काठमाडौं, जेठ ७ गते । काठमाडौं महानगरपालिकाको मतगणना जारी रहेको छ । शनिबार बिहान ७ बजेसम्मको आधिकारिक मतपरिणामअनुसार मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन शाहको अग्रता कायमै रहेको छ ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयका शाखा अधिकृत प्रेम कुमार श्रेष्ठले शाहलाई ३१ हजार १४५ मत प्राप्त भएको जानकारी दिएका हुन् ।
उनका अनुसार एमालेका उम्मेदवार केशव स्थापितले १६ हजार ९१८ मत पाएका छन् । काँग्रेसकी सिर्जना श्रेष्ठले १६ हजार ५६२ तथा राप्रपाका उम्मेदवारले २७५५ मत पाएका छन् ।
मतपरिणामअनुसार केशव स्थापित सँग सिर्जना सिंहले मतान्तर घटाएको देखिएको छ । यी दुई उम्मेदवार बीचको मतान्तर ३५६ रहेको छ ।
यसैगरी, उपमेयरमा एमालेकी सुनिता डंगोलले ३१ हजार १११ मत पाउँदा सत्ता गठबन्धनबाट उम्मेदवार बनेका एकीकृत समाजवादी पार्टीका रामेश्वर श्रेष्ठले १० हजार ६७३ मत पाएका छन् । यस्तै राप्रपाका उम्मेदवारले ५ हजार ४८७ मत पाएका छन् ।
यो मत वडा नम्बर १,२,३,४,५,६,७,८,९,१०, २४,२५,२६,१७,१८,२९,३०,३१ र ३२ का गणनाको हो । हालसम्म अन्तिम मत परिणाम घोषणा भइसकेका वडाहरूमा १,२,३,४,५,६,२८,२९,३० र ३२ रहेको श्रेष्ठले जानकारी दिए ।
प्रतिक्रिया