काठमाडौं – नेपालमा कुनै समय राजाहरुको शासन थियो। तर, गणतन्त्रपश्चात जनताले चुनेका प्रतिनिधिले जनताको सेवा गर्छन्। तर, नेपालमा शाहवंशीय राजाहरुको शासन सकिएको १ वर्ष पुग्दा पनि त्यसका अवशेषहरुका विषयमा बहस चलिरहेको छ।
तत्कालीन राजाहरूले राज्याभिषेक गर्दा वा राजगद्दीमामा बस्दा टाउकोमा श्रीपेच पहिरिने चलन थियो। यो चलन रोमन संस्कृति हो। नेपालमा यो परम्परा कहिले भित्रियो भन्ने तथ्य यकिनका साथ भन्न सकिँदैन। देशमा गणतन्त्र स्थापनासँगै शाहवंशका अन्तिम राजा ज्ञानेन्द्र शाहले वि.सं. २०६५ साल जेठ २ गते तत्कालीन गृहमन्त्री कृष्ण सिटौलालाई श्रीपेच जिम्मा दिए।
राजतन्त्र सकिएलगतै नारायणहिटी राजदरबारलाई संग्रहालयका रुपमा विकास गरियो। तत्कालीन राजाहरूले प्रयोग गर्ने सबै समान संग्रहालयमा राखियो। तर, श्रीपेच चाहिँ सार्वजनिक गरिएन। श्रीपेच अहिले पनि बन्द कोठामा राखिएको छ।
बन्द कोठामा राखिएसँगै त्यसलाई नेपाल सरकारले असुरक्षित महशुस गर्दै बिमा गर्ने प्रक्रियाअघि बढायो। तर, मूल्य तय हुन नसक्दा श्रीपेचको बिमा गर्ने काममा अवरोध आयो।
किनभने बिमा गर्न कुनै पनि वस्तुको ठोस मूल्य निर्धारण गर्नुपर्छ। तर, श्रीपेचको मूल्य कति हो भनेर अनुमान मात्र गर्न सकिन्छ। किटान गरेर भन्न नसकिने संस्कृति विभागका अधिकारीहरु बताउँछन्।
बिमा कम्पनीले यसको मूल्य तय गर्न भनेपछि यसलाई बहुमूल्यको नाम मात्र दिन सकेको संग्रहाहलयले यसमा समावेश गरिएका वस्तुहरूको मूल्य आँकलन गर्न सकेपनि श्रीपेचको मूल्य तय गर्न सरकारलाई गाह्रो पर्यो। श्रीपेचमा सुन, चाँदी, हिरा, मोति, पन्नाजस्ता बहुमूल्य धातु हुन्छन्। श्रीपेचमा संसारबाटै लोप हुन लागेको हुमायो चराको प्वाँख राखिएको हुन्छ।
हुमायो चरा संसारबाटै लोप हुन लागेको छ। त्यसैले श्रीपेचको पुनर्निर्माण गर्न असम्भव रहेकाले अहिले पनि सरकारलाई मूल्य निर्धारण गर्न समस्या भएको छ। बिमा गर्ने भनेको क्षतिपछि त्यसलाई पुनर्निर्माणका लागि हो। हुमायो संसारबाटै लोप हुने चरणमा छ, जसकारण प्वाँख पाउन सकिँदैन। त्यसैले श्रीपेच फेरि बनाउन असम्भव छ।
यो श्रीपेच कुन राजाको पालामा निर्माण भएको हो र यसको डिजाइन कसले गरेको भन्ने पनि यकिन प्रमाण रहेको छैन। ‘तर, यो एकदमै बहुमूल्य वस्तुबाट बनेको छ, यसको सुरक्षा र संरक्षण गर्न अति नै आवश्यक देखिन्छ,’ एक संस्कृतिविद् भन्छन्।
प्रतिक्रिया