जन्मिदा उस्तै थियौं हामी!
सबै कुराबाट अनविज्ञ
हाम्रो शारीरिक बनावट भिन्न भैदियो
अनि उस्तै जन्मिएका हामी
मानव भएर पनि फरक जीवन बाच्यौं।
तिमी छोरा भयौ म छोरी
जसका आधारमा
हाम्रो स्वतन्त्रताको दायरा छुट्याइयो।
समाजका लागि
तिमी स्वतन्त्र भयौ पन्छी जस्तै!
तर, पलाउँदै गरेका मेरा
स्वतन्त्रताका पंख काटिए।
तिमी जन्मजात श्रेष्ठकर बनाइयौ!
म आभारी बनाइए।
तिमी वीर बन्यौ!
म विचरा बनें।
जति केटी घुमाउन सक्छौ
त्यसले तिम्रो पुरुषत्व निर्धारण गर्ने भयो।
केटासँग गफ गर्दैमा
मेरो नारित्व माथि प्रश्न उठ्ने भयो।
मैले तिमीमाथि श्रद्धा राखें!
तिमीले ममाथि कुदृष्टि राख्यौ।
मैले तिमीलाई प्रेम गरें
तिमीले मलाई वस्तु बनायौ।
तिमी सानले केटी घुमाएकोमा
छाती फुलाएर हिँड्न सक्यौ,
मर्द कहलियौ!
तर, म? म त छोरी थिए
म कसैसँग बोल्दा मात्रै पनि
चरित्रहीन कहलिए,
लज्जित बनाइए।
नारित्व पुजिने संस्कार बोकेको मेरो समाजमा
म नारी भएकैले दोस्रो दर्जामा पारिए।
तिमीले आफुलाई जन्मने बित्तिकै प्रमाणित गरिदियौ
मलाई जीवनभरको समय पनि
आफूलाई प्रमाणित गर्न अपर्याप्त भयो।
अहँ गुनासो होइन
गर्व छ मलाई मेरो जन्ममाथि
किनभने मेरो जन्ममा
तिम्री आमाझैं
मेरी आमा पनि मेरो अबोध मुहार हेरेर
उहीँ ममताका साथ मुस्कुराकी थिइन्
हुर्किंदै गर्दा मलाई नबोलेरै भनेकी थिइन्
मानव भएर जन्मिदैमा मानव भइन्न
मानवतालाई बाँचेर प्रमाणित गर्नुपर्छ।
ए छोरी!
आफू नरुनु, अरुलाई नरुवाउनु।
समाजका प्रश्न देखि नडराउनु
प्रतिप्रश्न गर्नु!
सामाजिक संरचनाविरुद्ध
आफू, आफ्नो पुस्ता
र आउने पुस्ताको
मानवीय स्वतन्त्रताका निमित्त,
लैङ्गिक असमानताका विरुद्ध डटेर लड्नु!
दुर्गाभवानीले दानवको संहार गर्न
हतियार उठाएझैं,
तिमीले सामाजिक संरचनाविरुद्ध
सशक्त आवाज उठाउनु
र भुकम्पले तहसनहस पारेका
भौतिक संरचना जस्तै गरी,
भत्काइदिनु ती जञ्जिरहरू
जुन तिम्रो स्वतन्त्रताको बाधक बनेर
तिमीलाई दुखाइरहेका छन्,
घोचिरहेका छन्।
प्रतिक्रिया