धरहरालाई बिम्ब बनाई कविता लेख्थें
र जागिरबाट साँझ घर फर्किदा
रत्नपार्कमा माइक्रो बस पर्खिदै गर्दा
पश्चिम फर्केर त्यसैलाई हेर्थें
हरेक साँझ धरहरा मलाई नयाँ लाग्थ्यो।
त्यो जति अग्लो थियो
त्योभन्दा पनि धेरै अग्लो थियो रे पहिला
सधैं दिमागमा प्रश्न उभिन्थ्यो
भीमसेन थापाको आदेश पाउँदैमा
के त्यत्तिकै ठडिएको होला धरहरा!
आदेशमा आफै उभिने हो र धरहरा!
धरहरा एक्लै धरहरा थियो कि!
त्यसलाई उभ्याउने कला र पाखुरा थिए धरहरा!
धरहरा उभिनुभन्दा पहिल्यै धरहरा थियो कि
त्यसलाई उभ्याउने काँध र बलिष्ठ तिघ्राहरू थिए धरहरा !
धरहरा जमिन मुनि जगमा उभिनु अघि
धरहरा कुनै कलाकारको नक्सामा उभिनु अघि
कहाँ उभिएको थियो होला धरहरा!
धरहरा भिमसेन थापाको आदेशमा उभिएको थियो कि!
फेददेखि टुप्पोसम्म फर्मा र मसला आसार्नेहरूको
हत्केला र पाखुरामा उभिएको थियो!
धरहराले छेलिदै साँझको सूर्य जब
अस्ताचलतिर खस्तै जान्थ्यो अन्धकार हुनुअघि एकपल्ट धरहरा
हरेक साँझ ऊ आफ्नो पूरातत्वको हुँकार गर्थ्याे।
मलाई कहिल्यै लागेन
धरहरा नभएको काठमाडौं पनि काठमाडौं हुन सक्छ
मलाई कहिल्यै लागेन
धरहराले नछेकिएर पनि
उपत्यकाबाट घाम अस्ताउन सक्छ!
भूकम्पले नै होच्याएको थियो रे धरहरालाई उसको उचाइबाट
भूकम्पले नै ढाल्यो आज उसलाई फेदैबाट।
अग्लो सधैं अग्लिरहदैन रहेछ
अग्लो होचिए पछि
होचोहरू आफै अग्लिने रहेछ।
प्रतिक्रिया