मेरी जन्मभूमि
सुन्दरताकी खानी
हरियालीकी धनी
मेरो मनमा सधैँ
गर्न खोज्छिन् मनोमानी!
हिउँदमा,
हिउँले टलक्क टल्किन्छिन्
बसन्तमा
गुराँसको लालीले
मसक्क मस्किन्छिन्।
कोइलीका गीतले
आफै लठ्ठ हुन्छिन्
काफल पाक्यो भन्दै
मलाई मख्ख पार्छिन्
सारा दुनियाँलाई नचाउँछिन्
चुत्रा, ऐसेलु
आफै एक्लै खान्छिन्।
वर्षामा
आरु खाँदै
कुहिरोसितै डेटिङ जान्छिन्।
दशैंमा खुशियाली
जन्माएर आउँछिन्।
तब मलाई
भोज खान बोलाउँछिन्
म पाहुना बनेर
जान्छु।
आशीर्वाद लिन्छु
अनि भन्छिन् –तिमी
सधैँ मेरो भोज खान
मात्रै आउछौँ है?
प्रतिक्रिया