मानव मस्तिष्क पनि बडा अचम्मको छ
असम्भव र अपत्यारिला दृश्यहरु
खोजी–खोजी ल्याएर तमासा देखाउँछ
सत्यमा आधारित तथ्यपरक घटनाझै
प्रशस्त शंका गर्ने ठाउँहरु बनाउँछ।
अतीतको छोडिसकेको र भुलिसकेको
एउटा दृश्य जवरजस्ती प्रदर्शित हुन्छ
अङ्ग–प्रत्यङ्ग सुम्सुम्याउँदै चलाइ दिएपछि
मनभरि काउकुती लाग्छ र हैरान बनाउँछ
र सोच्न बाध्य हुनुपर्छ, यो त्यही दृश्य हो!
विस्मृति सजीवता बोकेर फेरि सल्बलाउँछ
बिसाइसकेका तिनै पलहरूले फेरि बोलाउँछ
जिम्मेवारी र पूर्णतामा प्रश्न चिन्ह लगाएर
सुखद अनुभूति नभूल्ने गरि तनमा चलाउँछ
र त संसार साँगुरिएर रसपानमा टुङ्गिन्छ।
जलविहीन मायारुपी पोखरी पुनः रसाउन थाल्छ
स्फटिक हाँसका जोडी जलक्रिडामा व्यस्त हुँदा
अलिक पर कमल फुलेर उहीँ भमरालाई बोलाउँछ
प्रगाढ प्रेमिल भावले होला सम्बन्ध फेरि जोडिन्छ
पूनर्मिलनको खुसियालीमा वार बनणदेज सबै भुलिन्छ।
सयौँ वर्षपछिको भेट हो छुट्न नै गाह्रो हुन्छ
खाटा बसेको घाउ कोटिँदा दुखाइ झनै साह्रो हुन्छ
न छोड्न सकिन्छ न अपनाउन सकिन्छ हे विधाता
अर्को जुनीमा यो सपना विपना बनेर आओस्
एकाकार हुने गरी भावीले अहिले नै लेखिदेओस्।।
प्रतिक्रिया