रङ्गशालाको माथिल्लो प्यारापिटमा उभिएर
हेरिरहेछु क्रिकेट म्याच र
सोचिरहेछु
यो अल्पविकसित देशमा
कहाँबाट भित्रिए यी चियर गर्लहरू?
कहाँ छ यिनको आदिवासी भूगोल?
हैरान छु यिनका हर्कतहरूसँग!
पिचसम्म पुग्ने स्वीकृति छैन यिनलाई,
अलिकति ठाउँ दिइएको छ
हातगोडा चलाउनका लागि,
मैदानमा पस्न हुँदैन भनिएको छ
र, पस्ने हैसियत राख्नै पनि डराउँछन् यिनीहरू!
छन्छनाइरहेछन् यिनका हातमा
अझै केही दर्जन साङ्गाहरू,
यिनलाई क्रिकेट बलसँग डर लाग्छ,
र,
तोकिएको ठाउँ छोड्न पनि डराउँछन् यिनीहरू,
मेनिकियर गर्न लगाइएको छ
र, आफ्ना हातलाई निकै नाजुक,
निकै कमजोर ठान्छन् यिनीहरू!
के मार्क्सको सिद्धान्तमा नअटाएका
उत्तरमार्क्सवादका अङ्गवस्त्र मात्र हुन् यिनीहरू?
वा पुँजीवादको अर्को एउटा अनुहार हुन्?
कसलाई थाह होला,
यिनको श्रम खरिद भइरहेछ या सौन्दर्य?
नियति बिक्री भइरहेछ कि कला?
भोकको वैश्विक अर्थमा
मान्छेका अनेक अतृप्ति बढाउँछन् चियर गर्लहरू,
आम दर्शकहरूका माझ
यिनीहरूको उपयोगिता के होला?
खेलाडीहरूका निम्ति यिनीहरूको आवश्यकता कति होला?
कसलाई थाह होला यो उत्तरऔपनिवेशिक संस्कृतिमा
चियर गर्लको वाद कुन हो?
र, यिनीहरूको अपवाद को हो?
प्रत्येक चौका र छक्कासँगै उफ्रिरहेछन्
यी नयाँ रूपका पुराना अवर्जनहरू
तर कतै पुगिरहेका छ्रैनन्,
सम्पूर्ण शक्तिले चिच्याइरहेछन्
तर कहाँसम्म पुग्दो हो यिनको आवाज?
रङ्गशाला बाहिर पर सडकमा,
उफ्रिरहेछन् जुलुस र,
कुर्लिरहेछन् आफूलाई यिनीहरूकै प्रतिनिधि घोषणा गरेर
झुन्ड झुन्ड आवाजहरू!
हेरिरहेछु,
रङ्गशालाको माथिल्लो प्यारापिटमा उभिएर,
र,
हैरान छु यिनका हर्कतहरूसँग।
प्रतिक्रिया