यत्र तु नार्यः पूज्यन्ते रमन्ते तत्र देवताः
यत्र तु एताः न पूज्यन्ते तत्र सर्वाः क्रियाः अफलाः (भवन्ति)।
अर्थात् जहाँ स्त्रीको पूजा हुन्छ, त्यहाँ देवताको बास हुन्छ। र, जहाँ स्त्रीको पूजा हुँदैन, नारीको सम्मान हुँदैन । त्यहाँ गरिएका समस्त राम्रा कर्म निष्फल हुन्छन् । विविधतायुक्त नेपाली समाजमा विभेदको कयौं खाडलहरू व्याप्त छन् । २१औं शताब्दीमा नारी र पुरुष समान माने पनि प्रकृतिबाटै फरक आकृति र फरक सोचले विदेशका अनेकौं चित्र निर्माण भएका छन् । तसर्थ फरक नै हुन्छन्, महिला र पुरुषका सोच र विचार । लगभग सबै क्षेत्र ओगटेका छौं महिलाहरूले । र, सक्षम पनि छौं । तर पनि हामी बराबरीको हैसियतमा पुग्न सकेका छैनौं । अपितु, वकालत गरे पनि प्राकृतिक विकासका दृष्टिकोणले फरक नै हुन्छन् महिला वा पुरुष । र, फरक नै हुन्छन् सोच पनि । अहिले निर्माण गर्नुपर्ने भनेको चिन्तन र चेतनाको बराबरी हो । विचार र अधिकारको बराबरी हो ।
अब प्रश्न उठ्छ, २१औं शताब्दिको बराबरीको होडबाजीमा महिलाहरू कहीँ कतै आफ्नो प्रकृति विपरीत त गइरहेका छैनौँ ? पारिवारीक विचलन हुनेगरी आफ्नो धर्म, संस्कृति र संस्कार बिर्सेर आचरण र व्यवहार गर्नु उचित होला र ? यो पनि सत्य हो कि, पहिलेको समाजमा पक्कै पनि महिलाहरू थिच्चिएर, मिचिएर आफ्नो इच्छा, आकांक्षाहरू दबाएर बाँच्नु परेको थियो । त्यो परीस्थिति रहेन वा छैन । समानता खोज्नु भनेको दक्षतामा हो, बौद्धिकतामा हो । यसको यो अर्थ होइन कि प्रकृति प्रदत्त संस्कार बिर्सेर समानता खोज्ने । महिलाहरू फरक छौं फरक नै रहनु पर्छ । आफ्नो मर्यादामा रहेर व्यवहार गर्दै दक्षता अभिबृद्धि गरी समाजलाई समता, समानता र समावेशी पद्धतिमा अघि बढाउनका लागि भूमिका नारीले नै बढाउनुपर्छ ।
अहिलेको परिस्थितिमा हरेक क्षेत्रमा महिलाहरूले उच्चस्तरको काम गरेकै छन् । र, हरेक काम लगनशील भएर गर्न सक्छन् । यसको कुनै प्रमाण दिइरहनु परेन । नेपाली समाजमा रहेको ‘महिलाले सक्लान् र!’ भन्ने सोच विद्यमान छ । अवसर पाएमा प्रतिस्पर्धा गरेरै पुरुषभन्दा उत्कृष्ट काम गरेका उदाहरण छन् । अझै परिपक्व र जिम्मेवारीपूर्ण कार्य गर्छन् र गरेका छन् महिलाले । यस्तो कुनै काम छैन, जुन महिला भएरै पछि पर्न पर्ने । बरु जुन आँट पुरुषमा छ, त्यही आँट र आत्मविश्वासका साथ महिलाले निडर भएर काम गरेका छन् ।
हुन त अहिले पनि समाजमा महिला भनेर हेप्ने र काममा पनि भर नगर्ने देखिन्छ । तर, जिम्मेवारीपूर्ण कामहरूमा महिलाले निर्वाह गरेको नेतृत्वदायी भूमिकाले दूरगामी परिवर्तन ल्याएको छ । घरदेखि परसम्म सबै कार्यहरू कुशलपूर्वक पूरा गरेको इतिहास कयौं छन् । त्यसैले नारीलाई हेर्ने दृष्टिकोण फेरिनुपर्छ । समान व्यवहार र पद्धतिको निर्माण हुनुपर्छ । बराबरी मात्रै होइन, नारीमाथि रहेको अतिरिक्त जिम्मेवारीको हिसाब पनि हुनुपर्छ । त्यसैले अधिकार र हरेक व्यवहारमा नारी स्वयंले आफूलाई उपल्लो दर्जामा राखेका काम गर्नुपर्छ । त्यसैले कर्मवीर नारीहरूको गर्विलो इतिहासलाई कायम गर्दै सुन्दर भविष्य निर्माण नारीले अग्रमोर्चा सम्हाल्नुपर्छ । र, समाजमा व्याप्त नारीप्रतिको असमान दृष्टिकोण बदल्नुपर्छ । महिला सशक्तिकरण, समानता र अधिकारको सवाल प्रश्न हुँदै समाजलाई दृघकालीन रुपान्तरणको पथमा लैजाने दायित्व हामी नारी माथि नै छ ।
प्रतिक्रिया