काठमाडौँ, माघ ६ गते । पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. मिलनकुमार थापाद्वारा लिखित तन्त्र विज्ञान र मन्त्र विज्ञान पुस्तक हिन्दी भाषामा अनुवाद भएको छ । डा. थापाका दुवै पुस्तकलाई हिन्दीमा एउटै पुस्तक ‘तन्त्र र मन्त्र विज्ञान’ प्रकाशन गरिएको हो ।
तन्त्र विज्ञान र मन्त्र विज्ञान नेपालमा सर्वाधिक बिक्री भएका पुस्तक हुन् । डा. थापाको हिन्दीमा अनुवाद गरिएको पुस्तक धार्मिक अभियन्ता गुरु बाबा कालीदास स्वामी कृष्णानन्द परमहंसले मुम्बईमा आयोजित दश महाविद्या विष्णु सहस्त्र कोटी हवन महायज्ञमा लोकार्पण गरेका हुन् ।
पुस्तक लोकार्पण गर्दै काली बाबाले ध्यान, ज्ञान र विज्ञानलाई संश्लेषित रुपमा पुस्तकमा समावेश गरिएको बताएका छन् । साथै उनले नेपाललाई धार्मिक पर्यटनको केन्द्र बनाउन आह्वान गर्दै पर्यटनकै माध्यमबाट आर्थिक रुपान्तरणको नवीन अध्याय आरम्भ गर्न सकिने बताएका छन् ।
लेखक डा. थापाले नेपालको साधना र अध्ययनमार्फत प्राप्त ज्ञानलाई पुस्तकमा समावेश गरिएको बताएका छन् । ‘तन्त्र विज्ञान र मन्त्र विज्ञान दुई वटा पुस्तक हुन् । हिन्दी भाषामा एउटै पुस्तक प्रकाशन भएको छ । समाजका सबै वर्गलाई यो पुस्तक लाभदायक छ,’ उनले भने ।
डा. थापाले नेपाली पाठकमाँझ सर्वाधित लोकप्रिय रहेका तन्त्र विज्ञान र मन्त्र विज्ञानलाई भारतमा रहेका पाठकलाई पनि लाभ मिल्ने भएकाले हिन्दी भाषामा अनुवाद गरिएको बताए । उक्त पुस्तक श्री हनुमान तन्त्र शिवशक्ति साधना तथा रिसर्च सेन्टरले प्रकाशन गरेको हो ।
शिवसेना नेपाल सम्पर्क प्रमुख एवं नेपाल नागरिक समाज भारतका अध्यक्ष अशोक सिंह नेपालीले दशमहाविद्या विष्णुसहश्रकोटी हवन महायज्ञका अवसरमा तन्त्र र मन्त्र विज्ञान पुस्तक लोकार्पण गर्दा यसको लोकप्रियता भारतभरिका धार्मिक आस्थावानमा फैलिने बताउनुभयो । उहाँले महायज्ञको आयोजना भइरहँदा परम्परा, धर्म, संस्कृतिका सन्दर्भमा विमर्श हुनुले अत्यन्तै सकारात्मक सन्देश प्रवाह हुने बताउनुभयो ।
प्रतिक्रिया