शरीरका विभिन्न जोर्नीहरूमा हुने समस्यालाई बाथ भनिन्छ। मानिसमा भएका सबैभन्दा पुराना स्वास्थ्य समस्यामध्ये बाथ पनि एक हो। इजिप्टको ‘ममी’मा आदिम युगका व्यक्तिहरूमा र डाइनोसरमा पनि यो समस्या पाइएको छ। विश्वका करोडौं मानिसहरू यो समस्याबाट प्रभावित छन्। कतिपय विज्ञापनहरूमा बाथको रोगले दुखेको तुरुन्त चमत्कारिक रूपले ठिक हुने कुरा र त्यसको उपचारको बारेमा उल्लेख गरिएको हुन्छ। तर वास्तवमा चमत्कारिक रूपले ठिक चाहिँ हुँदेन । यस्ता विज्ञापन झुठो हुन्छ। बाथ भएर डाक्टरकहाँ जाँदाजाँदै पनि दुखाइ कम गर्न घरमै प्रयोग गर्न सकिने केही साधारण उपायहरूको बारेमा यहाँ उल्लेख गरिएको छ।
बाथ रोग भएका मानिसले तौल घटाउनुपर्छ। त्यस्तो कुनै खास प्रकारको भोजन औषधी छैन, जसले वाथ रोग चटक्क निको पार्छ। तौल घटाउन सकियो भने यसले बिरामीका विभिन्न जोडहरू जस्तै–घुँडा, खुट्टाका जोर्नी आदिमा पर्ने दवाव कम र दुखाइ केही कम हुन्छ। हड्डीहरूको बीचमा हुने साना तन्तु र कार्टिलेजहरूमा दबाब बढ्न जाँदा हाडमा संक्रमण बढ्न सक्छ। त्यसैले तौल घटाउने कामको सुरुआतसँगै दुखाइ पनि कम हुन सुरु हुन्छ। बाथ भएकाहरू ‘हिँड्दा दुख्छ’ भन्छन्, तर नहिँडेर, नचलेर बस्यो भने रोगीहरूलाई झन् बढी समस्या पर्न जान्छ। हलचल नगर्ने हो भने कुँजो पनि हुन सक्छ।
बरु प्रत्येक दिन अलिअलि गर्दै हिँड्ने गर्यो भने समस्या समाधानको सुरुआत हुन सक्छ। हिँडाइ तथा विभिन्न किसिमका शारीरिक क्रियाकलापहरुबाट चल्न गाह्रो हुने जोर्नीहरूलाई पुनः जीवनदान दिन सकिन्छ। यस्तै गरी प्रायः एकै ठाउँमा बसिरहने र धेरै बौद्धिक काम गर्ने मानिसहरूको शारीरिक कृयाकलाप जस्तो–हिँडाइ, दौडाइ कम हुने हुनाले यस्ता व्यक्तिहरूको तौल स्वतः नै बढी हुन्छ। तिनीहरूलाई बाथ हुँदा उनीहरूको सम्पूर्ण जीवनमा प्रभाव पर्छ। आधुनिक जीवनको दौडमा दिनरात व्यस्त हुनेहरूलाई मानसिक तनाव कम गरेर सकारात्मक भावना जागृत गर्दा पनि दुखाइ कम हुन्छ।
बाथ भएका व्यक्तिहरूलाई विहान उठ्दा सबभन्दा बढी समस्या पर्छ। झन्डै ९० प्रतिशत बिरामीहरू बिहान उठेर भुईंमा खुट्टा राख्दा असह्य दुख्छ भन्छन्। यस्ता व्यक्तिहरूले राती सुत्नुभन्दा अगाडि तेल (तोरीको तेल वा तिलको तेल) ले मालिस गरेर सुत्ने हो भने विहान उठ्दा हुने दुखाइ केही कम हुन जान्छ। मालिस गर्नका लागि कुनै महँगो तेल बजारबाट किन्नु पर्दैन।
अमेरिकाकी एक मालिस गर्ने डोनाकिङ नामकी महिला भन्छिन्– मेरो हातमा विगत केही वर्षदेखि बाथको समस्या छ। म कपुरको तेललाई तताएर मालिस गर्छु। त्यसपछि त्यो हातलाई तातो कपडाले बेर्छु र मेरो दुखाइ कम हुन्छ।
प्राकृतिक चिकित्सालयहरूमा बाथ रोगका बिरामीहरूलाई तातो पानीले भरिएको ठूलो बाटामा राखिन्छ। त्यसमा कतिपय ठाउँमा वास्नायुक्त केही तेलहरू वा रस (जस्तो–गुलाबको तेल वा गुलाबजल) पनि राखिन्छ। यसरी बस्दा शरीरको तनाव कम हुन जान्छ र शरीरबाट एउटा विशेष रस निस्कन्छ, जसले प्राकृतिक रुपमा दुखाइ कम गर्न सक्छ। घरमा हामी ठूलो भाँडोमा पानी तताएर बस्न सम्भव नभएपनि दुखेको ठाउँ जस्तो–खुट्टाका जोर्नी, हातका जोर्नीहरूलाई मात्रै तातो पानीमा राख्दा पनि दुखाइ केही कम हुन सक्छ।
बाथका रोगीहरूलाई दुखाइ कम गर्न भिन्ना भिन्नै डाक्टरले भिन्ना भिन्नै औषधी दिन सक्छन्। तर पौडी खेल्ने विषयमा प्रायः सबैको एकै मत हुन्छ। सम्भव भएमा पौडी खेल्नु एउटा उत्तम उपचार तरीका हो। पानीमा शरीरको क्रियाकलाप हावामाभन्दा बढी हुन सक्छ। पौडिन नजान्ने व्यक्तिले पनि सुरुमा पानीमा हिँड्ने, पानीमा हात तलमाथि लाने, शारीरिक व्यायाम आदि गर्दा पनि निकै फाइदा हुन्छ।
बाथले सुन्निएको ठाउँमा तातो पानी राखेको बोतलले सेक्दा फाइदा हुन्छ। गाउँघरमा कतिपयले नुन तातो पारी त्यसलाई सूतीको पातलो कपडामा बेरेर वा बालुवालाई भुटेर वा ईट्टा वा ढुङ्गा तातो पारी कपडामा बेरेर पनि सेक्छन्। यी सबैको उद्देश्य एउटै हो– दुखेको ठाउँमा तातो दिएर दुखाइ कम गर्नु। केही व्यक्तिहरूलाई कुनै खास किसिमको भोजन खाँदा दुखाइ बढ्ने हुन्छ। यदि भोजनमा बाथलाई बढाउन सक्ने कुनै खानाको प्रकार छ भन्ने थाहा पाएमा त्यो भोजन खानाबाट हटाउनु पर्छ। तरकारीबाट निकालिएका रसहरू प्रयोग गर्दा पनि बाथ रोगीका लागि उपयोगी भएको पाइएको छ।
प्रतिक्रिया