नेपालगञ्ज – डा. सुभाष योगी बिहान १० बजे निस्किन्छन्। अस्पतालमा पुगेपछि कोरोना संक्रमित बिरामी हेर्न शुरु गर्छन्। ४–५ घण्टासम्म लगातार खटिँदा पिपिईले छोपिएको डा. योगीको शरीर पसिनाले पूरै भिजिसकेको हुन्छ।
नेपालगञ्ज मेडिकल कलेजको कोहलपुरस्थित शिक्षण अस्पतालमा पछिल्लो ७ दिनदेखि यसरी नै खटिरहेका छन् डा. योगी। नेपालगञ्ज मेडिकल कलेजको मेडिसियन विभागमा कार्यरत डा. योगी फोक्सोरोग विशेषज्ञ हुन्।
‘कोभिड पनि फोक्सोसँग अलि बढी सम्बन्धित भएकाले हामीमाथि बिरामीको जिम्मेवारी धेरै हुन्छ, संक्रमित बढेपछि कामको चाप पनि बढेको छ,’ डा. योगीले भने।
बाँके, दाङसहित पश्चिम तराईका जिल्लाहरूमा कोरोना संक्रमणदर तीव्र छ। अस्पतालहरूमा बिरामीको चाप दिनानुदिन बढिरहेको छ। कोहलपुरस्थित डा. योगी कार्यरत कोभिड हस्पिटलमा पनि बिरामीको चाप बढेको छ।
‘कोरोना प्रकोप भयावह छ, हामीले सोचेभन्दा पनि विकराल अवस्था आउन सक्छ, सुरक्षित भएर बस्नुको विकल्प छैन, हामीसँग अर्को कुनै उपाय छैन,’ डा. योगीले भने।
बेड बिरामीले भरिभराउ, भर्ना हुन लाइनमा
नेपालगञ्ज मेडिकल कलेजको कोहलपुरस्थित शिक्षण हस्पिटल २८ आइसियू बेसहित ७० बेड क्षमताको रहेको छ। अन्य वार्डहरू छन्।
डा. योगीका अनुसार सबै भरिभराउ छन्। ‘बिरामीको चाप थेग्नै बेड नपाएर संक्रमितले एकदमै समस्या झेलिरहेका छन्, हाम्रो तर्फबाट सक्नेजति प्रयास भई नै रहेको छ,’ डा. योगीले भने।
यसैबीच, बिरामीको चाप बढेपछि नेपालगञ्ज मेडिकल कलेजले थप २ सय ५० शैय्या निर्माणको कार्य गर्दैछ। त्यसपछि बिरामीलाई केही सहज होला भन्ने अपेक्षा अस्पताल प्रशासनको छ।
‘दाङका बिरामीहरू सिधै यही आउनुहुन्छ, कतिले पालो कुरिरहनु भएको छ, भर्ना गर्नुप¥यो भनेर फोन आउँछ, तर अस्पतालको बेड क्षमताभन्दा बढी लिन मिल्दैन, हामी बिरामी फिर्ता गर्न विवश छौं,’ डा. योगीले भने।
पश्चिम तराईको कोरोना संक्रमणको अवस्था निकै भयावह छ। कोरोना संक्रमित भएका सर्वसाधारणलाई निको हुन समय लाग्छ नै। फेरि संक्रमण व्यापक फैलिएपछि अस्पतालहरू भरिभराउ हुन अवस्था आएको डा. योगीको भनाई छ।
‘अवस्था यति विकराल छ, कुनै–कुनै अस्पतालमा त कोही मर्छन् र भर्ना पाइन्छ भनेर प्रतिक्षा गरिरहेका हुन्छन् बिरामी, यो कठोर सत्य हो, यस विषयमा राज्यको अलिकति ध्यान गएमा परिस्थिति केही सहज हुने थियो,’ डा. योगीले भने।
कोरोना संक्रमितमा स्वासप्रस्वासका बिरामी धेरै
डा. योगीका अनुसार कोभिडका बिरामीहरू सबैभन्दा बढी स्वासप्रस्वासको समस्याबाट ग्रस्त छ। अर्को समस्या अक्सिजनको मात्रा घट्नु हो।
‘कतिपय होम आइसोलेसनमा बिरामीहरू अक्सिजन घटेपछि तुरुन्तै आकस्मिक कक्षमा आउनु हुन्छ, स्वासप्रस्वासमा समस्या भएका र जटिल अवस्थाका बिरामीलाई भर्ना गरेरै उपचार शुरु गर्छौं,’ उनले भने।
डा. योगीका अनुसार सामान्य, मध्यम् र जटिल गरी तीन तहमा विभाजन गरेर बिरामीको उपचार भइरहेको छ। ‘कसलाई कहाँ राख्ने भन्ने विषयमा निर्णय गरेर भर्ना गर्छौं, अक्सिजन विभिन्न माध्यमबाट र अन्य मेडिसिनको सपोर्ट दिनुपर्ने पनि हुन्छ, यस्ता बिरामीलाई आइसियूमै राखेर उपचार गरिन्छ,’ उनले भने।
कोरोना संक्रमितको चाप बढे पनि स्वास्थ्यकर्मीको संख्या थप गर्न नसक्दा उपचारमा समस्या भइरहेको छ। डा. योगीका अनुसार उनी कार्यरत कोभिड हस्पिटलमा ७० बेडका लागि तीन जना चिकित्सक छन्।
अन्य नर्सिङ स्टाफहरू पनि कार्यरत छन्। २० जना बिरामीलाई २ जना नर्सले हेर्नुपर्ने बाध्यता रहेको छ। ‘जनशक्तिको अभाव छ, प्रकोप विस्तारको अवस्था हेरेर जनशक्ति थप्नै पर्ने स्थिति छ,’ डा. योगीले भने।
बाँकेका अस्पतालमा अक्सिजनको अभाव भइरहेको डा. योगीले बताएका छन्। सरकारी अस्पताल भेरीमा पनि अक्सिजनको अभाव भएको उनले बताए। ‘यद्यपि, कोहलपुरस्थित हाम्रो हस्पिटलमा पनि बिचमा केही अभाव भए पनि अहिले लिक्वीड अक्सिजन (oxygen tank) ट्यांक आएकाले केही हदसम्म अक्सिजनको अभाव टरेको छ, हाम्रो अस्पतालमा अक्सिजनको व्यवस्थापन गरिरहेका छौं,’ उनले भने।
आफ्नो सुरक्षा र चिकित्सकका चुनौती
कोरोना प्रकोपका कारण नागरिक गम्भीर स्वास्थ्य समस्या र प्रताडना भोगिरहेका छन्। नागरिकको सेवामा दिनरात खटिने चिकित्सक पनि संक्रमणबाट अछुतो छैनन्।
सुरक्षाका सामग्रीको प्रयोग गरेर कोरोना संक्रमित बिरामीको उपचारमा खटिन्छन् चिकित्सक र नर्सहरू। ‘व्यक्तिगत सुरक्षा सामग्री (पिपिई) लगाउँछौं, अन्य सुरक्षाका सामग्री पनि छन्,’ डा. योगीले भने, ‘तर, राउण्डमा बिरामी हेर्दा ४–५ घण्टा लाग्छ, पसिना आएर शरीर भिजिसकेको हुन्छ,’ उनले भने।
सुरक्षा अपनाउँदा पनि संक्रमित भएका छन्। ‘भेरी अस्पतालका धेरै चिकित्सक संक्रमित हुनुभएको छ, र हाम्रो अस्पतालको केही चिकित्सक र नर्सलाई कोरोना संक्रमण पुष्टि भएको छ,’ डा. योगीले भने, ‘सबै सुरक्षा अपनाउँदा–अपनाउँदै पनि संक्रमित भएका तथ्य र बाध्यताहरू छन्।’
आफ्नै अगाडि बिरामी ढल्दा…
कोरोना संक्रमण भएपछि उपचार खोज्दै अस्पतालसम्म आइपुग्छन् बिरामीहरू। तर, कहिलेकाही अपेक्षाभन्दा ठिक विपरीत छन्। बिरामी बचाउन नसक्दा असाध्यै पिडा हुने बताउँछन् डा. योगी।
‘अत्यन्तै पीडा हुन्छ, यस्तो हुन्छ कि म त्यो दृष्यलाई शब्दमा व्यक्त गर्न सक्दिनँ, भर्खरको युवा, अघिल्लो दिनसम्म राम्रै हुन्छ, सुधार आइरहेको छ भनेर आफन्तलाई पनि उत्साह दिँदा–दिँदै भोलिपल्टै अचानक स्वास्थ्यमा समस्या आएर, अक्सिजन लेभल घटेर ज्यान गुमाउन पुग्छन्, कोसिसका बावजुद आँखा अगाडि बिरामीको मृत्यु हुन्छ, त्यस्तो अवस्थामा धेरै नराम्रो लाग्छ,’ डा. योगीले भने।
कोभिडका बिरामीको उपचार गर्दा अलि फरक अनुभव संगालेका छन् डा. योगीले। ‘कतिपय बिरामीले हात जोडेर डाक्टर साब मलाई बचाइदिनुहोस् भनिरहनु भएको हुन्छ, दिनुपर्ने सबै उपचार गरे पनि, प्लाज्मा, अक्सिजन, एन्टिभाइरलसम्म दिँदा पनि बिरामीलाई फर्काउन सकिँदैन,’ उनले भने।
यस्तो दृष्यले चिकित्सक पनि भावविह्वल हुन्छन्। ‘कहिलेकाही यति नैराश्यता आउँछ नि मैले के पढे छु भन्ने लाग्छ, कहिलेकाही पाको उमेरका व्यक्ति आउनुहुन्छ, शारीरिक रुपमा कमजोर हुनुहुन्छ, हामीले उपचार गर्छौं, कोसिस गर्दा पनि उहाँहरू बित्नुहुन्छ, त्यो स्थितिमा त मन बुझाउन सकिन्छ, तर युवाहरूलाई उपचार गर्दा बाँच्ने सम्भावना हुन्छ भन्ने लाग्दा–लाग्दै पनि दुःखद् घटना भइदिन्छ, त्यो दृष्य हाम्रा लागि धेरै अप्रिय हुन्छ,’ डा. योगीले भने।
प्रतिक्रिया