दूर दराजका बस्तीहरुबाट एउटा हलमा शिक्षक भेला पार्ने, ल्यापटप र प्रोजेक्टर जोड्ने, पावर प्वाइन्टमा स्लाइड प्रदर्शन गर्ने, सहभागी शिक्षकलाई दुई पैसा दिने, चार पैसा निकालेर शिक्षकले खर्च गरेर तालिम पूरा गर्ने, प्रशिक्षण दिनेको गोजी अलि मोटो बनाउने, त्यो भन्दा पनि माथि गएर कोर्स डिजाइन गर्नेले मोटो दाम असुल्ने, त्यसभन्दा पनि माथि अनुगमनका नाममा ब्रह्मलुट गर्ने प्रचलन अहिले पनि विद्यमान छ। शिक्षक तालिमका नाममा गरिएको यो लगानी त्यति चित्तबुझ्दो भएन। विद्यालय क्षेत्र सुधार योजनाले जे गर्यो विद्यालय क्षेत्र विकाय योजनाले त्यही गरिरहेको पाइयो।
हालसम्मका तालिमहरु बढी सैद्धान्तिक भए। त्यस्तो तालिमले तालिम लिनेहरुमा शिक्षणको कुशलता विकास गरेन बरू नीति निर्मातालाई भरण पोषण गर्यो। तालिम सिकाइको सुधारमा केन्द्रित भएन। प्रविधिको विस्तारमा केन्द्रित भएन। अहिलेसम्म तालिमका नाममा शिक्षकलाई पूरै अल्मल्यायो। मात्र ज्ञान दियो, न सीप सिकायो न त कुशलता। अब शिक्षकलाई तालिम दिने नै हो भने प्रविधियुक्त व्यवहारिक तालिम आवश्यक छ। यस युगको हरेक शिक्षक प्रविधिमा अनिवार्य प्रवेश गरेको हुनुपर्छ।
व्यक्तिमा भएको ज्ञान, सीप र योग्यतालाई परिष्कृत गर्ने वा पुनर्ताजगी गर्ने साधन तथा माध्यमका रुपमा तालिमलाई लिने गरिन्छ। आफूले सम्पादन गर्नुपर्ने कार्यका लागि आवश्यक ज्ञान, सीप र योग्यता प्राप्त गर्ने प्रक्रियाको रुपमा तालिम सञ्चालन हुनुपर्छ।
ल्यापटप र प्रोजेक्टरको प्रयोग गरेर तालिम दिइयो र भनियो हामी प्रविधितिर प्रवेश गर्यौँ। तर, तालिम लिनेले त्यो प्रविधि छुन पाउँदैन भने त्यो प्रविधि कसरी कक्षाकोठामा पुग्छ? तालिम कसरी उपलब्धिमूलक हुन्छ? तालिम दिनका लागि प्रविधिको प्रयोग त भयो तर शैली फेरिएन, तरिका पुरातन नै रह्यो। प्रविधिको प्रयोग तालिम हलमा होइन कक्षाकोठामा पुग्नु पर्यो। पाठ्यक्रम फेरियो, विषयवस्तु फेरियो तर विधि र प्रविधि फेरिएन। तालिम प्रदान गर्ने शैली फेरिएन।
नेपालमा सञ्चालित योजना परियोजनाको सफल कार्यान्वयन भएको फाइँफूर्ती कागजी घोडाले देखायो। तालिमप्राप्त शिक्षकहरुको आँकडाले संख्यात्मक उपलब्धी ठूलो देखियो। तर, तालिमका उपलब्धी कक्षाकोठामा कार्यान्वयनको समस्या ज्यूँ का त्यूँ छ। तालिम योग्यता प्राप्त गर्ने माध्यम मात्र बन्यो, कुशलता प्रदर्शनको आधार बनेन।
युग सुहाउँदो जनशक्ति उत्पादन गर्ने हो भने सिकाइ प्रविधिमैत्री हुनैपर्छ। प्रविधिभित्र शिक्षण सिकाइलाई कसरी लैजाने? प्रविधिको प्रयोग कसरी गर्ने? प्रविधि कक्षाकोठामा कसरी भिर्याउने? परम्परागत रुपमा प्रयोग भइरहेको साधन र सामग्रीलाई कसरी विस्थापित गर्ने? फ्लास कार्ड, चार्ट र चकको युगको अन्त्य कसरी गर्ने भन्ने विषयमा तालिम केन्द्रित हुनुपर्दछ।
नेट, इन्टरनेट, ल्यापटप, प्रोजेक्टर, स्मार्ट बोर्ड आदिको प्रयोगले मात्र अबको शिक्षण प्रभावकारी बन्न सक्छ। प्रविधियुक्त शिक्षामात्र उपलब्धिमूलक हुन सक्छ। प्रविधिभन्दा बाहेकको शिक्षाले उपलब्धी दिन नसक्ने भइसक्यो। यति हुँदाहुँदै पनि विद्यार्थी आफ्नो व्यक्तिगत प्रयासले प्रविधिभित्र छिरिरहेको छ। शिक्षक निराशावादी सोचमा कालोपाटी मस्काउँछ, चकको धुलो टक्टक्याउँछ, मार्करमा टुँडो सोझ्याउँदै लेखेर देखाउँछ। घोक्रो फुट्ने गरी कराउँछ। सिर्कनो बोकेर विद्यार्थी थर्काउँछ।
अझ अर्को कुरा त के हो भने शैक्षिक सामग्रीको अधिकतम प्रयोग, स्थानीय सामग्रीको प्रयोग, कम मूल्य वा मूल्य नपर्ने सामग्रीको प्रयोग भनी गरिएको व्याख्या अव गलत सावित भइ सकेको छ। कागजका टुक्रा, छेस्का, ढुंगा, काठका टुक्रा, चक डस्टर र धूलो, कालोपाटी जस्ता कुराले न विद्यार्थीको ध्यान आकर्षण गर्न सक्छ? न त शिक्षकमा जाँगर नै भर्न सक्छ? इन्टरनेटको प्रयोग गरी हातमा ट्याब वा पामटप चलाएर खोजिने विषयवस्तुबाट विद्यार्थीलाई समस्याको समाधान गर्न लगाउने दिन आइसकेको छ। समाजभित्र घुलमिल गराएर सामाजिकीकरण र देश घुमाएर वस्तुस्थितिको अध्ययन गराउने दिन आइसकेको बेला पाठ्यपुस्तकको हावादारी सिद्धान्त घोकाउनुले पूर्ण व्यवहारिकता विकास गर्न सक्दैन।
शिक्षक सक्षमता प्रारुप २०७२ ले शिक्षक सक्षमताका ८ वटा आधारहरु तय गरेको छ। जसमा विषयवस्तुको ज्ञान, शिक्षण सिकाइको तौर तरिकासम्बन्धी ज्ञान, विद्यार्थीको पृष्ठभूमि (बालबालिका–सिकारुसम्बन्धी ज्ञान), सिकाइ वातावरण तथा कक्षा व्यवस्थापन, सञ्चार र सहकार्य, निरन्तर सिकाइ र पेशागत विकास, कानुनी आधार तथा पेशागत आचारसंहिता, सूचना र सञ्चार प्रविधिको ज्ञान अनिवार्य हुनुपर्ने उल्लेख गरेको छ।
शिक्षकका सक्षमताहरुमा अन्त्यतिर लेखिएको सूचना र सञ्चार प्रविधिको ज्ञान अहिलेका शिक्षकको मुख्य सक्षमता हो। एक्काइसौं सताब्दी सुहाउँदो प्रविधिको प्रयोगलाई तालिम कार्यक्रमले समेट्न सकेन। अब इन्टरनेट, ल्यापटप, प्रोजेक्टर, मल्टिमेडिया, इन्टरएक्टिभ बोर्ड प्रयोग गरेर प्रभावकारी शिक्षण गर्न सक्ने सक्षम शिक्षक विकासकालागि तालिम प्याकेज निर्माण हुनुपर्छ। विद्यार्थीलाई चाहिने विषयवस्तु पाठ्यक्रम विकास केन्द्रको वेबसाइटमा प्रशस्त राखेको हुनुपर्छ। विद्यार्थीले त्यहीँ खोज्ने र रमाउने वातावरणको सिर्जना भने शिक्षकले गर्नुपर्छ।
यसका लागि कार्यरत शिक्षकलाई एक पटक प्रविधिको तालिम प्रदान गरिसकेपछि नयाँ नियुक्त हुने शिक्षकमा प्रविधिको न्यूनतम योग्यता अनिवार्य राखिनुपर्छ। सूचना र प्रविधिको ज्ञान शिक्षकमा दिइ सकेपछि तालिम मार्फत अद्यावधिक हुनुपर्ने कुराहरु तथा तालिमका प्याकेजहरु इन्टरनेटका माध्यमबाट प्रदान गर्नुपर्छ। भत्ता र टिएडिए दिने खर्चले विद्यालयलाई प्रविधिको खरिद गरिदिनु पर्छ। प्रविधिको पहुँच विस्तार गर्ने हैसियत राज्यले राख्नुपर्छ। शिक्षक भेला पार्ने र विदेशी दाताको अनुदान रकमको दोहन गर्ने कार्य अब अन्त्य हुनुपर्छ।
अबको राज्यले शिक्षकलाई प्रविधिको तालिम दिनैपर्छ, सूचना प्रविधिको व्यवस्थापन गर्नैपर्छ, शिक्षकले सूचना र प्रविधिको प्रयोग गर्नै पर्छ, सूचना र प्रविधिको प्रयोगबाट विद्यार्थीलाई शिक्षा दिनैपर्छ। अन्यथा पुरातन शैलीको तालिम पचासौँ वर्षसम्म चलाए पनि तालिमका नाममा गरिएको लगानी बालुवामा पानी बराबर बन्ने निश्चित छ। राज्यले तालिमका नाममा विनियोजित बजेट ठूलाठालुको वरिपरि घुमाएर बजेट सक्ने युगको अन्त्य गर्न आवश्यक छ।
प्रतिक्रिया