गैरआवासीय नेपाली संघ एनआरएन अध्यक्षका प्रत्याशी
‘उद्देश्य के लिनु उडी छुनु चन्द्र एक’
महाकवि लक्ष्मीप्रसाद देवकोटाको प्रश्नोत्तर शैलीको कविताको उक्त पंक्ति गैरआवासीय नेपाली संघका उपाध्यक्ष एवं बेलायतका सफल व्यवसायी कुल आचार्यको संघर्ष र सफलताको कथासँग ठ्याक्कै मिल्छ। कहिल्यै नथाक्ने संघर्ष, निरन्तरको मिहनत अनि अविचलित समर्पणले कुललाई सफलताको शिखरमा पुर्याएको छ।
पर्वतको सामान्य पृष्ठभूमिका आचार्य आफ्नै कर्मले चम्किएका हुन्। सभ्रान्त पृष्ठभूमि तथा राजनीतिक सक्रियताले होइन, आफ्नै पौरखले गैरआवासीय समुदायमा लोकप्रिय कुलको आफ्नै खालको छवि छ।
सरल स्वभाव, सहयोगी भावना र परिश्रमी सोचले गर्दा उनी गैरआवासीय समुदायबीच स्थापित मात्रै होइन, लोकप्रिय पनि छन्।
गैरआवासीय नेपालीका हरेक समस्यामा कुल साथी हुने गरेका छन्। जहाँ–जहाँ नेपालीलाई समस्या हुन्छ, त्यहाँको कुलको सम्झना हुन्छ, अनि त्यहाँ पुग्छन्, उनी।
‘अहिलेको अवस्थामा आइपुग्न मैले लामो संघर्ष गरेको छु, अहिले पनि मेरो संघर्ष जारी छ,’ आचार्यले भने, ‘म परिश्रम र पौरखले स्थापित भएको हुँ।’
करिव दुई दशक हुन लाग्यो, पर्वतको विकट गाउँ धाइरिङमा जन्मिएका आचार्यले बेलायतलाई आफ्नो कर्मभूमि बनाएको। अहिले एनआरएनएका अध्यक्षमा दाबेदारी प्रस्तुत गरिरहेका आचार्य विश्वव्यापी चुनावी दौडाहामा छन्।
संघर्षलाई उनी प्रेरणा मान्छन्। सफलताबाट हौसिँदैनन्, बरु जिम्मेवारी बढेको ठान्छन्। जिम्मेवारी पूरा गर्ने र संघर्षबाट अघि बढ्ने संकल्प र अठोट अनि आत्मविश्वासले नै आचार्यलाई एउटा किसान परिवारको सदस्यबाट बेलायतको सफल र स्थापित व्यवसायी बन्न सफल भए।
‘संघर्षले मानिसलाई सतिसाल जस्तै बनाउँदो रहेछ, समयसँगै सफलता हात लाग्दो रहेछ,’ उनी भन्छन्।
करिव दुई दशक हुन लाग्यो, पर्वतको विकट गाउँ धाइरिङमा जन्मिएका आचार्यले बेलायतलाई आफ्नो कर्मभूमि बनाएको।
अहिले एनआरएनएका अध्यक्षमा दाबेदारी प्रस्तुत गरिरहेका आचार्य विश्वव्यापी चुनावी दौडाहामा छन्।
संघर्षपूर्ण बाल्यकाल
पर्वतको धाइरिङ, पञ्चायतकालमै शिक्षा र सामाजिक जागरणका लागि लडेको गाउँ। त्यही गाउँबाट काठमाडौं पुग्दा एउटा कलिलो किशोरले धाइरिङदेखि बेलायतसम्मको आचार्यको संघर्षपूर्ण यात्रा कठीन भए पनि प्रेरणादायी छ।
बाल्यकालमै आचार्यले निकै संघर्ष गर्नुपर्यो। पारिवारिक जिम्मेवारी बहन गर्ने क्रममा १२ वर्षकै उमेरमा उनको विवाह भयो। पढ्ने उमेरमा घरको जेठो छोराको जिम्मेवारी किच्यो।
अब उनी घरको जेठो छोरा मात्रै थिएनन्, कसैका श्रीमान् पनि थिए, जुन जिम्मेवारीको पालना गर्नु उनको दायित्व बनेको थियो। तर, यो संयोग दुई वर्षमै वियोगान्तमा परिणत भयो।
उनकी श्रीमती मोनाको निधन भयो। त्यसपछि उनको जीवनमा नयाँ संघर्षका अनेकन अध्याय सुरु भए, जुन अहिले पनि जारी छ।
जुन स्कुलमा पढे, त्यसैमा पढाए
२०१८ सालमा कुरा हो। पर्वतको धाइरिङ गाउँमा एउटै विद्यालय थिएनन्। कुल आचार्यका बुवा धर्मनाथ उपाध्यायले स्कुल खोल्न पहल गरे। तर, पञ्चायतलाई रिझाएर स्कुल स्थापना गर्नु निकै कठिन थियो।
ज्योतिष तथा पण्डित धर्मनाथले गाउँमा शिक्षाको ज्योति छर्ने अभियानको थालनी गरे। र, स्थापना भयो, कृष्ण भवन प्राथमिक स्कुल।
आचार्यले पनि कृष्ण भवन प्राविमै कक्षा–७ सम्म अध्ययन गरे। माझफाँट माविबाट एसएलसी पास गरेका आचार्य प्रविणता तह (आइए) अध्ययनका लागि बागलुङस्थित महेन्द्र बहुमुखी क्याम्पसमा भर्ना भए।
‘गाउँमा सबैलाई साथ–सहयोग गर्दै अघि बढ्दै थिएँ, अचानकै विदेश जाने संयोग जुर्यो,’ आचार्य भन्छन्, ‘कर्म गर्न जहाँ गए पनि मातृभूतिप्रतिको अथाह श्रद्धाले बेला–बेला झक्झक्याइ रह्यो, जन्मथलोको माया छातीभरि राखेर कर्मकथाहरु लेख्दै गएँ र नै अहिले यतिका साथीहरु कमाएको हुँ।’
तर, आइए पढ्दा–पढ्दै आचार्यले अर्को वियोग व्यहोर्नुपर्यो। उनका बुवा धर्मनाथको निधन भएपछि पढाइ रोकेर उनी गाउँ फर्किए। ‘अरु कुनै विकल्प थिएन, बुवाको निधनपछि गाउँ फर्किएँ, अनि पढाउन थालेँ,’ उनले भने।
धाइरिङबाट बेलायतसम्मको यात्रा
ग्रामीण ऋणग्रस्तता, अशिक्षा र अभावका दैनिकीहरु। एउटा किशोरका लागि योभन्दा ठूलो विचलनको कारक के नै हुन सक्छन्! तर, त्यही विचलनले सम्भावनाका ढोकाहरु पनि खुलाउँदो रहेछ।
वि.सं. २०५६ को कुरा हो। आचार्य गाउँमै केही गर्ने सोच हुँदा–हुँदा पनि थातथलो छोड्न बाध्य भए। विदेश जाने सोच बोकेर काठमाडौं आएका थिए उनी।
‘केही साथीहरुलाई विदेश पठाउनका लागि काठमाडौं आएको थिएँ, तर साथीहरुले विदेश जाउँ भनेर हौस्याएँ,’ आचार्यले भने, ‘त्यसपछि विदेश जाने सुनसार कसियो।’
काठमाडौंमा बस्दा साथीहरुबाट पाएको सुझावले आचार्यले पनि विदेश जाने निर्णय गरे। अनि पहिले गन्तव्य बनाए, युरोपेली मुलुक बेल्जियम।
‘गाउँमा सबैलाई साथ–सहयोग गर्दै अघि बढ्दै थिएँ, अचानकै विदेश जाने संयोग जुर्यो,’ आचार्य भन्छन्, ‘कर्म गर्न जहाँ गए पनि मातृभूतिप्रतिको अथाह श्रद्धाले बेला–बेला झक्झक्याइ रह्यो, जन्मथलोको माया छातीभरि राखेर कर्मकथाहरु लेख्दै गएँ र नै अहिले यतिका साथीहरु कमाएको हुँ।’
बेल्जियम आचार्यका लागि ‘ट्राञ्जिट’ मात्रै भयो। उनी बेल्जियममा धेरै बसेनन्, लागे जर्मनीतिर। तर, भाषाको ज्ञान नहुँदा त्यहाँ पनि निकै कठिन दैनिकीहरु उनले झेल्नुपर्यो। दुई वर्षपछि जर्मनीको सकसपूर्ण बसाइपछि उनी सिधै बेलायत हानिए।
जर्मनीभन्दा बेलायत केही सजिलो छ, नेपालीहरुका लागि। कम्तिमा नेपालीहरु भेटिने हुँदा अरु केही नभए पनि उर्जा चाहिँ प्राप्त हुन्छ नै। आचार्यलाई लाग्यो– अंग्रेजी पनि सिक्ने, काम पनि गर्ने, अब बेलायत नै हो गन्तव्य। नभन्दै उनी बेलायत पुगेपछि केही राहत महसुस भयो।
‘बेलायत पुगेपछि गाउँकै दाइहरुले सुपरमार्केटमा काम खोजिदिनु भयो, राहत भयो मलाई, एक हप्तामा दुई सय ५० पाउण्ड तलब आउने भयो,’ आचार्यले भने, ‘तर त्यहाँ पनि मैले धेरै समय काम गरिनँ, मेरो लक्ष्य सेफ बन्ने थियो।’
परिश्रमले दिलायो सफलता
बरु भाँडा माँझ्ने, तर एकदिन सेफ बनेरै छाड्ने अठोटका साथ लण्डन छिरेका कुल अन्ततः त्यही फिल्डमा स्थापित भए। रातदिनको अथक संघर्षले नै अहिले सफल व्यवसायी बनेका छन् उनी।
सुरुमा रची नामको रेस्टुरामा ८० पाउण्डमा काम गर्न थाले आचार्य। त्यसमा उनको एउटै लक्ष्य थियो– किचनमा पनि सहयोग गर्ने र सेफ बन्ने। आचार्यका अनुसार रचीमा तीन महिना काम गरेपछि उनी बम्बई बाइसाइकल क्लब नामको अर्को रेस्टुरा गए। त्यहाँ किचन हेल्परको जिम्मेवारी पाए।
‘सियो बनेर पस्नु फाली भएर निस्किनु’ भन्ने नेपाली उखानझैँ बम्बई बाइसाइकलको ६ वर्षे करियर उनको जीवनको नयाँ सफलता बनिदियो। आचार्य किचन हेल्परबाट हेड सेफ बन्न सफल भए।
‘जतिसम्म गर्नु थियो, कुनै कसर बाँकी नराखी गरेँ,’ उनले भने, ‘त्यसैको प्रतिफल अहिले बेलायतमा धेरै साथीहरु कमाएको छु, विश्वभरिका गैरआवासीय नेपाली साथीहरुको माया पाएको छु, आर्थिक र धनसम्पत्ती मात्रै सबै कुरा होइन।’
सन् २००६ आचार्यको जीवनमा नवीन उर्जा र लक्ष्य पूरा गर्ने वर्ष बनिदियो। सोही वर्ष उनले रेस्टुरेन्ट सञ्चालनमा ल्याए। आचार्यले अफगानस्तानका एक व्यवसायीसँग साझेदारी गरेर होली काऊ रेस्टुरेन्ट सुरुआत गरे। आफै मालिक भएको चार वर्षपछि होली काऊ रेस्टुरेन्टका सात वटा शाखा विस्तार गरे।
बेलायत बसाइको दुई दशकमा आचार्य सफल रेस्टुरेन्ट व्यवसायी भए। बेलायतमा रहेका मात्रै होइन, जुनसुकै ठाउँबाट त्यहाँ पुग्ने नेपालीहरुले ‘होली काउ’ रेष्टुरामा पुग्ने गर्छन्। त्यही होली काऊका प्रबन्ध निर्देशक हुन् आचार्य।
हेल्परबाट सुरुआत, भए मालिक
६ वर्षसम्मको अनुभव, लगन र परिश्रमले बेलायतको समाजमा आचार्यको ख्याती बढिरहेको थियो। त्यसबीचमा ‘इभिनिङ स्ट्याण्डर्ड’ पत्रिकाले आचार्यको कर्मकथा छाप्यो, जुन उनका लागि काममा थप उत्साहित भएर लाग्न प्रेरित गर्ने माध्यम थियो।
आचार्यको ख्याती बढ्दै जाँदा उनका विषयमा समाचारहरु पनि प्रकाशित हुने क्रम बढ्दै गयो। ‘यो सबै मैले गरेको मेहनतबाटै सम्भव भएको हो,’ उनले भने, ‘मैले चार तहमा समय व्यवस्थापन गरेर काम गरेकैले अहिले व्यावसायिक उन्नति मिल्यो।’
६ वर्ष काम गरेको अनुभव। किचन हेल्परबाट हेडसेफ। अब सफलताको कथा लेख्न एउटा खुट्किलो मात्रै बाँकी थियो कुल आचार्यका लागि।
सन् २००६ आचार्यको जीवनमा नवीन उर्जा र लक्ष्य पूरा गर्ने वर्ष बनिदियो। सोही वर्ष उनले रेस्टुरेन्ट सञ्चालनमा ल्याए। आचार्यले अफगानस्तानका एक व्यवसायीसँग साझेदारी गरेर होली काऊ रेस्टुरेन्ट सुरुआत गरे। आफै मालिक भएको चार वर्षपछि होली काऊ रेस्टुरेन्टका सात वटा शाखा विस्तार गरे।
‘होली काऊको आफ्नै फुड र डेलिभरी सेवा रहेको छ, डेलिभरी नामक प्लेटफर्म कम्पनीबाट होली काऊका परिकार ग्राहकसम्म पुर्याउने गरिन्छ,’ उनले थप प्रष्ट पारे।
सन् २०१३ मा बेलायती सांसदहरु रहेको टिफिन क्लबले प्रदान गर्ने अवार्डबाट सम्मानित भइसकेको होली काऊलाई युरोपभरि विस्तार गर्ने लक्ष्य उनले राखेका छन्। ‘पोर्चुगल फ्रेन्चाइज सुरु भइसकेको छ, अब अन्य देशमा,’ उनले भने।
गैरआवासीय नेपालीको पक्षमा
एनआरएनए उपाध्यक्ष आचार्यले अहिले अध्यक्षमा उम्मेदवारी दिने तयारीमा छन्। सन् २००३ देखि गैरआवासीय नेपाली संघमा आबद्ध रहेका आचार्य सन् २००७ देखि निरन्तर सक्रिय छन्।
‘गैरआवासीय नेपालीहरुप्रति हाम्रो जिम्मेवारी छ, त्यही जिम्मेवारी पूरा गर्न नै म संगठनमा सक्रिय रहँदै आएको हुँ,’ उनले भने।
गैरआवासीय नेपाली संघ बेलायतको सदस्य रहेर संगठनमा प्रवेश गरेका आचार्यले पछि सोही कमिटीको नेतृत्व गरे। सक्रियता बढ्दै जाँदा युरोप संयोजकको जिम्मेवारी कुशलतापूर्वक निभाएका आचार्य अहिले एनआरएनएको उपाध्यक्ष छन्।
‘नागरिकताको सवाल, गोर्खा तथा अन्य विविध विषयहरुलाई सम्बोधन गर्नुछ,’ आचार्यले भने, ‘अब एनआरएनएको नेतृत्व गर्दै ती योजनाहरुलाई कार्यान्वयनतर्फ लाने छु।’
गैरआवासीय नेपाली संघका ६ वटा निर्वाचनमध्ये तीन निर्वाचनमा सर्वसम्मत तथा तीन निर्वाचनमा लोकप्रिय मतसहित विजय हासिल गरेका थिए आचार्यले। जीवनका अनेक अग्निपरीक्षा सफल आचार्य अर्को अग्निपरीक्षाको संघारमा छन्।
प्रतिक्रिया