
काठमाडौं, २५ वैशाख – नेकपा एमालेमा अहिले प्रष्ट दुई धार छ। यो दुई धारलाई मेटाएर एमालेको एकता जोगाउन ‘बोली’मा सबै ‘लागेकै’ छन्। तर, प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालले आफ्नो अडान नछोडिरहेका बेला बुँदा–बुँदा छलफल गरेर पार्टीको विवाद समाधान गर्ने प्रयास भइरहेको छ।
एमाले नेता सुवासचन्द्र नेम्वाङ, अर्थमन्त्री एवं उपमहासचिव विष्णुप्रसाद पौडेल प्रधानमन्त्री ओलीको तर्फबाट सन्देशवाहककै रुपमा सीमित भइरहेका रहँदा वरिष्ठ नेता नेपाल पक्षका उपमहासचिव घनश्याम भुसाल र सचिव योगेश भट्टराई निरन्तर ‘निर्णायक’ छलफलको प्रयासमा छन्।
सहमति जुटाउने प्रयासमा शुक्रबार मध्यरातसम्म नै भुसाल र भट्टराईले प्रधानमन्त्री ओलीसँग छलफल गरे। बुँदा–बुँदामा भएको बहसमा ओली टसमस नभएपछि भुसाल र भट्टराई फर्किए। यद्यपि, उनीहरू शनिबार पनि निरन्तर छलफलमा रहे।
योगेश भट्टराईको पहलमा भएको ओली–नेपालको त्यो भेट
यसअघि नेकपा एमाले फुटको संघारमा पुगेका बेला नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल वैशाख ८ गते भेट भएको थियो। त्यसपछि उक्त भेटले वैशाख ९ गते पनि निरन्तरता पायो।
वैशाख ९ गते दिउँसो २ बजेपछि होटल मेरियटमा भेट भएको थियो। त्यो भेटमा एमाले वरिष्ठ नेता माधव नेपालले फागुन २८ गतेको निर्णय सच्याएर पार्टीलाई २०७५ जेठ २ कै अवस्थामा फर्काउनुपर्ने अडान राखेका थिए। ओलीले गुटगत निर्णय नमान्ने बताएका थिए।
भेटमा प्रधानमन्त्री अध्यक्ष ओलीले वरिष्ठ नेता माधव नेपाललाई पार्टीमै आएर आफ्ना असन्तुष्टि राख्न आग्रह गरेका थिए। नेपालसँगको भेटमा प्रधानमन्त्री ओलीले समानान्तर गतिविधि नगर्न भनेका थिए।
अध्यक्ष ओलीले नेपालसहितका नेताहरूलाई पार्टीबाट निलम्बन गरेका छन्। नेपाल पक्षले समानान्तर कमिटी बनाइरहेको छ। यति हुँदा–हुँदै पनि ओली र नेपाललाई सहमति गराउने प्रयासमा एमाले सचिव योगेश भट्टराई लागेका छन्। ओली–नेपालको मेरियट भेटअघि भट्टराईले बालुवाटारमै पुगेर ओलीलाई छलफलका लागि प्रस्ताव गरेका थिए।
एकपछि अर्को भेट
एमालेभित्रको विवाद उत्कर्षमा पुगेका यो साता भेटघाटका क्रम बाक्लिएका छन्। वरिष्ठ नेता माधवकुमार नेपालले राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेर पार्टीभित्रको विवाद र विश्वासको मत लिने प्रधानमन्त्री ओलीको प्रयासका विषयमा छलफल भयो।
त्यसैगरी, शुक्रबार एमाले अध्यक्ष ओलीसँग भुसाल र भट्टराईलाई भेटे। बिहीबार पनि अर्थमन्त्री विष्णु पौडेलले नेपाल समूहका नेताहरू योगेश भट्टराई, सुरेन्द्र पाण्डे र गोकर्ण विष्टसँग संवाद गरेका थिए।
राष्ट्रपति भण्डारीलाई भेटेर नेता नेपाल राति करिब १० बजे शीतल निवासबाट बाहिरिएका थिए। एमाले अध्यक्ष ओली र नेताद्वय भुसाल–भट्टराईको वार्ता अबेरसम्म चलेको थियो।
ओलीपक्ष र नेपालपक्षबीच पार्टीलाई एकताबद्ध बनाउनका लागि सैद्धान्तिक आधारको खोजी भएको छ। पार्टीलाई एकताबद्ध बनाउने प्रयासमा आफूहरू रहेको एमाले सचिव भट्टराईले बताए। पार्टी मिलाऔं भन्नेमा सबैको चासो रहेको बताए। ‘हामीले जेठ २ वरिपरि जाऔं, त्यही हो आधार भनेका छौं, सहमतिको कोसिसमा हामी छौं,’ भट्टराईले भने।
प्रतिक्रिया