चक्रपाणि शर्मा गौतम –
हिन्दु पञ्चाङ्ग अनुसार जनै पूर्णिमा श्रावणमास शुक्लपक्षको पूर्णचन्द्रका दिन पर्दछ। यो नेपालीहरुका निम्ति वर्षको पहिलो चाड हो। ब्राह्मण,क्षत्रिय र वैश्य, जातिका लागि त यो सबैभन्दा महत्वपूर्णको चाड मानिएको छ। यस दिन हिन्दु मुलुकहरु र विशेषगरी नेपालका प्रत्येक नरनारीहरु बिहान सबेरै उठेर बिभिन्न जलाशयहरुमा स्नान, जप-ध्यान, आदि जस्ता नित्य कर्महरुबाट निवृत भएर शुद्ध, शुकिला-मुकिला,राम्रा र नयाँ-नयाँ कपडा लगाइ रक्षा बन्धनका निम्ति तयारी अवस्थामा रहन्छन। प्रत्येकले अघिल्लै दिन आफूलाई वर्षभरि चाहिने जनैको जोहोगरी तिनलाई रङ्ग्याएर अभिमन्त्रणका लागि तयारपारी राख्ने गर्दछन्।
जनैलाई शुद्ध र पबित्र पार्न शिवालय,गणेश मन्दिर,या अन्य कुनै पवित्र स्थानमा चण्डी,रुद्रीको पाठ गरी शिबलिङ्गमा जलधारा सञ्चालन गरेर ब्राह्मणहरुद्वारा बेदका मन्त्रहरु उच्चारण गराई अभिमन्त्रित गर्नुपर्ने हुन्छ। जनैलाई निश्चित धार्मिक बिधि-बिधान अनुसार एक यज्ञ जस्तै कर्म सम्पन्न गरेर मन्तर्ने कामगरी शुद्ध र पबित्र पारिने हुनाले यसलाई अर्को शब्दमा यज्ञोपवित पनि भनिन्छ। यसरी एक निश्चित बिधि र प्रक्रिया पुर्याएर अभिमन्त्रित गरिएको जनै र तागो बल्ल धारणयोग्य हुन्छ। यस्तो जनै र तागो पण्डित,पुरेत,भाञ्जा,ज्वाईं, वा अन्य कुनै पूज्य आचरणवान ब्राह्मणद्वारा पुरुषले दाहिने हातको नाडीमा तागो र गलामा जनै धारण गरिन्छ भने महिलाले देब्रे हातको नाडीमा धारण गर्ने गरिन्छ। पण्डितले तागो बांधिदिंदा यो मन्त्र भन्ने चलन छ—
येन बद्धो बलीराजा दानब्रेन्दो महावल:।
तेन त्वां प्रतिबध्नामि रक्षे मा चल मा चल।।
भावार्थ: — “मैले तपाईंको हातको नाडीमा तपाईंकै रक्षाको लागि त्यहि तागो(धागो) बाधिदिंदै छु जुन किसिमको धागो दानबहरुका राजा बलीका हातमा बाध्नाले उनको रक्षा भएको थियो।”
त्यसपछि पण्डितलाई सक्दो दक्षिणा दिएर भोजन गराई आफुले पनि भोजन गर्ने गरिन्छ। यस दिनको भोजन राम्रो,मीठो,बिभिन्न परिकारको र स्तरीय हुन्छ। तागो र जनै दुबै कपासबाट बनाईन्छ। यी दुबै कांचो धागोबाट गाउँ -घरमा पनि बनाउन सकिन्छ,तर केही झन्झट भने हुन्छ। त्यसैले आजकल सबैले बजारबाटै खरिद गर्ने गर्दछन। तागोलाई आफ्नो चाहना अनुसार रङ्ग्याउन सकिन्छ।पुरुष जातिले गलामा लगाउने जनैमा ६ ओटा सरा हुन्छन,जसलाई पुन: ३,३ सराको अर्को दुई खण्डमा बिभाजित गरिएको हुन्छ। यी दुबै खण्डका टूप्पा जोड्दा एक बिशेष किसिमको गांठो पारिन्छ जसलाई शिखा भनिन्छ। पहिलो खण्डका ३ सरालाई ब्रह्मा,बिष्णु,महेशका प्रतीक र दोश्रो खण्डका ३ सरालाई कर्म, उपासना र ज्ञानका प्रतीक हुन भनेर मानिन्छ। जनैका यी ६ ओटा प्रत्येक सराहरुमा स-साना ९,९ ओटा अरु सरा हुन्छन। यस किसिमको जनै अभिमन्त्रित गरिएपछि उपनयन कर्म गरेका पुरुष जाति मात्र धारण गर्न पाउने अधिकारी हुन्छन। एक पटक लगाएको जनै टूट्न गएमा या बिशेष परिस्थितिमा बाहेक अरु समयमा गलाबाट निकाल्न नमिल्ने धार्मिक प्रावधान छ। अभिमन्त्रित नगरिएको जनै बर्षभरीमा गरिने कुनैपनि कर्ममा प्रयोगयोग्य हुंदैन भन्ने धार्मिक कथन छ।
जनै पूर्णिमालाई रक्षा बन्धन या गुरु पूर्णिमा पनि भनिन्छ। नेपालको तराईमा दाजु-भाईहरुले आफ्ना दिदी-बहिनीहरुद्वारा धागोबाटै बनेको राखी बांध्ने चलन छ। जनै पूर्णिमाका दिन हातको नाडीमा बाँधेको तागो र राखीले तिहारमा फूलको माला बनाएर गाईको गलामा लगाउन पाईयो भने मृत्युपश्चात बैतरणी नदी सजिलै तरेर स्वर्ग पुग्न सकिन्छ भन्ने जनविश्वास छ।
जनै पूर्णिमाका दिन नेवार समुदायमा क्वाटी बनाएर खाने-खुवाउने चलन छ। क्वाटी बनाउनका निम्ति २,४ दिन अघिदेखि ९ थरीका गेडा-गुडीहरु पानीमा भिजाएर राखिन्छ। भिजाइएको गेडा-गुडीमा टूसा उम्रेपछि यो मिश्रणलाई पिनेर आफ्नो ईच्छा अनुसार झोल या ठोस दुबै परिकार बनाउन सकिन्छ। यसै मिश्रणलाई क्वाटी भनिन्छ। यो खाने र खुवाउने गर्नाले बर्षादको हिलोमा काम गर्दाखेरि शरीरमा गडेको चिसोको नाश हुन्छ,पाचन प्रणालीमा राम्रो सुधार हुन्छ र शरीरको राम्रो पोषण हुन्छ भन्ने बिश्वास छ। आजकल क्वाटीमा भांगो-धतुरो मिसाएर नशालु बनाई खाने र खुवाउने चलन पनि चल्दै आएको छ। कतिपय नेवार समुदायले भ्यागुतोलाई यस धरतीमा पानीको बर्षा गराउने भगवानको प्रतिनिधि मानेर पूजागर्ने गरेको पनि पाईन्छ। यिनीहरु भन्छन्—भ्यागुतो कोलाहल स्वरगरी कराउन थालेपछि मात्र बर्षायामको शुरु हुन थाल्छ, त्यसैले यिनलाई खुशी पारियो भने हामी बसेको ठाउँमा ठीक समयमा ठीक मात्राको बर्षा हुन्छ,जसको कारणले गर्दाखेरि लगाएको खेतीपाती राम्रोसँग फष्टाउन पाउंछ,अनि उत्पादन पनि वृद्धी हुन्छ भन्ने खालको जनबिश्वास गरिन्छ।
नेवार जातिले जनै पूर्णिमा पर्वलाई गुन्हि र पुन्हिको रुपमा मनाउने चलन पनि छ। आफुले बर्षभरीमा उब्जाएका जति थरिका खानेकुराहरु हुन्छन,तिनलाई त्यतिनै थरिका चाडपर्व या उत्सवका रुपमा बिशेष किसिमको भोजको आयोजना गरेर आफन्तहरुलाई डाकी खुवाउने र खाने गर्दछन।नेवार जातिको भोज-भतेर गर्नमा ठूलो सोख हुन्छ।यसैले त भन्ने गरिन्छ—नेवार जातिका चाडपर्वहरु धेरै हुन्छन। बर्षादको याममा गरिने सबै प्रकारका खेतीपातीको काम सकिएपछि आऊने पहिलो चाड यस जनै पूर्णिमाका दिन नेपाल राज्यमा स्थित बिभिन्न शिवालय मन्दिरहरु,बौद्ध स्तुपहरु,काठमाण्डूको पशुपतिनाथ मन्दिर,भक्तपुरको कुम्भेश्वर महादेव मन्दिर,रसुवाको गोसाईकुण्ड,जनकपुरको गङ्गासागर र धनुशसागर,सोलुखुम्बुको दूधकुण्ड,खोटाङ्गको हलेसी महादेव,जुम्लाको दानसाधु,चितौनको देवघाट,मुस्ताङ्गको मुक्तिनाथ मन्दिर,आदि र भारतको काशी,गया,जगन्नाथ,कुरुक्षेत्र,जस्ता धार्मिक पीठहरुमा श्रद्धालु भक्तजनहरुको जमघट हुन्छ।यी स्थानहरुमा पण्डित र ब्राह्मणहरुद्वारा तागो बांध्ने ब्यक्तिहरुको भीड लाग्छ।
शुद्ध, सफेद र सेतो कच्चा कपासबाट धागो बनाइन्छ, जसलाई कच्चा धागो या कांचो धागो भनेर भनिन्छ।यहि धागोबाट बनाईने तागो र जनैलाई आ-आफ्नो ईच्छा अनुसारको रङ्गले रङ्ग्याउन सकिन्छ।यस्तो जनै बेदको मन्त्रद्वारा एक निश्चित बिधि-बिधान पुर्याएर अभिमन्त्रित गरेपछि मात्र प्रयोगयोग्य हुन्छ भन्ने चलनको शुरुवात सबैभन्दा पहिले सप्तऋषिहरुले(कश्यप,अत्रि,बशिष्ट,बिस्वामित्र,गौतम,जमदग्नि,भरद्वाज) गरेका हुन भन्ने शास्त्रीय कथन छ।यिनै ऋषिहरुले देखाएको बाटोलाई पछ्याएर हाल सम्म अटूट रुपले यो पर्ब मनाईंदै आइएको हुनाले यसलाई ऋषि पूर्णिमा भनेर नामाकरण गरिएको हो।हिन्दु धर्मशास्त्रहरुमा जनै पूर्णिमा(ऋषि पूर्णिमा) बारे पौराणिक कथनहरु धेरै भेटिन्छन जस मध्ये केहीलाई यहां प्रस्तुत गर्ने अनुमति चाहन्छु।
वामन अवताररुपी बिष्णु भगवानले दैत्य सम्राट बलीलाई पाताल पठाएपछि भनेका थिए—बली!बर्षको एक पटक म तिम्रो ढोकाको पहरेदार बन्न पातालमा आऊने छु। आफ्नो यसै भनाई अनुसार भगवान बिष्णु यसै समयमा बैकुण्ठ छोडेर पातालमा गएछन्। बिष्णु भगवान बैकुण्ठमा नदेखेपछि लक्ष्मी आत्तिएर एक साधारन महिलाको भेष धारणगरी उनको खोजी गर्दै पातालमा बली राजा सामु पुगिछन।यो दिन श्रावण पूर्णिमाको दिन परेको रहेछ। लक्ष्मीले मनमनले बिचार गरेर एक्कासी बली राजाको पाखुरामा एक प्रियतम बहिनीको हैसियतले झैं गरी रङ्गी-बिरङ्गी पबित्र धागो(राखी)बांधेर प्रणाम गरिछन्। एक अपरिचित महिलाबाट यस्तो अतुलनीय र महत्वपूर्णको काम भएको देखेर बली राजाले बडो प्रेम भावले लक्ष्मीलाई तिमी को हौ र यहां के कामको लागि आएकी हौ भनी सोधेछन्।लक्ष्मीले आफ्ना पति परमेश्वर बिष्णु भगवानलाई खोज्दै आएकी हुँ, कृपया उनलाई साथमा लिएर जान पाउँ भनिछन।लक्ष्मीको कार्यबाट अति प्रभावित भएर बली राजाले उनको सदिच्छा पूरागर्ने कबुल गरे, जस अनुसार लक्ष्मीले बिष्णु भगवानलाई आफ्नो साथमा बैकुण्ठमा लिएर आएकी थिइन्।
परापूर्वकालमा आफ्नी बैनी यमुनालाई भेट्न भनेर एक समयमा मृत्युदेव यमराज पृथ्वीमा आएछन। उक्त दिन श्रावण पूर्णिमाको दिन परेको रहेछ,बैनी यमुनाले आफ्ना दाजु यमराजको भब्य स्वागत गरिछन र बैनी-दाजु बीचको माया-ममता सदाको निम्ति अटल र अमर रहोस भन्ने प्रतिज्ञा गर्दै दाजुका दाहिने हातको नाडीमा एक सुन्दर र आकर्षक राखी बांधिदिइछन। आफ्नी बैनी यमुनाको यस्तो ममतामयी कार्यबाट अति प्रशन्न हुंदै आजको यस दिन बैनी-दिदीबाट जो पुरुषले आफ्ना हातको नाडीमा राखी धारण गर्नेछ,त्यस पुरुषको चारैतिरबाट सुरक्षा हुनेछ र दिर्घायुको पनि भएर जानेछ भनेर त्यसै दिन यमराजले एक बिशेष घोषणा गरेछन।
जनै पूर्णिमा जस्तो पावन पर्वका दिन पवित्र वेदका मन्त्रहरूद्वारा अभिमन्त्रित गरेर हातको नाडीमा बाधेको तागो,राखी र गलामा धारण गरेको जनैले ब्यक्तिलाई भयबाट, दैवी विपत्तिबाट, सुरक्षित पार्दछ र मन ढुक्क भै आत्मबल बढेर जान्छ भन्ने लोकोक्ति छ। शक्तिशाली गायत्री मन्त्रको जप गर्दा जनैको प्रयोग गर्न अनिबार्य हुन्छ। आज जनै पूर्णिमा जस्तो गरिमामय चाडको यस सुखद घडीमा देश,बिदेशमा छिरलिएर रहने सम्पूर्ण नेपालीहरु प्रति मेरो तर्फबाट यहांहरु सबैको शुस्वास्थ्य,दिर्घायु,अटल शौभाग्य,आरोग्य,ऐश्वर्यको निम्ति मङ्गलाचरण, हार्दिक शुभ कामना सहित सादुभाव अर्पण गर्न चाहन्छु । अस्तु!
प्रतिक्रिया