीमा मानसिक स्वास्थ्य
कोभिड–१९ को वैश्विक प्रकोपको संक्रमण र मृत्युदरमा अहिले कमी आएपनि मानसिक स्वास्थ्यको सवाल अझ जटिल भएको डा. कोइरालाले बताए।
‘किनभने महामारीको आतंकले मानसिक समस्या थाम्नै नसक्ने गरी बढेको छ, नयाँ–नयाँ प्रकृतिका मानसिक स्वास्थ्य समस्या देखिएको छ, समाजको सोचाइको दृष्टिकोण नै बदलिने स्थिति सिर्जना भएको छ,’ उनले भने।
डा. कोइरालाले हरेक दिन बिहान होलिक्रस अस्पतालका बिरामी हेर्छन्। जहाँ अधिकांश किशोर र युवाहरूको उपचार हुन्छ।
दिउँसो बालबालिकाको स्वास्थ्योपचारको काम गर्छन् कोइराला। उनका अनुसार होम क्वारेन्टाइन र कोभिड–१९ को मनोवैज्ञानिक असरका कारण बालबालिकामा नयाँ ढंगका मानसिक विचलन पनि आएका छन्।
‘अहिले घरमा बस्दा झगडा गर्नेहरू, स्कूलको होमवर्क नगर्ने, घरमा अभिभावकबाट प्रताडित बालबालिकाहरू धेरै मानसिक स्वास्थ्य समस्याबाट ग्रसित छन्,’ उनले भने, ‘सौतेनी बाबुआमाबाट प्रताडित बालबालिकाको समस्या छुट्टै छ।’
डा. कोइराला मानसिक स्वास्थ्यको अवस्थालाई ‘तरकारीमा नूनको अनुपात’सँग तुलना गर्छन्। चेतनास्तर र घमण्ड बढी हुँदा आउने समस्या र सुस्त अवस्थाका बालबालिकाहरूलाई व्यावहारिक बनाउन र सामान्य अवस्थामा फर्काउन उनको प्रयास रहन्छ।
‘मानसिक रोगीहरू आफै विचलित हुँदैनन्, चिन्ताले मानसिक समस्या बढाउने गर्छ, अहिले महामारीका कारण पनि बालबालिकाहरू समस्या बढ्दो क्रममा पाइएको छ,’ उनले भने।
महामारीमा फैलिने मनोविज्ञान
डा. कोइरालाका अनुसार चिन्ता र डरका कारण मानसिक स्वास्थ्यमा प्रतिकुलता आउँछ। ‘आफू डराएको छु, अरु डराएका छैनन् भनेर सोच्न थालेपछि निन्द्रा नलाग्ने, झन् डराउने जस्तो लक्षण पनि देखिएका छन्,’ उनले भने।
आत्तिने र भाग्ने उपाय छैन भनेर अप्रिय निर्णय लिनेसम्मको अवस्थामा पुग्ने गरेको जानकारी डा. कोइरालाले जानकारी दिए।
बिकराल अवस्थामा लागूपदार्थ सेवन गर्नेहरू बढ्ने बताउँदै डा. कोइरालाले पछिल्लो समय आर्थिक कारणले पनि अमेरिकी समाजमा समस्या बढेको उल्लेख गरे।
‘यसरी मानसिक समस्यामा परेका युवाहरूको सामाजिक जीवन सकिएको हुन्छ, काम पनि गयो, आर्थिक समस्या गम्भीर भयो,’ डा. कोइरालाले भने, ‘मेरो सबै बाटो बन्द भयो भनेर जीवन समाप्त गर्नेहरू पनि छन् ।’
यस्तो स्वास्थ्य समस्या भएका व्यक्तिरूलाई नआत्तिन ढाडस दिने मान्छेसम्म पनि नहुँदा उनीहरू अझै विचलित हुने डा. कोइरालाले बताए।
महामारी र मानसिक स्वास्थ्यको सवाल
डा. कोइरालाले जुनसुकै परिस्थितिमा पनि मनोबल उच्च राखेर काम गर्नुपर्ने बताए। कोभिड–१९ बाट बच्न औषधि खाने, योग गर्ने आदि कुराहरू आए पनि विशेषतः प्राथमिक कार्यहरूमा ध्यान दिनुपर्ने उनले बताए।
‘ठूला–ठूला कुराहरू त हामी गर्छौं, बेसिक कुरामा ध्यान जाँदैन,’ डा. कोइरालाले भने, ‘स्वास्थ्य बलियो बनाउने, पौस्टिक कुरा, निन्द्रा पुग्ने गरी सुत्ने र पानी प्रशस्त पिउने गर्नाले पनि हाम्रो मानसिक स्वास्थ्य सबल हुन्छ।’
करियरको चिन्ता र पैसा कमाउनेजस्ता कामले पछिल्लो समय धार्मिक भावना जागृत नभएको र मानसिक विचलन बढेको बताउँदै डा. कोइरालाले समय निकालेर भएपनि आफ्नो आत्मबल विकास हुने काममा लाग्न सुझाव दिए।
‘कम्तिमा जन्मिनुको पर्याय के हो भन्ने बारेमा सोच निर्माण गर्नुपर्छ, सत्कर्ममा विश्वास गर्ने हो भने मात्रै पनि धेरै मानिसको मानसिक समस्या हल हुन्छ,’ उनले भने, ‘र, समाधानको बाटो पहिल्याउन उत्प्रेरित भइन्छ।’
डा. कोइरालाले महामारीपछि पनि मानसिक स्वास्थ्यको समस्या पूर्ण रूपमा हल नहुने बताए । त्यसैले आत्मीय सम्बन्ध भएका व्यक्तिबाट खुशी बृद्धि गर्दै समाजमा उनीहरूलाई स्थापित गर्नुपर्ने सुझाव दिए।
को हुन् डा. शरद कोइराला?
गोर्खाको नारेश्वरमा २०३७ सालमा जन्मिएका डा. कोइरालााले विन्दबासिनी माविबाट २०५२ सालमा एसएलसी पास गरेका हुन्।
अमृत साइन्स् क्याम्पसबाट सन् १९९८ मा आएएससी सकेपछि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा सन् २००० बाट एमबिबिएसको पढाई शुरु गरे।
कोइरालाले केही समय धरानमै काम गरे। र, सन् २०१० मा अमेरिका उडे। ‘अमेरिका आएपछि भर्जिनिया कमनवेल्थ युनिभर्सिटीको साइक्याट्रिकको रेजिडेन्सी जोइन गरेँ,’ उनले भने, ‘२०१३ सम्ममा पढाई सकियो, फेरि दुई वर्ष फलोशीप गरेँ।’
डा. कोइराला सन् २०१५ बाट शिकागो शहरस्थित माउन्ट साइनाई हेल्थ सिस्टमको माउन्ट साइनाई हस्पिटल र होलिक्रस हस्पिटलमा कार्यरत छन्।
प्रतिक्रिया