विशेषगरी असार, साउन, भदौ, असोज महिनामा सर्प जमिन बाहिर निस्कने गर्छ। प्रायः सर्पहरूले मानिसलाई त्यत्तिकै टोक्दैन।
सर्पको टोकाइबाट तराई क्षेत्र बढी प्रभावित छ। तराईमा पाइने सर्पहरू धेरै विषालु हुन्छ। जसको टोकाइमा उपचार गर्न सकिएन भने मानिसको तत्काल मुत्यु पनि हुनेगर्छ। पहाडमा पाइने सर्प विषालु हुने भए पनि तत्कालै ज्यानै लिने खालका भने हुँदैन।
केही गरेर मानिसको सम्पर्कमा आएमा वा जानी नजानी मानिसले सर्प चलाएमा आफ्नो ज्यान रक्षाका लागि यसले टोक्ने गर्छ।
नेपालमा बर्सेनि हजारौंमानिसको सर्पले टोकेकै कारण मुत्यु हुने गरेको तथ्यांक छ। ठूलो संख्यामा बिरामीको स्वास्थ्य संस्थामा पुग्न नपाई मृत्यु हुने गरेको छ।
सर्पले टोकेको प्राथमिक उपचार
सर्वप्रथम त सर्पले टोकेको हो या होइन भनेर जान्न जरुरी हुन्छ। यदि टोकेको शंका लागेको ठाउँमा स–साना दुइटा घाउ छन् भने त्यो सर्पले टोकेको हुनसक्छ। सर्पले टोकेको थाह पाएमा सकेसम्म सर्प चिन्ने प्रयास गर्नुपर्छ। प्रायः करेत, गोमन, लम्भा नामले चिनिने सर्पहरू बढी भेटिने गर्दछ।
सर्पले डसेको व्यक्ति प्रायः अत्यन्त डराएको हुने हुँदा उसलाई सान्त्वना दिनुपर्छ। टोकेको भागलाई धेरै चलाउँदा विष छिटो र बढी मात्रामा रगत र लिम्फमा फैलिने भएकाले उक्त भागलाई सकेसम्म कम चलाउने, हातखुट्टामा टोकेको छ भने ब्यान्डेज वा स्पिलिन्ट लगाएर नचलाइकन राख्नुपर्छ।
गोमन र करेतले टोकेको हो भने टोकेको भागबाट अलि माथिसम्म हल्का प्रेसर पर्ने गरी ब्यान्डेज बाँध्नुपर्छ, यसलाई प्रेसर इमोबिलाइजेसन विधि भनिन्छ तर एकै ठाउँमा एकदमै कसेर बाँध्नु हुँदैन। कसेर बाँध्नाले त्यसभन्दा मुनिको भागमा रक्तसंचार पूरै बन्द हुनजान्छ र उक्त भाग मरेर खेर जानसक्ने हुन्छ।
विषका लक्षणहरू कम नभएसम्म वा प्रतिविषको प्रयोग सुरु नभएसम्म त्यो प्रेसर ब्यान्डेज खोल्नुहुँदैन।
सकेसम्म चाँडो बिरामीलाई नजिकको अस्पताल वा सर्पको टोकाइको उपचार हुने केन्द्रमा लग्नुपर्छ। यसो गर्दा टोकेको भागलाई सकेसम्म कम चलाउने।
सर्पको टोकाइबाट बच्ने उपायहरू
१. आफ्नो ठाँउवरिपरि पाइने सर्पका बारेमा जानकारी राख्ने। ती कस्तो ठाउँमा बस्छ। कुन बेलामा बाहिर निस्कन्छ। कुन याममा बढी सक्रिय हुन्छन् भन्ने थाहा पाइराख्नुपर्छ।
२. वर्षाको समयपछि, खेत रोपाइँका बेलामा सर्पबारे विशेष ध्यान पुर्याउनुपर्छ। किनभने यस्तो बेला सर्पहरू बाहिर निस्कने सम्भावना बढी हुन्छ।
३. रातको समयमा बाहिर निस्कँदा उज्यालो बत्ती, टर्चलाइट, लालटिन, लठ्ठी लिएर मात्रै निस्कने गर्नुपर्छ। एक अध्ययनका अनुसार करिब ७ सय ५५ विषालु सर्पको डसाइका घटनाहरू रातको समयमा भएको पाइएको छ।
४. सर्प पाइन सक्ने ठाउँमा जानुपर्दा घुँडासम्म आउने बाक्लो जुत्ता, रबरको बुट र पूरा खुट्टा छोप्ने बाक्लो पाइन्ट लगाउने गर्नुपर्छ।
५. जिउँदो, मरेको वा मरेको जस्तो देखिने सर्पलाई नांगो हातले समाउने गर्नु हँुदैन। सर्प मर्दैमा त्यसमा भएको विषले असर नगर्ने भन्ने हुँदैन, त्यसैले सकेसम्म खाली हातले छुने वा समाउने कोसिस गर्नु हुँदैन।
६. सम्भव भएसम्म भूईंमा नसुत्ने। सुत्दा झुल लगाएर सुत्ने बानी गर्नुपर्छ।
७. रुख वा जमिनमा भएका प्वालहरूमा जथाभावी हात छिराउनु हुँदैन।
८. जुत्ता लगाउँदा जुत्ताभित्र राम्रोसँग हेरेर मात्रै लगाउनुपर्छ।
९. भ्यागुता, मुसा, चरा, छेपारो आदि सर्पका आहारा भएकाले तिनलाई सकेसम्म घरभित्र बस्न दिनुहुँदैन।
१०. सम्भव भएसम्म घरका झ्याल ढोकामा जाली हाल्नुपर्छ।
११.बालबालिकाहरूलाई सर्प हुनसक्ने ठाउँहरूका बारेमा जानकारी दिने र सावधान रहन सिकाउनुपर्छ।
१२. सर्पको डसाइमा गरिने प्राथमिक उपचार थाह पाइराख्ने र प्रतिविष र एन्टीस्नेक भेनोम पाइने नजिकको स्वास्थ्य संस्था वा अस्पतालबारेमा जानकारी राख्ने।
सर्पको डसाइका चिन्ह र लक्षण
सर्प भन्नेवित्तिकै विषालु हुन्छ भन्ने विश्वास व्याप्त भएकाले जुनसुकै सर्पले टोक्दा पनि अत्यधिक डरका कारणले केही लक्षणहरू देखिन सक्छन्। जस्तै छिटोछिटो सास फेर्ने, पसिना आउने, चक्कर लाग्ने, हातखुट्टा झम्झमाउने, पेट र सम्पूर्ण शरीर दुख्ने, वाकवाकी लाग्ने, वान्ता हुने, मुटुको धड्कन कम हुँदै जाने, रक्तचाप घट्ने, बेहोस हुने आदि।
अचम्म लाग्न सक्छ, तर यी सबै लक्षण विष नभएको सर्पले टोक्दा पनि धेरै डराएमा देखिन सक्छ। तर सर्पले टोकेका हरेक बिरामीलाई सकेसम्म चाँडो नजिक अस्पताल पुर्याउनुपर्छ।
त्यस्तै सर्पले टोकेको भागबाट विष नफैलियोस् भनेर त्यसभन्दा केही माथि जोडसँग कस्ने गरिन्छ। जुन हिजोआज गर्ने गरिन्छ। त्यसले रक्तसञ्चारमा अवरोध पुगेर उक्त भाग दुख्ने, सुन्निने, नीलो हुने र मरेर खेर जाने पनि हुनसक्छ।
सर्पले डसेको भाग र त्यसवरपरमा देखिने लक्षण
डसेको भागमा सर्पको दाँतको चिन्ह देखिनसक्छ, तर सधैं यो देखिन्छ भन्ने छैन। डसेको भाग दुख्ने, सुन्निने, घाउ हुने, रगत बग्ने, फोका उठ्ने, नीलडाम बस्ने, नजिकैका लिम्फ ग्रन्थी सुन्निने, गाँठागुठी बढ्ने ।
सम्पूर्ण शरीरमा देखिने लक्षण
वाकवाकी लाग्ने, बान्ता हुने, पेट दुख्ने, कमजोरी महसुस हुने, पसिना आउने, चक्कर लाग्ने, हेर्ने शक्तिमा ह्रास आउँदै जाने, रक्तचाप घट्दै जाने, बेहोस हुने, मुटुको चालमा गडबडी आउने।
डसेको घाउबाट रगत बग्ने, गिजा, नाक, मुखबाट रगत बग्ने, छालामा मसिना र ठू–ठूला राता दागहरू देखिने, रगत बान्ता हुने, खोकीमा रगत देखिने, पिसाबमा रगत देखिने आदि। यी रगत बग्ने लक्षण मुख्यतया भाइपर जातका सर्पको डसाइमा देखिने गर्छ, किनकि यिनीहरूका विष रगतको जम्ने क्षमतामा असर गर्ने खालका हुन्छन्।
त्यस्तै गोमन, करेत सर्प जसको विष स्नायुमा असर गर्ने र प्यारालाइसिस गराउने खालका हुन्छ। सर्पको डसाइमा हातखुट्टा झम्झमाउने, आँखाको ढकनी भारी हुने, स्वर परिवर्तन हुँदै जाने, बोल्न नसक्ने हुने, थुक निल्न गाह्रो हुने, मुखबाट र्याल बगिरहने, स्वास फेर्न गाह्रो हुने, हातखुट्टा लुलो हुने र पूरै शरीरको प्यारालाइसिस हुने जस्ता लक्षणरू देखिन्छन्।
सर्पको डसाइपछि के नगर्ने?
१. टोकेको ठाँउमा ब्लेडले चिरेर रगत बगाई विष बाहिर फाल्ने प्रयास नगर्ने, त्यसो गर्दा विषभन्दा रगत बढी गई बिरामीको मृत्यु हुनसक्छ।
२. चलचित्ररूमा देखाएको जस्तो मुखले चुसेर विष निकालेर फाल्न सकिँदैन। बरु मुखमा घाउहरू छ भने त्यस्तो गर्नेलाई नै विष लाग्नसक्छ, त्यसैले त्यस्तो प्रयास नगर्ने।
३. धामीझाँक्रीको उपचार, विष सोस्ने, कालो ढुंगाको उपचार तर्फ लागेर महत्वपूर्ण समय नगुमाउने। विश्वासका आधारमा यी उपचारले बिरामीलाई मानसिक रूपमा सन्तुष्टि त मिल्छ तर विषालु सर्पले टोकेको रहेछ भने उपयुक्त उपचारको ढिलाइमा बिरामीको ज्यान जानसक्छ।
४. टोकेको अंगलाई अनावश्यक रूपमा नचलाउने।
५. घाउना कुनै पनि प्रकारको जडिबुटी, बरफ तथा औषधीको प्रयोग नगर्ने।
६. चिकित्सकले नभनेसम्म केही नखाने, नपिउने।
७. विष नफैलियोस् भनेर टोकेको भागभन्दा माथि कस्सेर बाँध्ने गर्नु हुँदैन। यसले फाइदाभन्दा बेफाइदा बढी गर्छ।
सर्पको डसाइको उपचार
प्रतिविष र एन्टी स्नेक भेनोमको प्रयोग विषालु सर्पको डसाइको अन्तिम र एकमात्र उपचार हो र कुन बिरामीलाई चलाउने र कुनलाई नचलाउने भन्ने एउटा महत्वपूर्ण कुरा हो।
नेपालमा प्रयोग गरिने प्रतिविष र पोलिभ्यालेन्टले ४ प्रकारका विषालु सर्प (गोमन, करेत, भाइपर) को टोकाइमा काम गर्छ। यसको पनि आफ्नै खराब असरहरू छन्। त्यसैले विषको असर नदेखिएसम्म विषालु सर्पले टोकेको यकिन नभएसम्म प्रतिविषको प्रयोग गरिँदैन।
यो एन्टी स्नेक भेनोम सर्पदंश उपचार केन्द्रमा पाइन्छ।
यसका खराब असर धेरै हुने भएकोले, बढी महँगो हुने भएकाले र सीमित मात्रामा मात्र उपलब्ध हुने भएकोले सर्पले टोक्यो भनेको आधारमा मात्रै लक्षण नदेखिइकन प्रयोग गरिँदैन।
प्रतिक्रिया