
काठमाडौं, १० असोज – नेपाल विद्यार्थी संघले बझाङको मष्टा गाउँपालिकाकी बालिका १२ वर्षीया सम्झना विकको बलात्कारपछि हत्या भएको घटनामा संलग्न अभियुक्तलाई तत्काल पक्राउ गरी कानूनी कारबाही गर्न माग गरेको छ।
नेवि संघ अध्यक्ष राजीव ढुंगानाले विज्ञप्ति जारी गरी बालिका बलात्कार गरी हत्या गर्ने जस्तो जघन्य तथा क्रुर अपराध गर्ने व्यक्तिलाई तत्काल पक्राउ गरी कडाभन्दा कडा कानूनी कारबाही गर्ने सरकारसँग माग गरेका हुन्।
‘लोकतान्त्रिक शासन व्यवस्था अङ्गालेको देशको सरकारको पहिलो कर्तव्य आमनागरिकलाई शान्ति सुरक्षा प्रदान गर्नु हो,’ ढुंगानाले भनेका छन्, ‘तर, निर्मला पन्तदेखि सम्झना विकसम्मका घटनाहरू हेर्दा केपी ओली नेतृत्वको वर्तमान सरकारले जनतालाई सुरक्षाको प्रत्याभूति दिलाउनभन्दा सरकार आफैँ बलात्कारीहरूको संरक्षण गर्न लागेको देखिन्छ।’

शान्ति सुरक्षा लगायतका नागरिकको आधारभूत आवश्यकताको बेवास्ता गर्दै ओली सरकार आफ्नो सत्ताको आयु लम्ब्याउन मात्र लागि परेको नेपाल विद्यार्थी संघले ठहर गरेको छ।
‘केही पहिले नवराज विक लगायतका युवाहरूको रुकुममा भएको नरसंहार र हाल सम्झना विकको बलात्कार गरी हत्या गरिएको घटनाले हाम्रो समाजमा दलित समुदायमाथि पाशविक आक्रमणका घटना बढ्न थालेको प्रष्ट हुन्छ,’ अध्यक्ष ढुंगानाले भनेका छन्, ‘त्यसैले यस्ता घटना पुनः घट्न नदिन र दलित समुदायमाथि हुने गरेका विभिन्न प्रकारका प्रताडना रोक्न विशेष र कडा कानून बनाउन सरकारसँग जोडदार माग गर्दछौं।’
विगतमा जस्तै ओली सरकार यस्ता जघन्य किसिमका आपराधिक घटनामा पीडित पक्षलाई न्याय दिनुको सट्टा उल्टै अपराधीलाई बचाउन लागिरहे सम्पूर्ण नेपाली युवाहरूले आन्दोलन गरेर भ्रष्ट सरकारलाई सिंहदरबारबाट बहिर्गमन गर्न तयारी अवस्थामा
रहेको उद्घोष ढुंगानाले गरेका छन्।
प्रतिक्रिया