
काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले वरिष्ठ नेता माधवकुमार नेपालका लागि पार्टीमा ठाउँ नभएको बताएका छन्।
एमाले काठमाडौं जिल्ला कमिटीको शनिबार बसेको बैठकलाई सम्बोधन गर्दै ओलीले ‘माधव नेपालजस्ता नेताहरूका लागि पार्टीमा ठाउँ नभएको’ बताएका हुन्।
ओलीले वामपन्थीको सरकार ढाल्ने र दक्षिणपन्थीको सरकारलाई विश्वासको मत दिएका नेपालका लागि एमालेमा कुनै स्थान नरहेको बताएका हुन्।
पार्टीमा बाटो बिराउनेहरूका कारण ठूलो क्षति भएको दावी गर्दै ओलीले ‘मुख्य–मुख्य अपराधी’ बाहेक अरु पार्टीमा फर्किन सक्ने बताएका छन्। ‘अरू साथीहरूलाई मौका दिन्छौं, आउनुस् यो पार्टी हामी सबैले बनाएका हौं, गल्ती भइहाले पनि त्यसलाई सच्याउँछौं,’ ओलीको कथन थियो।
तर पार्टी एकताका नाममा धेरै कुर्न नसकिने बताउँदै ओलीले थपे, ‘धेरै चिन्ता गरिरहनुपर्ने छैन, जो आउँदैनन्, आँदैनन्, केही साथीहरूसँग कुरा भइरहेको छ।’
ओलीले आगामी चुनावमा पार्टीले बहुमत ल्याउने दावी गरे। पार्टीमा खुट्टा तान्नेहरू कोही नभएको बताउँदै अब सजिलै बहुमत ल्याउन सकिने दावी गरे।
तर, माधव नेपाल अब एमालेमा नरहने ओलीको दावी थियो। ‘अब माधव नेपालजस्ता आन्दोलन विरोधीहरूलाई कुनै ठाउँ छैन, जसले वामपन्थी सरकार ढाल्ने, दक्षिणपन्थीको सरकार बनाउने, दक्षिणपन्थीको सरकारलाई फ्लोर क्रस गरेर भोट हाल्ने, आफ्नो प्रधानमन्त्रीले विश्वासको मत माग्दा २७ जना बाहिर लिएर गएर ढाल्ने, त्यस्ताका लागि ठाउँ छैन,’ ओलीले भने।
रमेश खरेलकाे राजनीतिक यात्रा अब कसरी? (अन्तरवार्ता)
प्रतिक्रिया