देश के हो? माटो हो? कि मान्छे?
यो देशको न माटो खुशी छ, न मान्छे!
माटो बगिरहेको छ जताततै।
पूर्वदेखि पश्चिम सम्म तराईदेखि पहाड सम्म!
मान्छे त मरिरेका छन्।
यतै–त्यतै जताततै
यसरी मानौँ यो कुनै
हलिउडको साई–फाई चलचित्र हो।
कहाँ मर्ने मात्र?
मारिइन्छन् यहाँ प्रतिदिन!
कहिले धारो छोएको निहुँमा,
कहिले प्रेम गरेकैले,
कोही महिला भएकैले,
केही ‘दलित कुल’मा जन्मिएकोमा,
पहिले मारिइन्थे,
२ माऊ भैँसी र २–४ खसिबोका पाल्नेहरू
सामन्ती भएको आरोपमा।
सरकारी स्कूलमा पढाउने शिक्षकहरू
संस्कृत पढाएको ‘अपराध’मा।
बुर्जुवा शिक्षा खारेजीको महान् अभियानमा तगारो बनेकाले।
अनि जो बाँचेका छन्
लाग्छ ती मर्नकै लागि बाँचेका हुन्।
आज मारिइयो यौटा,
जनावर मारेको कसुरमा!
उसको मर्दै गरेको कानमा
नेपथ्यबाट यौटा गीत गुञ्जिइरहेको थियो।
सयौं थुङ्गा फूलका हामी यौटै माला नेपाली।।
(नाेट: झापा गाउँपालिकाकाे कामाटाेलीमा बिहीबार प्रहरीले सर्वसाधारणमाथि गाेली प्रहार गरेकाे स्थानमा पुगेर फर्किएपछि एशिया सञ्चारका क्रिएटिभ डिरेक्टर तथा समाचार सम्पादक कडरियाले लेखेकाे कविता।)
प्रतिक्रिया