Logo

प्रमुख समाचार

जुनसुकै तह र क्षेत्रमा उम्मेदवारी दिन कार्य योजना प्रस्तुत गर्ने बाध्यकारी व्यवस्था हुनुपर्छः रञ्जीत कर्ण



कांग्रेसको कार्यकारी पदमा उम्मेदवारले सम्पत्ति विवरण बुझाउनुपर्छ’

काठमाडौं, फागुन १४ गते । नेपाली कांग्रेसका नेताहरूले पार्टीको कार्यकारी पदमा उम्मेदवार दिनका निम्ति सम्पत्ति विवरण बुझाउन पर्ने विधानमा व्यवस्था हुनुपर्ने माग गरेका छन् ।

नेपाल विद्यार्थी संघ पूर्व केन्द्रीय समिति (२०६८–२०७३) ले आयोजना गरेको बृहत भेटघाट तथा अन्तरक्रिया कार्यक्रमको घोषणापत्र सार्वजनिक गर्दै नेताहरूले ४० वर्षभित्रका युवालाई ३० प्रतिशत प्रतिनिधित्व सुनिश्चितताको माग गरेको छन् । उनीहरूले युवासँगै विज्ञका निम्ति १० प्रतिशतसम्मको प्रतिनिधित्वको सुनिश्चित गराउन विधानमै व्यवस्था हुनुपर्ने माग गरेका हुन् ।

संविधान सभा सदस्य एवं नेपाली कांग्रेसका नेता रञ्जीत कर्णले नगरकोट घोषणापत्र सार्वजनिक गर्दैै जुनसुकै तह र क्षेत्रमा उम्मेदवारी दिन कार्य योजना प्रस्तुत गर्ने बाध्यकारी व्यवस्था हुनुपर्ने बताएका छन् । कर्णले आरक्षणमा नदोहोरिने व्यवस्था मिलाउन पनि ध्यानाकर्षण गराएका छन् ।

अन्तरक्रियामा वडा तहदेखि संसदसम्मको उम्मेदवार प्रस्तुत गर्न कार्यकालको कार्ययोजना अनिवार्य वैधानिक व्यवस्था गर्ने समानुपातिक निर्वाचन प्रणाली हटाइ संसद संख्या कम गर्ने र उम्मेदवारीमा समावेशीलाई पूर्ण रुपमा लागु गर्ने गरी व्यवस्था मिलाउन संविधान संशोधनमा पहल निर्णय भएको छ ।

नेता कर्णका अनुसार नेपाली कांग्रेसको नीतिः उद्यमशीलता सहितको राजनीति अभियान सञ्चालन गर्ने निर्णय पनि भएको छ । उनले नेपाली कांग्रेसले राष्ट्रिय राजनीतिमा निर्णायक भूमिका निर्वाह गर्न सके मात्र राष्ट्रिय समृद्धिको नेतृत्व पनि लिन सक्ने छलफलको निष्कर्ष सुनाए ।

‘यसका निम्ति पार्टी संगठनको वैचारिक र सांगठनिक क्षेत्रमा आमूल परिवर्तनको आवश्यकता छ । राजनीतिक दलको मस्तिष्क भनेको यसले अङ्गिकार गरेको विचार, सिद्धान्त, नीति तथा कार्यक्रम हुन् । संगठन यसका शारीरिक र भौतिक अङ्गहरु हुन्,’ उनले भने ।

नेता कर्णले कांग्रेसले स्थापनाकालदेखि अङ्गिकार गर्दै आएका नीति तथा कार्यक्रमको गहन अध्ययन गरी तीन तहको सरकारले देश र जनताका निम्ति गर्नु पर्ने नीति तथा कार्यक्रमको बृहत खाका निर्माण गरिने जानकारी दिए ।

उनले पार्टीले आयोजना गरेको न्युनतम ३ वटा कार्यक्रममा सहभागी र १ वटा प्रशिक्षणमा सहभागी भएको मापदण्डका आधारमा सक्रिय सदस्यता वितरण गरी यसलाई थप जिम्मेवार बनाउने अवधारणा प्रस्तुत गरे ।

छलफलमा सहभागी कांग्रेस सहमहामन्त्री किशोरसिंह राठौरले पार्टीमा शुद्धीकरण आवश्यक रहेको बताउँदै नेता कार्यकर्ताले नैतिक मूल्य मान्यताअनुसार नचल्दा समस्या भएको दावी गरे ।

हेर्नुहोस् विज्ञप्ति

नेपाल विद्यार्थी संघ पूर्व केन्द्रीय समिति (२०६८–२०७३) बृहत भेटघाट कार्यक्रम, २०८१ साल फागुन ९ र १० गते, नगरकोट, भक्तपुर ।

वर्तमान राजनीतिक अवस्था, नेपाली कांग्रेस, र हाम्रो भूमिका विषयक समीक्षा ।

आदरणीय पत्रकार मित्रहरू

अधिवेशन, महाधिवेशनहरूले राजनीतिक संगठनका जीवनमा नयाँ उर्जा पैदा गर्दछ । नेपाल विद्यार्थी संगठनको लामो समय सम्म महाधिवेशन हुन नसक्दा नेपाली कांग्रेसले निकै चुनौतिको सामना गर्न परेको थियो । पार्टी भित्रको अन्तरविरोध समेत निकै बढेको अवस्थामा नेपाल विद्यार्थी संघको महाधिवेशन सम्पन्न गर्ने गहन जिम्मेवारीका साथ २०६८ सालमा मेरो नेतृत्वमा नेपाल विद्यार्थी संघ केन्द्रीय समिति निर्माण भयो । पार्टी भित्र विद्यमान असंख्य चुनौतिका वावजुद २०७३ साल श्रावणमा नेपाल विद्यार्थी संघको एघारौँ महाधिवेशन सफलतापूर्वक सम्पन्न गरी निर्वाचन प्रक्रियामार्फत नेतृत्व हस्तान्तरण गरियो । त्यसपछि नेपाल विद्यार्थी संघको महाधिवेशन हुन सकेको छैन । यसबाट पार्टी संगठनले कैयौं चुनौति सामना गर्न परिरहेको छ ।

अहिले नेपालको राष्ट्रिय राजनीति सही बाटोमा अघि बढ्न सकिरहेको छैन । विश्व सूचाङ्कमा नेपाल क्रमशः पछि पर्दै गएको छ । नेपाली कांग्रेसले राष्ट्रिय राजनीतिमा निर्णायक भूमिका निर्वाह गर्न नसकेका कारण यावत समस्या आइपरेको हाम्रो बुझाइ छ । नेपाली कांग्रेसलाई राष्ट्रिय राजनीतिको मियोको रुपमा स्थापित गर्दै पार्टीलाई निर्णायक भूमिकामा पुर्याउनका निम्ति पार्टीभित्र तीव्र बहस, छलफल, संवाद चलिरहेको छ । यसै सन्दर्भमा ऐतिहासिक जिम्मेवारी पुरा गरेर आएको हाम्रो समितिको काँधमा पार्टी राजनीतिलाई थप उचाइमा पुर्याउनका निम्ति स्वभाविक रुपमा जिम्मेवारी रहने गर्दछ । यही कुरालाई दृष्टिगत गरी हाम्रो केन्द्रीय समितिको बृहत भेटघाट तथा पुनर्मिलन कार्यक्रम २०८१ साल फागुन ९ र १० नगरकोटमा सम्पन्न भयो । दुई दिनसम्म चलेको उक्त कार्यक्रममा वर्तमान राजनीतिक अवस्था, नेपाली कांग्रेस र हाम्रो भूमिका विषयक समीक्षा कार्यपत्र प्रस्तुत गरी बृहत छलफल, अन्तरसंवाद गरियो । उक्त छलफलबाट सहभागी साथीहरुले महत्वपुर्ण सुझाव राख्दै पार्टी संगठन सुदृढीकरणका निम्ति नगरकोट घोषणापत्र जारी गरिएको छ । नगरकोट घोषणाले पारित गरेको महत्वपूर्ण बुँदा सार्वजनिक गर्नका निम्ति यो पत्रकार सम्मेलन आयोजना गरिएको छ ।

हाम्रो उद्देश्य:

प्राकृतिक साधन स्रोतले सम्पन्न हाम्रो मुलुकमा नेतृत्वले राम्रो सुझबुझका साथ राज्य सञ्चालन गर्ने हो भने नेपाल उन्नत र विकसित राष्ट्रको तहमा पुग्न धेरै समय लाग्दैन । राजनीतिक हक अधिकार स्थापित गर्दै सम्पूर्ण खाले दमन शोषण, अन्याय, अत्याचारमुक्त समाजको स्थापना पहिलो उद्देश्य रहिआएको छ । त्यसैगरी आर्थिक क्रान्तिमार्फत समृद्ध नेपालको निर्माण र लोककल्याणकारी समतामूलक समाजको निर्माण नै मूल उद्देश्य रहेको छ ।

नेपाली कांग्रेसप्रतिको हाम्रो दायित्व:

नेपाली कांग्रेसले राष्ट्रिय राजनीतिमा निर्णायक भूमिका निर्वाह गर्न सके मात्र राष्ट्रिय समृद्धिको नेतृत्व पनि लिन सकिन्छ । यसका निम्ति पार्टी संगठनको वैचारिक र सांगठनिक क्षेत्रमा आमूल परिवर्तनको आवश्यकता छ । राजनीतिक दलको मस्तिष्क भनेको यसले अङ्गिकार गरेको विचार, सिद्धान्त, नीति तथा कार्यक्रम हुन् । संगठन यसका शारीरिक र भौतिक अङ्गहरु हुन् ।

विचारको बहसः

विश्व दृष्टिकोणका आधारमा राष्ट्रियता, लोकतन्त्र, समाजवादी आदर्श र दर्शनको मूल भावनामा रहेर विचार, सिद्धान्त र आदर्शको समय सापेक्ष व्याख्या, पुनव्र्याख्या र पुनव्र्याख्या पार्टी मुख्य विषय हो । यसका साथै पार्टीले स्थापना कालदेखि अङ्गिकार गर्दै आएका नीति तथा कार्यक्रमको गहन अध्ययन गरी तीन तहको सरकारले देश र जनताका निम्ति गर्नु पर्ने नीति तथा कार्यक्रमको बृहत खाका निर्माण गरिने छ ।

संगठन सुदृढीकरणमा हाम्रो प्रयास र प्रतिवद्धताः

–पार्टीले आयोजना गरेको न्युनतम ३ वटा कार्यक्रममा सहभागी र १ वटा प्रशिक्षणमा सहभागी भएको मापदण्डका आधारमा सक्रिय सदस्यता वितरण गरी यसलाई थप जिम्मेवार बनाउने ।

–४० वर्षभित्रका युवालाई ३० प्रतिशत र विज्ञका निम्ति १० प्रतिशतसम्मको प्रतिनिधित्वको सुनिश्चित गराउन विधानमा नै व्यवस्था गर्ने ।

–पार्टीको कार्यकारी पदमा उम्मेदवार दिनका निम्ति सम्पत्ति विवरण बुझाउन पर्ने विधानमा व्यवस्था गर्ने ।

–वडा तहदेखि संसदसम्मको उम्मेदवार प्रस्तुत गर्न कार्यकालको कार्ययोजना अनिवार्य वैधानिक व्यवस्था गर्ने समानुपातिक निर्वाचन प्रणाली हटाइ संसद संख्या कम गर्ने र उम्मेदवारीमा समावेशीलाई पूर्ण रुपमा लागु गर्ने गरी व्यवस्था मिलाउन संविधान संशोधनमा पहल गर्ने ।

–नेपाली कांग्रेसको नीतिः उद्यमशीलता सहितको राजनीति अभियान सञ्चालन गर्ने ।

–जुनसुकै तह र क्षेत्रमा उम्मेदवारी दिन कार्य योजना प्रस्तुत गर्ने बाध्यकारी व्यवस्था गर्ने ।

–आरक्षणमा नदोहोरिने व्यवस्था मिलाउने ।

जय नेपाल ।

रञ्जीत कर्ण

संविधान सभा सदस्य एवं पूर्वअध्यक्ष, नेपाल विद्यार्थी संघ

प्रकाशित : १४ फाल्गुन २०८१, बुधबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    दुर्गादेवी अधिकारी ९८१५९२९१२४
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल