
पर्वत, ११ भदौ – नेपाल महिला संघ जिल्ला कार्यसमिति पर्वतले नेपाली महिला मुक्ति आन्दोलनकी अविचलित नेतृत्व स्व. मंगलादेवी सिंहको २४औं स्मृति दिवसको अवसरमा प्रहरीलाई मास्क प्रदान गरेको छ।
सामुदायिक प्रहरी कार्यालयमा सामुदायिक प्रहरी विटका अध्यक्ष शिव सुवेदी तथा सामुदायिक प्रहरी प्रमुखको उपस्थितमा नेपाल महिला संघ जिल्ला कार्यसमितिले मास्क हस्तान्त्रण गरेको हो।
त्यसैगरी, संघले नेपाली कांग्रेस जिल्ला कार्यालय पर्वतलाई पार्टी सभापति खिमप्रसाद भुषालमार्फत् मास्क र सेनिटाइजर वितरण गरेको छ।
नेपाल महिला संघ जिल्ला पर्वतकी कार्यवाहक अध्यक्ष मुना शर्मा लामिछानेले कोरोना भाइरसको जोखिमका बीच सुरक्षा र राजनीतिक कर्ममा खटिने ‘फ्रन्टलाइनर’हरूलाई प्रोत्साहन गर्न मास्क र सेनिटाइजर वितरण गरिएको बताएकी छिन्।

नेपाली राजनीतिमा महिला सहभागिताका लागि संघर्ष गरेर नेपाल महिला संघको स्थापनामा नेतृत्वदायी भूमिका निर्वाह गरेकी स्व. मंगलादेवी सिंहको विचारलाई अनुशरण गर्दै नेपालको आर्थिक विकासमा महिलाहरूलाई एकाकार गर्नुपर्नेमा लामिछानेको जोड छ।
उक्त कार्यक्रममा जलजला गाउपालिकाकी उपप्रमुख सीमा गर्भुजा पुन, कोषाध्यक्ष विष्णु गौडेल, नेपाली कांग्रेस जिल्ला सदस्य देविप्रसाद विलासी, पूर्व कोषाध्यक्ष कृष्ण गौडेल, नेवि संघका पूर्व केन्द्रीय सदस्य मोहन आचार्य, नेवि संघ जिल्ला सचिव बरदान पौडेल, नेवि संघ गुतेश्वर क्यम्पसका इकाई सभापति शिशिर पौडेल, सबिता पौडेलको उपस्थिति थियो।

प्रतिक्रिया