प्रधानमन्त्री निवास बालुवाटारमा पुस १० गते तत्कालीन प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको लामो छलफल चल्यो । कांग्रेस र माओवादीबीच प्रधानमन्त्रीको पहिले बन्ने विषयमा सहमति हुन नसकेपछि प्रचण्ड नेकपा एमालेसहितका दलहरूको सहयोगमा प्रधानमन्त्री बने । तर, प्रधानमन्त्री प्रचण्डलाई काम गर्न सहज भएन । एमाले, राप्रपा र रास्वपालाई प्रभावशाली मन्त्रालय दिनुपर्ने अवस्था सिर्जना भएपछि प्रचण्डलाई सकस सुरु भयो । राजनीति भूमरीमा देश पर्ने चिन्ताले नेपाली कांग्रेस आन्तरिक छलफलमा जुट्यो । कांग्रेसभित्र प्रधानमन्त्री प्रचण्डसँग संवाद गर्नैपर्ने दबाब बढिरहेका बेला सभापति शेरबहादुर देउवा र प्रभावशाली नेता एवं केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतले अग्रसरता लिए । प्रधानमन्त्री प्रचण्डसँग कुरा गर्नुअघि नेता बस्नेतले माओवादी उपमहासचिव वर्षमान पुन अनन्तसँग संवाद गरे । नेताद्वय बस्नेत र पुनको संवादपछि परिस्थिति फेरियो । एकाएक कांग्रेस–माओवादीको सहकार्य सुनिश्चित भयो । त्यसपछि कसरी निर्वाचनमा सहकार्य गरेका दलहरू एकठाउँमा आइपुगे ? पूर्वमन्त्री एवं कांग्रेस–माओवादी सहकार्यका सूत्राधार मोहनबहादुर बस्नेतसँग गरिएको विशेष अन्तरवार्ताः
–कांग्रेस–माओवादीबीच पुस १० गते असहमति हुँदा टुटेको पाँच दलीय गठबन्धन पुनः एकैठाउँमा आइपुगेको छ । अरु तीन दल थपिएर आठ दलीय मोर्चा बनाउनुभयो । यो गठबन्धन कसरी सम्भव भयो ?
–हाम्रा श्रद्धेय नेता, महामानव बीपी कोइरालाले भन्नुभएको छ, ‘हाम्रो विरोध कटुताहीन र सैद्धान्तिक हुनुपर्छ । तर, व्यक्तिगत हुनुहुँदैन ।’ राष्ट्रिय राजनीतिमा समयक्रमसँगै नयाँ–नयाँ परिस्थिति बन्छन् । तर, सम्हालिएर अघि बढ्ने उत्साह राख्नु र राजनीतिक निकासका लागि उच्च सुझबुझ राख्नु चाहिँ राजनीतिक नेतृत्वको जिम्मेवारी हो । नेपाली कांग्रेस पार्टी र श्रद्धेय सभापति शेरबहादुर देउवाजीले यही दूरदर्शिता राख्नुभएको हो । हामीले राजनीतिक निकासका लागि दिशानिर्देश गर्ने, संवाद गर्ने र देशको अहिलेको आवश्यकतालाई बोध गरेर रुपान्तरणको बाटोमा अघि बढ्न प्रेरित गरेका हौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डजीले संसदमा पहिलेका त्रुटी सच्याएर जाने, संविधानको अक्षरसः पालना पर्ने र सबैलाई मिलाएर अघि बढ्र्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । सरकार राम्रोसँग चलाउछु र विकास निर्माणलाई तीव्र गतिमा अघि बढाउने संकल्प उहाँले गर्नुभयो । बिना स्वार्थ काम गर्छु भन्ने उहाँको अभिव्यक्तिको आधारमा मैले संवादको थालनी गरेको हुँ । अर्कोतर्फ सरकार गठनपछि एमालेको गतिविधि त्यति राम्रो भएन । राप्रपा र रास्वपालाई राम्रा मन्त्रालय जिम्मा लगाउने र अस्थिरतामार्फत फेरि कुनै पनि बेला चुनाव हुने अवस्था आउन सक्ने वातावरण बन्दैगयो । प्रधानमन्त्रीजीले एमाले नेताको घरमा दिनैपिच्छे जानुपर्ने अवस्था आयो । कांग्रेसभित्र संविधानको रक्षाका लागि, राजनीतिक स्थिरताका लागि, विकासका लागि कांग्रेसले अग्रसरता दिनैपर्छ भन्ने बहस सुरु भयो । र, कांग्रेसको त्यही अग्रसरताका कारण पाँच दलीय गठबन्धन ब्यूतियो । साथै राष्ट्रपति निर्वाचनका लागि मनोनयनपत्र दर्ता गर्ने समयसम्म आइपुग्दा अरु राजनीतिक दलसँग पनि सहकार्यअघि बढ्यो ।
–सत्ता स्वार्थकै कारण कांग्रेसले विश्वासको मत दियो भन्ने आरोप छ नि ? के भन्नुहुन्छ ?
–प्रधानमन्त्री प्रचण्ड र हाम्रो पार्टी सभापतिले नयाँ राजनीतिक अध्याय सुरु भयो भन्नुभएको छ । यो नयाँ राजनीतिक यात्रा मात्रै होइन, यो त पाँच दलीय गठबन्धनले स्थानीय निकाय, प्रदेश र संघको चुनावमा देशभरि गरेको सहकार्यको शिलशिला पनि हो । निर्वाचनको परिणाम अपेक्षाकृत नभए पनि सकारात्मक रह्यो । तर, शान्तिपूर्ण निर्वाचन गर्नु गठबन्धनको सफलता थियो । नेपाली कांग्रेस ठूलो दल बन्यो । त्यसैगरी नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी लगायतका दलहरूलाई पनि निर्वाचनमा गठबन्धन गरेरै चुनावी अभियानमा निश्चित सिट हासिल भयो । र, त्यसपछि दोस्रो चरण प्रवेश भयो । गठबन्धन भित्रबाट र अरु पनि दलहरू थपिएर सरकार बनाउने तयारी थियो । तर, सरकार बनाउने तयारी गरिरहँदा पुस १० गते सहमति नभएको साँचो हो । प्रधानमन्त्री प्रचण्डजीले विश्वासको मत लिँदा कांग्रेसको साथ खोज्नुभयो । हामीले पनि विश्वासको मत दियौँ । र नयाँ राजनीतिक अध्याय सुरु भयो । यो सत्ता स्वार्थले होइन । राजनीतिक निकास र दलहरूबीचको सहकार्यलाई जीवन्त राख्न हो ।
–पाँच दलीय गठबन्धन जोगाउन नसक्नुमा कसको गल्ती थियो ? त्यो जिम्मेवारी कांग्रेसले लिनुपर्दैन ?
–महत्वपूर्ण प्रश्न गर्नुभयो । हो, नेपाली कांग्रेसभित्रका वार्ताकारहरूले राजनीतिक सुझबुझ राख्नसक्नुभएन । वार्ताकारहरूले जिम्मेवारी निभाउन सक्नुभएन । आउन सक्ने परिस्थितिजन्य क्रियाकलापहरू बुझ्न सक्नुभएन । सरकार बनाउने परिस्थिति रोकियो । र, अर्को परिस्थिति बन्यो । नेपाली कांग्रेस ठूलो पार्टी भएकाले प्रधानमन्त्री र राष्ट्रपति पनि लिनुपर्छ भन्ने केन्द्रीय कार्यसम्पादन समितिको निर्णय थियो । सभापतिजीले पार्टीको निर्णयअनुसार संवाद गर्नुभयो । तर, त्यही बेलामा वार्ताकारहरूले परिस्थितिलाई बुझेर प्रधानमन्त्री प्रचण्डलाई दिनुपर्छ भन्ने दूरदर्शिता राख्नुपर्नेथियो । तत्कालीन अवस्थालाई बुझेर डाइनामिक निर्णय गर्न सक्नुपथ्र्यो । त्यो पतिस्थिति बनेन । प्रचण्डजीले एमालेसँग मिलेर सरकार बन्ने परिस्थिति बन्यो । यो कुरा नेपाली कांग्रेसका कार्यकर्तालाई मन परेको थिएन । अहिले आएर त्यो अवस्था करेक्सन भइसकेको छ ।
–प्रधानमन्त्री प्रचण्डसँग तपाईले संवादको सुरुआत कसरी गर्नुभयो ?
–सरकार गठन भयो । प्रचण्डजी प्रधानमन्त्री बन्नुभयो । सभामुखको निर्वाचन भयो । तर प्रधानमन्त्रीजी दिनमा एकपटक बालकोट जानुपर्ने परिस्थिति बन्यो । प्रधानमन्त्री स्वतन्त्र भएर काम गर्न पाउनु भएन । अर्को कुरा चाहिँ संविधान नै धरापका पर्ने स्थिति सिर्जना भयो । कुनै पनि बेलामा मध्यावधी चुनाव हुने अवस्थाको सिर्जना हुन सक्ने खतरा देखियो । पटक–पटक संसद विघटन गर्ने गरेको, प्रधानमन्त्री जस्तो एउटा गरिमामय पदको मान्छेले पार्टीको एउटा नेताको घरमा धाउनु पर्ने, प्रधानमन्त्रीले स्वतन्त्र रुपमा काम गर्न नपाएको अवस्थामा उहाँलाई सहयोग गर्नु र उत्साह दिनु हाम्रो दायित्व बन्ने नै भयो । त्यसैले राजनीतिक अस्थिरता रोक्न र यो परिस्थितिबाट मुक्ति दिलाउनका लागि कांग्रेसले केही कदम चाल्नैपर्छ भन्ने लाग्यो । यो कुरा मलाई पनि लाग्यो । र मैले सभापतिजीलाई भेटे मुलुक बबार्द हुनलाग्यो । अब हामी केही कदम चाल्नैपर्यो भनेँ । र मैले कुरा राखेँ । उहाँले पनि के गर्ने त ? भन्नुभयो । अब हामीले अर्को विकल्प खोजौँ । फेरि विश्वासको मत दिएर हुन्छ वा अरु केही गरेर हुन्छ, हिजोको गठबन्धनलाई ल्याएर हुन्छ, अब प्रधानमन्त्रीजीसँग वार्ताको वातावरण बनाउनु पर्यो भन्ने प्रस्ताव मैले राखेँ । लगत्तै म वर्षमान पुनजीको घरमा गएँ । हामीबीच लामो कुराकानी भयो । त्यो कुरा मैले सभापतिजीलाई भनेँ । अन्य धरै माध्यमबाट माओवादी नेताहरूसँग कुराकानी भयो । यो कुरा विश्वासको मत दिनुभन्दा दुई दिनअघिको हो । र, प्रधानमन्त्रीजी र सभापतिजीबीच भेटघाट गरेर संवाद अघि बढाउने काम भयो । केही नेताहरूले फरक मत राखे पनि ह्वीप जारी भयो । र, हामीले विश्वासको मत दियौँ । विश्वासको मत दिइसकेपछि हामी सरकारमा जाउँला भनेर कुरा राखेको होइन । हुन त संसदमा केपी ओलीजीले कांग्रेसप्रति एकदमै घोचपेच गरेर कुरा गर्नुभयो । त्यो चाहिँ उहाँहरूको कमजोरी थियो । सुदूरपश्चिमको सरकार ढल्यो । केपीजीले आरोप कांग्रेसलाई लगाउनुभयो । तर, सुदूरपश्चिम प्रदेशको सरकार ढल्नुमा हाम्रो कुनै भूमिका थिएन । संसदमा विश्वासको मत दिएपछि नयाँ परिस्थिति सिर्जना हुन थाल्यो । संवादलाई निरन्तरता दियौँ । र देशलाई निकास दिने ठाउँमा हामी पुगेका हौँ ।
राष्ट्रपतिमै कांग्रेसको दावी किन ?
महामहिम पद राष्ट्रपति भनेको राष्ट्रप्रमुखको जिम्मेवारी हो । अहिलेको राष्ट्रपतिले एमालेको छाँयाको रुपमा काम गर्दै जानु भयो । देश ठुलो राजनीतिक चक्रब्यूहमा फसेको बेला कांग्रेस, माओवादी, एकीकृत समाजवादीसहितका दलहरू सडक आन्दोलनमा जानुपर्ने अवस्था आयो । त्यस्तो नहोस् भनेर नै हामीले राष्ट्रपति दावी गरेका हौँ । अरु पार्टीका नेताहरूले पनि हामी कांग्रेसलाई मत दिन्छौँ भनेर फोन गर्नुभयो । हामीले राष्ट्रपतिको उमेदवारी दिए सहयोग गर्ने वातावरण बन्यो । अब राष्ट्रपतिका कांग्रेसका उम्मेदवारले अत्यधिक मत ल्याएर जित्नुहुन्छ । त्यसपछि मुलुकको संविधानको रक्षा र कानूनको रक्षाका लागि मुलुकको आलङ्कारिक राष्ट्रपतिले भूमिका निभाउनु हुनेछ । राष्ट्रपतिले अप्ठ्यारो पर्दा सल्लाह दिनु बेग्लै कुरा हो । तर सक्रिय रुपमा राजनीतिक भूमिकामा आउने र कसैको पक्ष वा विपक्षमा लाग्ने कुरा राष्ट्रपतिबाट हुनुहुँदैन । अब मुलुकले निकास पाउँछ । अर्काले पायो, यसले पायो, उसले पायो भन्नुभन्दा अब देशको विकास र समुन्नतिको बाटोमा अघि बढ्नेतर्फ हाम्रो ध्यान केन्द्रित हुनुपर्छ ।
–अन्त्यमा, तपाईले भन्नुभयो कि पहिलोचरणमा वर्षमान पुनसँग संवाद गर्नुभयो । त्यसपछि पहिलो पटक विश्वासको मत दिने विषयमा भेट हुँदा प्रधानमन्त्रीजीसँग के विषयमा कुरा भएको थियो ?
–विश्वासको मत दिने विषयमा प्रधानमन्त्रीजीले सकारात्मक रुपमा कुरा गर्नुभयो । उहाँले मलाई विश्वासको मत दिनुहोस्, म त्यो सहयोगलाई विश्वासमा लिएर काम गर्ने वातावरण निर्माण गर्छु भन्नुभयो । म त्यो अवस्थामा वार्तामा उपस्थित नभए पनि त्योबीचमा छलफलमा प्रधानमन्त्रीसँग र दोस्रो तहका नेताहरूसँग निरन्तर संवाद भइरह्यो । वर्षमान पुनजीसँग कुरा हुँदा मलाई लाग्यो– उहाँ निकै राम्रो राजनीतिक सुझबुझ भएको नेता हुनुहुँदोरहेछ । उहाँसँगको छलफलपछि हामीले दोस्रो तहका नेताहरूबीच छलफल चलायौँ । त्यसपछि क्रमशः विगतमा संविधान र लोकतन्त्रको रक्षार्थ लडेका कांग्रेस, माओवादी, एकीकृत समाजवादी पार्टीहरूबीच एकठाउँमा आउने वातावरण बन्यो ।
प्रतिक्रिया