ऊ बेला, स्कूले केटा केटी हुँदा स्कूल छुट्टी हुने बित्तिकै कतिखेर घर पुगौंझैं हुन्थ्यो । घर पुग्नको त्यो हतार, घरमा आज खाजा–खाना के पाक्यो भन्ने कौतुहलले बढी हुन्थ्यो । घोडाका वेगसरि घर पुग्न कुदेका मेरा ती खुट्टा । घरको आगनमा हजुरआमाले फर्सी काटेको देख्ने बित्तिकै रोकिन्थ्यो । हजुरआमा यो फर्सी केलाई हो ? भनी सोध्दाः गाईलाई खोले (कँुडो) पकाउन जवाफ आएमा म खुशीले उफ्रिदै अघि बढ्थे । भरे तरकारी पकाउन भन्नेसाथ, मेरा नंैनाडी गलेर आउँथे, भरे यो फर्सीको तरकारी खानु पर्नेभो भन्ने चिन्ताले झनै सताउन थाल्दथ्यो ।
भात खाने बेला, थालमा भाग परेको फर्सीको तरकारी व्यवस्थापन गर्न मलाई हम्मे–हम्मे पर्दथ्यो । पस्केको खाना फाल्न पाइँदैन थियो, खाइसकेपछि मात्र उठ्न पाइने नियम थियो घरमा । छेउको कुर्सीमा आफ्नो भात खाना बसेकी मेरी जुम्लिया दिदीलाई, मेरो पनि भाग, फर्सीको तरकारी खाइदे भनेर फकाउँथें । विचरी खाइदिन्थी कहिलेकाँही, कहिले पानी खाने स्टिलको ग्लासमा फर्सीको तरकारी लुकाएर फालियो, गाईको खोलेमा ।
फाल्ने केही उपाय नलागेमा, आँखा चिम्लिएर पानीले सट्टै निल्नु मेरो बाध्यता हुन्थ्यो । यसरी फर्सीसँगको पौठेजोरीमा हार मेरै भयो, अन्ततः मिठो नलागे पनि, पकाएको बेलामा खाइदिनेसम्म भए फर्सीको तरकारी । यस्तो संघर्षको कथा, मेरो पुराना दिनका सम्झनामा मात्र नभएर, वर्तमानमा अधिकांश भुरा–भुरी अनि युवापुस्ताको पनि रहेको छ । घिरौला, लौका ईस्कुस जस्ता तरकरी धेरैको अप्रिय तरकारीमा अझै पनि गनिन्छन् । यद्यपि, यस्तो कृषिजन्य उत्पादन, स्वस्थबद्र्धक र पोषणयुक्त हुन्छ भन्ने जानकार सबै हुन्छन् ।
समय बित्दै जाँदा, मैले संयुक्त राज्य अमेरिका आउने मौका पाए, यहाँ सबैथोक मेरो भोगाईभन्दा फरक पाए । यहाँ अक्टोबर ३१ तारिखमा, हेलोविन पर्व मनाउने चलन रहेछ । त्यस दिन मृतकहरूको सम्झनामा मानिसहरू, भूतप्रेतको रूप धारण गरेर हिँड्दा रहेछन् । साथै यस पर्वमा एक महिना अगाडिदेखि नै फर्सी मेला नै लाग्ने गर्दछ ।
यो मेलामा, प्राय कृषकहरूले आफ्नै खेतमा, आफूले फलाएका विभिन्न प्रजातिका फर्सीहरू मनमोहक ढंङ्गले सजाएर प्रदर्शनीमा राख्दछन् । फर्सी बाहेक, कृषि प्रयोजनमा उपयोगी हुने आधुनिक औजार, मलखाद, कृषि तथा पशुपालन सम्बन्धी जानकारी, र मेला अझ रोमाञ्चक बनाउन कृषि सम्बन्धी खेल देख्न पाइन्छ । यो एक किसिमको कृषि प्रवर्द्धन मेला हो, जहाँ नयाँ पुस्तालाई कृषिको महत्त्व र कृषकको परिश्रमसँग साक्षात्कार गराइन्छ ।
फर्सी एउटा नमिठो तरकारी मात्रै हो भन्ने मेरो भ्रम । यसको व्यावसायिक खेती, आधुनिक प्रशोधन, र विभिन्न तयारी परिकारको लोकप्रियतासँगै हटेको छ । फर्सी एक तर यसको उपयोग अनेक रहेछ । उदाहरणका लागि पाकेको फर्सीको लिटो, बट्टामा प्याक भएर बेबी फुडको रुपमा बजारमा उपलब्ध छ । बेकरी आइटमहरूमा यसको व्यापक प्रयोग हुन्छ पमकिन पाई, बार्स, चीज केक ईत्यादी धेरै लोकप्रिय परिकार रहेछन् । कफी, कुकिज ईत्यादिमा पमकिन स्पाइस फ्लेवरको छुट्टै महत्व रहेको पाइन्छ ।
यो अहिलेको पूmल सिजनमा अत्याधिक उत्पादन भएको फर्सीलाई कृषकहरूले, प्रशोधन गरेर, पमकिन पिउरी (पेस्ट) को रूपमा बट्टा बन्दी गरेर, भण्डारण तथा बिक्री वितरण गर्दछन् । फर्सी त उदाहरण मात्र हो, हाम्रो नेपालमा पनि उत्पादन भएका कृषि उपज सामग्रीलाई राम्रो व्यवस्थापन र प्रशोधन गर्न सके कृषिमा हाम्रो आत्मनिर्भरताको विकास साथसाथै कृषकहरूको श्रमको कदर हुनेछ । यस्तो किसिमको कृषि मेला, स्थानीयस्तरबाटै व्यापकता र प्राथमिकतामाका साथ सञ्चालन गरिएको खण्डमा, हाम्रो मौलिक उब्जनी, कृषि र कृषकहरूको अपरिहार्यता, हाम्रा युवा पुस्तामाँझ परिचित गराउन सकिन्छ ।
अहिलेका युवावर्गको बढ्दै गएको भ्रमित आधुनिक जीवनशैली परिवर्तन गरी आत्मनिर्भर र परिश्रमी भविष्य निर्माण गर्न यस्तो किसिमको उपयोगी तथा जानकारीमूलक कार्यक्रमहरू अति आवश्यक छ ।
प्रतिक्रिया