सिन्धुपाल्चोक – नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य स्पिनर सन्दीप लामिछानेले सिन्धुपाल्चोकको लिदि पहिरोपीडितलाई सहयोग गरेका छन्। लामिछानेले गत वर्षको पहिरोले विस्थापित भएर बासखर्कमा बसेका पहिरोबाट प्रभावितलाई घर बनाउन आवश्यक सामग्री सहयोग गरेका हुन्।
सोमबार चौतारा पुगेर उक्त सहयोग जिल्ला विपद व्यवस्थापन समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी अरुण पोखरेललाई लामिछानेले हस्तान्तरण गरेका हुन्।
हस्तान्तरण गरिएका सामग्रीमा जस्ता, फलामे ट्रस, पोल लगायत चार लाख बराबरका सामान छन्। प्रमुख जिल्ला अधिकारी पोखरेलले विपद व्यवस्थापन समितिको पहल मार्फत बाह्रबिसे, बासखर्क र भोटेकोसीमा एक सय वटा टहरा बनाउने लक्ष्य अनुसार उक्त सामग्री प्राप्त भएको जानकारी दिएका छन्।
त्यसैगरी, क्रिकेटर लामिछानेको टोलीले मेलम्ची बाढीबाट प्रभावितका लागि मेलम्चीमा स्वास्थ्य शिविर पनि सञ्चालन गरिएको छ।
खेलकुदका माध्यमबाट देशको सेवा गरिरहेका लामिछानेले सामाजिक रुपमा आएका चुनौतीमा आफ्नो दायित्व प्रस्तुत गर्नुपर्ने बताएका छन्। लामिछानेको सहयोगप्रति स्थानीयबासीले धन्यवाद व्यक्त गरेका छन्।
प्रतिक्रिया