Logo

राजनीति

पर्यटनसम्बन्धी ऐन संशोधन गर्नुपर्छः एमाले सचेतक बराल



काठमाडौं । नेकपा एमाले सचेतक सुनिता बरालले पर्यटनसम्बन्धी ऐनलाई तत्काल संशोधन गर्न सरकारसँग माग गरेकी छन्।

प्रतिनिधि सभाको शुक्रबारको बैठकमा नेतृ बरालले पर्यटनसम्बन्धी ऐनलाई समयसापेक्ष बनाउन नसक्दा अपेक्षित काम हुन नसकेको यथार्थलाई आत्मसात गर्नुपर्ने बताएकी हुन्। उनले त्यसै कारण समयसापेक्ष ऐन निर्माण गर्न सरकारलाई सुझाव दिइन्।

प्रतिनिधि सभाको शुक्रबारको बैठकमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालय, वन तथा वातावरण मन्त्रालय, खानेपानी मन्त्रालयको विनियोजित बजेटमाथिको छलफल भयो।

सांसद् बरालले पर्यटन क्षेत्रमार्फत् मुलुकलाई समृद्ध बनाउन पनि सरकारले त्यससम्बन्धी ऐनलाई ढिला नगरी अहिलेको आवश्यकतालाई दृष्टिगत गरी ल्याउनुपर्ने बताइन्। उनले नीति बनाउने ठाउँमा रहेका सांसदको मुख्य दायित्व नीति निर्माण गर्ने तथा कानुन बनाउने भएको स्मरण गर्दै पर्यटन क्षेत्र देशको समृद्धिको संकल्प पुरा गर्ने महत्त्वपूर्ण हिस्सा भएको बताइन्।

‘तर पर्यटनसम्बन्धी ऐनलाई समयसापेक्ष बनाउन नसक्दा हामीले अपेक्षित काम केही पनि गर्न नसकेको यथार्थ पनि हामीलाई थाहा छ । हामीले कहिले सोच्ने र कामयावी बन्ने बनेर सबैले सोच्न जरुरी छ,’ उनले भनिन्।

उनले सरकारले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल र भैरहवा विमानस्थल सञ्चालनका लागि बजेटको व्यवस्था नगरेर पर्यटन क्षेत्रप्रति जिम्मेवारी प्रस्तुत नगरेको तर्क गरिन्।

उनले पर्यटन क्षेत्रलाई मुलुकको समृद्धिका लागि प्राथमिकतामा राख्ने नीतिगत व्यवस्था गरिए पनि नीतिअनुसारको व्यवहार हुन नसकेको टिप्पणी गरिन्।

नेतृ बरालले समृद्ध र द्रूततर विकासका लागि पर्यटन क्षेत्रलाई नवीन र रचनात्मक ढंगले अघि बढाउनुपर्ने बताउँदै सरोकारवालाको दक्षता अभिवृद्धि तथा नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठानको कामलाई सरकारले प्रभावकारी बनाउनु पर्नेमा जोड दिइन्।

उनले नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान, जुन पर्यटन क्षेत्रमा तालिम प्राप्त दक्ष उत्पादन गर्नका लागि एउटा स्थापित संस्था भएको बताइन्। ‘अहिले त्यो विस्तार हुनुपर्ने, अझ फराकिलो हुनुपर्ने ठाउँमा त्यसले के गरिरहेको छ भन्ने जानकारी नहुने अवस्थामा छ, हामीले पर्यटन क्षेत्रलाई मुलुकको समृद्धिका लागि प्राथमिकतामा राख्छौँ भनेर नीतिगत रुपमा हाम्रा भाषणमा भनिराख्दा यस्ता खालको संस्थालाई ओझेलमा पर्दा हामी गन्तव्यमा कसरी पुग्छौ ? यो पनि सोच्नुपर्ने हुन्छ,’ उनले भनिन्।

प्रकाशित : १ असार २०८१, शुक्रबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    दुर्गादेवी अधिकारी ९८१५९२९१२४
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल