
काठमाडौं – भारतीय विदेश विभाग प्रमुख विजय चौथाइवालेले प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एमाले अध्यक्ष केपी शर्मा ओली, जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरसँग भेट गरेका छन्।
चौथाइवालेले अन्य राजनीतिक दलका नेताहरूसँग पनि भेट गरेका छन्। भेटपछि उनले आफूले भेट गरेका सबै राजनीतिक दलका शीर्ष नेताले भारतसँगको सम्बन्धलाई अझ सुदृढ बनाउने इच्छा व्यक्त गरेको बताएका छन्।
आइतबार नेपाल भ्रमणमा आएका उनले आइतबार र सोमबार नेपालमा प्रमुख राजनीतिक दलहरुसँग भेटवार्ता गरेका हुन्। मंगलबार पनि चौथाइवालेको भेट विभिन्न राजनीतिक दलका नेताहरूसँग तय भएको छ।
आफ्नो भेटबारे संक्षिप्त प्रेस नोट सार्वजनिक गरेका चौथाइवालेले नेताहरुसँग फरक र विविधता रहे पनि एउटा साझा विषय चाहिँ सबै नेताले भारतसँगको सम्बन्धलाई अझ सुदृढ गर्न चाहेको धारणा व्यक्त गरेको बताएका छन्।
नेपालका नेताहरुले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दुईपक्षीय सम्बन्ध राम्रो बनाउन महत्वपूर्ण भूमिका खेलेको बताउँदै प्रशंसा गरेका थिए।
‘सबै नेताले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भारत र नेपालबीचको सम्बन्धलाई अझ सुदृढ बनाउने प्रतिवद्धताको प्रशंसा गर्नुभएको छ,’ चौथाइवालेले प्रेस नोटमा भनेका छन्।
देउवा, प्रचण्ड, ओली र ठाकुरसँगको भेटमा दलहरूले पार्टी–पार्टीबीचको सम्बन्ध सौहार्द्ध बनाउने प्रतिवद्धता व्यक्त गरेको पनि चौथाइवालेको भनाइ छ।
प्रतिक्रिया