विराटनगर- नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत मोरङमा भएको चुनावमा दुई मेयर पराजित भएका छन्। सुन्दरहरैँचा नगरपालिकाका मेयर शिवप्रसाद ढकाल र रतुवामाई नगरपालिकाका मेयर रविन राई पराजित भएका हुन्।
सचिवमा संस्थापन समूहबाट उठेका सुन्दरहरैँचा नगरपालिकाका मेयर ढकालले एक हजार ८४ मत प्राप्त गरे भने संस्थापनइतर समूहबाट बागी उठेका रतुवामाई नगरपालिकाका मेयर राईले ४५५ मत मात्र प्राप्त गरेका छन्।
जिल्ला सचिवमा संस्थापनइतर समूहका मोदराज घिमिरे र ललितबहादुर श्रेष्ठ निर्वाचित भएका छन्। घिमिरेले एक हजार २३५ मत प्राप्त गरे भने श्रेष्ठले एक हजार ५६९ मत प्राप्त गरे।
जिल्ला उपसभापतिमा संस्थापनइतर पक्षबाट नागेश कोइराला र भक्तिनाथ माझी थारू निर्वाचित भए। कोइरालाले एक हजार ९४० मत पाएका थिए भने थारूले एक हजार ३४३ मत मात्र प्राप्त गरे। सहसचिवमा भुवनेश्वर मण्डल र सञ्जयकुमार मण्डल निर्वाचित भएका छन्।
प्रतिक्रिया