
काठमाडौं, २६ वैशाख – जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत नदिने प्रष्ट पारेका छन्।
आइतबार बिहान ओलीलाई भेट्न बालुवाटार पुगेका ठाकुरले विश्वासको मत नदिने बताएका हुन्। मतदानका क्रममा तटस्थ बस्ने जानकारी उनले गराएका छन्।
प्रधानमन्त्री ओलीले विश्वासको मत लिने प्रयोजनका लागि सोमबार (वैशाख २७ गते) संसद्को विशेष अधिवेशन बोलाइएको छ।
तर, कांग्रेस सभापति शेरबहादुर देउवालाई भेटेपछि अध्यक्ष ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो प्रधानमन्त्रीलाई भेट्न बालुवाटार गएका थिए।
ठाकुर र महतोले पनि साथ नदिने भएपछि प्रधानमन्त्रीले विश्वासको मत नपाउने निश्चित भएको छ। एमालेकै माधव नेपाल पक्ष, नेपाली कांग्रेस र माओवादी केन्द्र पनि ओलीको विपक्षमा उभिएका छन्।
जसपाका अर्का अध्यक्ष डा. बाबुराम भट्टराई र उपेन्द्र यादव पक्षले यसअघि नै ओलीलाई साथ नदिने बताइसकेका छन्।
प्रतिक्रिया