चिसो मौसममा मानिसमा छालाको समस्या अलि बढी हुन्छ। जाडौ मौसममा छाला सुख्खा हुने, फुस्रो हुने, चिलाउने, हात खुट्टाका औला सुन्निने, अनुहार तथा हात खुट्टाको छाला फुट्नेलगायत समस्या प्रमुखताका साथ देखिन्छन्।
जाडो मौसममा सुख्खा पन प्रमुख समस्या बन्छ। सुख्खा मौसममा हावामा आद्रता कम हुन्छ। र, हावा चल्छ। जसले गर्दा छाला सुख्खा र फुस्रो हुने समस्या हुन्छ। सुख्खापन हुँदा छाला चिलाउँछ। फुट्ने सम्भावना हुन्छ। शरीरमा पानीको कमी हुने भएकाले छाला फुट्ने समस्या पैदा हुनसक्छ।
मधुमेहका रोगीमा चिसोमा सुख्खापनको समस्या अरु मानिसकोभन्दा बढी हुन्छ। त्यसैले उनीहरूले अन्य मानिसकोभन्दा बढी सतर्कता अपनाउनुपर्ने हुन्छ। बुढेसकाल लागेका मानिसमा छालामा सुख्खापन हुने समस्या झनै बढी हुन्छ। मधुमेहका बिरामी जस्तै बृद्ध मानिसले पनि बढी सावधानी अपनाउनुपर्छ।
चिसोबाट पैदा हुने समस्याबाट जोगिन पोसिलो आहारहरू खानुपर्छ। पानी प्रसस्त पिउनुपर्छ। धेरै तातो पानीले नुहाउँनु हुँदैन। नुहाउने बित्तिकै मोस्टराइजर लोसनहरू लगाउने, नरिवलको तेल लगाउने, शरीरलाई न्यानो पारेर बस्ने, भित्रि लुगा सुतिको बाहिरि लुगा उनीको लागाउने गर्नुपर्छ। उनीको कपडा लगाउँदा एलर्जी हुने जोखिम भएकाले बाहिरबाट मात्रै उनीको लुगा लगाउने गर्नुपर्छ।
त्यो बाहेक पहिल्यै भइरहेको छालाको समस्या जस्तै एक्जिमा भयो, सोराइसिस भयो, दादको समस्या जाडो महिनामा बढ्न सक्छ। त्यसैले यस्ता समस्याबाट बच्नका लागि शरीरलाई चिल्लो राख्नु नै जरुरी हुन्छ।
कुनै रोग भए डाक्टरको परामर्श लिएर सहि उपचार गर्नु जरुरी हुन्छ। दाद हुने मानिस बाहिर मेडिकलमा गएर गलत औषधी प्रयोग गरेर शरीरभरी नै फैलिसकेपछि मात्रै अस्पताल आउने गर्छन्।
चिसोमा हाम्रो हात खुल्टाको औलाहरू सुन्निने, दुख्ने, रातो हुने र कसैकसैमा पानीको फोका देखिने समस्या हुन्छ। यो चिसोले गर्दा हाम्रो रगतको नली खुम्चिएर हुने समस्या हो। यो चिसोपनाले नै हुने समस्या हो। त्यसैले सिधै आगो ताप्ने नभई हातलाई न्यानो राख्न पञ्जा, मोजाको प्रयोग गर्नुपर्छ।
मुटुका बिरामी, बुढेशकालमा मानिसहरूलाई र कतिपय बंशाणुगत भएका मानिसमा हात खुट्टाका औलाहरू, नाकको टुप्पो, कानको लोती रातो हुने सुन्निने समस्या हुन्छ। हामी जाडो महिनामा घाममा धेरै बस्न रुचाउँछौं। सुख्खापन पनि हुन्छ, त्योसँगै घामको असरले चाउरीपना आउने, छाला सुख्खा हुने, चायापोतो अझ बढ्ने समस्या पनि आउन सक्छ। घामबाट बच्न सन्सक्रिम, मोस्टराइजर लगाउने गर्नुपर्छ।
सुख्खापन आउने भनेको वातावरण पनि प्रमुख कारक हुन्छ। तापक्रम घट्छ। हावा हुने आद्रता घट्छ। जसले गर्दा शरीरमा सुख्खापन आउँछ। बुढेशकालमा सुख्खापन बढी हुन्छ। पानीको मात्रा बढी पिउनुपर्छ।
सुख्खापनबाट जोगिन नरिवलको तेल वा बाक्लो मोस्टराइजरको प्रयोग गर्नुपर्छ। सावुन प्रयोग गर्दा छालालाई नरम राख्ने खालका प्रयोग गर्नुपर्छ। मनतातो पानीले नुहाउने गर्नुपर्छ। पोषिलो खाने कुरा खानुपर्छ।
नुहाउँदा रुमालले पुच्नेवित्तिकै तेल लगाउनुपर्छ। छाला सुख्खा भयो वा चिलायो भने अन्य बेला पनि तेलको प्रयोग गर्नुपर्छ। जसले छालालाई नरम पार्न मद्दत गर्छ।
घरमा ध्यान दिँदा दिँदै पनि छालामा समस्या बढ्यो भने सामान्य रुपमा लिनु हुँदैन। विषेशज्ञलाई देखाउनुपर्छ। लोसनको प्रयोग गर्दा मेडिकेटेड ब्रान्ड प्रयोग गर्नुपर्छ। औषधी प्रयोग गर्दा भने डाक्टरको प्रयोग गर्नुपर्ने हुन्छ।
डा. सब्रिना यमु श्रेष्ठ विराट मेडिकल कलेजकी कन्सलटेन्ट डर्मेटोलोजिस्ट हुन्।
प्रतिक्रिया