कृष्णप्रसाद पाठक
तिमीमा यत्रो हिम्मत कसरी आयो?
हामी कसैको जरुरत नपर्ने
घरका सारा परिवारसँगै थियौँ
तर पनि तिम्रा ती आँखाहरुले
हामी कसैलाई किन देखेन!
यति धेरै आफन्तहरु थियौँ
नाता कुटुम्ब थिए
कसैलाई एक बचन त सोध्न सक्थ्यौँ
कि अब तिमीलाई हामी कसैको
कहिल्यै जरुरत पर्दैन भन्ने छ
किन बौलायौ? किन पागल भयौ?
किन तिम्रो होसहवास् उड्यो
आखिर हामी सबै सन्तान घरमै थियौँ
तर पनि तिमीलाई हामीसँग
रत्तिभर विश्वास भएन हो कि?
के कुराको कमी थियो हामीसँग?
तिमीले जे भनेको भए पनि मान्थ्यौँ
आफूलाई जे चाहिएको थियो
त्यसैमा एकहोरो जिद्दी गर्यौं हैन?
तिम्रो जिद्दीले हामीलाई
कत्ति धेरै दुखी र खण्डित बनायो?
छोरा–बुहारी, छोरी–ज्वाइँ, नाति–नातिना
को थिएनन् र तिमीसँग
मात्र एकहोरो टोलाएर बस्यौ
एक शब्द हामीलाई सोधिनौँ
हामीलाई भन्ने मन थिएन भने पनि
भाई भतिजा, छरछिमेकी थिए
यी कसैको प्रवाह भएन, मतलब भएन!
तिमी त साह्रै मतलबी पो रहिछ्यौ!
तिमी त घरकी मूली मान्छे
सन्तानप्रति कस्तो विश्वास थियो पहिले
आज तिमीलाई के भयो?
किन एकपटक पनि सोधिनौ, भनिनौ
म यस्तो निर्णय गर्दैछु भनेर
ख्यालख्यालमा कति कठोर निर्णय गर्यौ!?
यति धेरै धन सम्पति थियो
कति सुन्दर घरवार थियो
के पुगेन र आफ्नो संकल्पमा
चट्टान झै अटल बन्यौ
किन बोल्दिनौ? किन मुख खोल्दिनौ
ट्वाल्ल परेर हेरी मात्र रहन्छ्यौ
मेरो माया लागेन तिमीलाई?
तिमी पापी र अधर्मी रहिछ्यौ
छलकपट गर्न निकै राम्ररी आउँदोरहेछ।
अब हामीले के नै पो भन्न सक्छ्यौँ
न त तिम्रा लागि के नै पो गर्न सक्छौँ
जाऊ! तिम्रो इच्छा पूरा होउन्
तिम्रा चाहना पूरा हुन्
हामी कोही चाहिएन् तिमीलाई
हामीबाट दिक्क हुने गरी
अघाएकी रहिछ्यौ पत्तै भएन।
तिमीसँगै बस्ने हाम्रो चाहनामा
बज्रपात गर्यौ तिमीले
झिरले रोपेझैँ गरेर
नराम्ररी चोट र पीडा दियौ हैन
अब हामीले तिमीलाई फर्काउन सक्दैनौँ
न त तिमिलाई तिम्रो
महायात्रामा रोक्न नै सक्छौ?
बुवाले यस्तै निर्णय लिनु भो
तिमीलाई हेरेर चित्त बुझाएका थियो
हाम्रो सबैथोक तिमी नै थियौ
यही विश्वास गर्यौं
आज तिमीले बुवालेझैँ निर्णय गर्यौं
हामी स्तब्ध र मर्माहत भयौँ
जाउँ आमा तिम्रो महायात्रामा
हामी सामेल हुन नै सक्दैनौं
त्यसैले आँशुका बलिन्द्र धारा
बहाउँदै र तिमीलाई भिजाउँदै
भावपूर्ण श्रद्धाञ्जलि छ आमा
तिम्रो बैकुण्ठमा बास होस्
आमा स्वर्गमा बाँस होस्।
(आमा स्व गंगादेवी आचार्य पोखरेलको निधनमा छोरीको बिलौना)
प्रतिक्रिया