Logo

समाचार

कोरोनाको लक्षण देखियो, तत्काल पिसिआर परीक्षण गर्नुहोस् : डा. अनुप सुवेदी



कोभिडका जस्ता लक्षण (ज्वरो, खोकी, अरू बेलाभन्दा फरक/बढी टाउको/जिउ दुख्ने वा जिउ गल्ने/कमजोर हुने, गन्ध वा स्वाद हराउने, पखाला चल्ने) देखिने बित्तिकै चाँडोभन्दा चाँडो पिसिआर परीक्षण गरिहाल्नु अत्यन्त जरुरी छ।

यसोभन्नुका कारणहरूः

१. यदि सिकिस्त भइयो भने तुरुन्त सही उपचार सुरु गर्न पाइन्छ, र अनावश्यक र संभवतः हानीकारक उपचार (जस्तै एन्टिबायोटिक्स, १० थरी भिटामिन आदि) पनि गर्नुपर्दैन।

लक्षण सुरु भएको ८-९ दिनमा अक्सिजन कम भएर सिकिस्त भएर अस्पताल आइपुग्दा पनि पिसिआर पहिल्यै नगरेको हुनाले फेरि पिसिआर पठाएर नतिजालाई थप १-२ दिन कुर्दाकुर्दै झन सिकिस्त भएर भेन्टिलेटर चाहिएको, मृत्यु नै भएको धेरै देखियो।

२. कोभिडमा ज्वरो, जिउ दुख्ने, घाँटी दुख्ने जस्ता लक्षण सुरुका केही दिनपछि धेरैमा हराउँछन् वा मत्थर हुन्छन्, अनि दोस्रो हप्तातिर एक्कासी ज्वरो, स्वाँ–स्वाँ बढ्ने, अक्सिजन चाहिने हुन्छ। प्रायः बिरामीले १-२ दिन देखिएर लक्षण हराएपछि वास्ता गर्न छोड्छन्, पिसिआर गर्न आवश्यक ठान्दैनन्।

तर ,जाँच गर्दा रोगको पहिचान हुने सम्भावना लक्षण शुरु भएको बेलातिर सबैभन्दा बढी हुन्छ, केही दिनमै पिसिआरको पहिचान गर्ने क्षमता धेरै घट्छ। झन् दोस्रो हप्तामा सिकिस्त भइसकेपछि परीक्षण गर्दा पोजिटिव देखिने सम्भावना धेरै कम हुन्छ। र सही उपचार नपाउने, गलत उपचार पाउने सम्भावना पनि बढ्छ।

३. मानौं तपाईं कोभिडले सिकिस्त भएर अस्पतालमा अक्सिजन चाहिने अवस्थामा पुग्नुभयो। तर, पिसिआर भएको छैन। कोभिडको पुष्टि भइसकेकालाई अरु कोभिडका बिरामीसँगै एउटै वार्ड वा कोठामा राख्न मिल्छ।

तर, कोभिडको शंका मात्र भएका तर पुष्टि नभएकालाई सँगै राख्न मिल्दैन, छुट्टै कोठामा एक्लै राख्नुपर्छ। नत्र सँगै राखिएकामध्ये एकलाई कोभिड रहेछ र अरूलाई रहेन छ भने अरूलाई पनि सर्ने खतरा हुने भयाे।

त्यसैले त्यस्तो अवस्थामा तपाईंलाई भर्ना गर्न एक्लै बस्ने छुट्टै कोठा मिल्नुपर्‍यो जुन अचेल एकदम दुर्लभ छ। कोभिड वार्डमा जति बेड खाली भए पनि तपाईंलाई राख्न मिलेन। पिसिआरको नतिजा नहुनाले तपाईंले उपचार गर्न शय्या नपाउने, उपचारै नहुने संभावना धेरै बढ्ने भयो।

४. अनि चाँडो नतिजा थाहा पाउँदा आफ्ना परिवारका मान्छे र अरु सम्पर्कमा आएकालाई जोगाउन पनि उत्ति नै सम्भव हुने नै भयाे। त्यसैले कोभिडको लक्षण देखिनेले कम्तिमा पिसिआर चाहिँ चाँडोभन्दा चाँडो गरिहाल्नु जरुरी छ।

कोरोनाको उपचार घरमै: डा. सुवर्ण पौडेलकाे अन्तरवार्ता

प्रकाशित : १५ जेष्ठ २०७८, शनिबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    दुर्गादेवी अधिकारी ९८१५९२९१२४
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल