
काठमाडौं, १४ जेठ – प्रधानमन्त्री केपी शर्मा ओलीले दोश्रो डोज जसरी पनि व्यवस्था गर्ने बताएका छन्। पहिलो डोज खोप लगाएका नागरिकलाई दोश्रो डोज व्यवस्था गर्न सरकार प्रतिवद्ध रहेको ओलीको भनाई छ।
शुक्रबार देशवासीका नाममा सम्बोधन गर्दै ओलीले पहिलो मात्रा खोप लगाएका ज्येष्ठ नागरिकलाई जसरी पनि खोप व्यवस्था गर्ने बताएका छन्। सबै वयस्क नागरिकलाई खोप व्यवस्था गर्ने प्रष्ट पारे।
प्रधानमन्त्री ओलीले नेपालमा अनुदानमा ३२ लाख २८ हजार डोज र खरिद गरेर १० लाख डोज खोप ल्याइएको बताएका छन्।
प्रधानमन्त्री ओलीले शुक्रबार दिउसो देशबासीको नाममा सम्बोधन गरेका हुन्। आर्थिक वर्ष २०७८।७९ को बजेटको पूर्वसन्ध्यामा प्रधानमन्त्रीले सम्बोधन गरेका हुन्।
संवैधानिक व्यवस्था अनुसार जेठ १५ गते संसदमा बजेट पेस गर्नुपर्नेछ। तर, ७ जेठको मध्यरातमा संसद् विघटन गरेपछि सरकारले आगामी आर्थिक वर्षको बजेट अध्यादेशबाट ल्याउन लागेको हो।
यसैगरी, ओलीले निर्वाचनका लागि सबै दललाई सरकारमा सहभागी हुन आग्रह गरेका छन्। आफूले परिणामलाई नभई लोकतान्त्रिक प्रणालीलाई ध्यानमा राखेर निर्वाचन घोषणा गरेको जिकिर गर्दै सबै दललाई सरकारमा सहभागी हुन आग्रह गरेका छन्।
ओलीले निर्वाचनमा जानुलाई प्रतिगमन भन्न नमिल्ने बताउँदै ताजा जनादेशलाई अस्वीकार नगर्न आग्रह गरेका छन्।
प्रतिनिधिसभा पुरै अवधि चलोस् भन्नेमा आफूले कुनै कसर बाँकी नराखेको बताउँदै ओलीले प्रतिनिधिसभा पुरै अवधि चल्नु र सरकारले जेनतेन ५ वर्ष पूरा गर्दा मात्र राजनीतिक स्थिरता नहुने जिकिर गरेका छन्।
प्रतिक्रिया