‘निषेधाज्ञाबारे हल्लाको पछाडि नलागौँ, जनस्वास्थ्यका मापदण्ड पालना गरौँ’
काठमाडौं : कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोन विश्वका २४ भन्दा बढी देशहरूसहित छिमेकी मुलुक भारतमा पनि देखिएपछि नेपालमा यसबारे चासो बढेको छ । ओमिक्रोनलाई लिएर सामाजिक सञ्जालमा ‘लकडाउन’ हुन सक्ने समेतका अफवाहहरू फैलाइएको देखिएको छ ।
नेपालमा हालसम्म ओमिक्रोनको कुनै पनि ‘केस’ नभेटिएको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले जनाएको छ । यद्यपि, ओमिक्रोन भित्रिन सक्ने जोखिमलाई ध्यानमा राख्दै अत्यावश्यकबाहेक विदेश यात्रा नगर्न र जनस्वास्थ्यका मापदण्ड पालना गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सजग गराइरहेको छ ।
ओमिक्रोन भित्रिन नदिन कस्तो छ तयारी ?
कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोन नेपाल भित्रिन नदिन सरकारले संक्रमण बढी फैलिएका नौ देशबाट नेपाल आउन रोक लगाइसकेको छ । गएको बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले दक्षिण अफ्रिका, बोत्सवाना, जिम्बाब्वे, नामिबिया, लेसोथो, इसवाटिनी, मोजाम्बिक, मलावी र हङकङबाट नेपाल आउनेलाई प्रवेश अनुमति नदिने निर्णय गरेको छ । ती मुलुकलाई ट्रान्जिट बनाई नेपाल आउने वा गएको तीन हप्ताभित्र ती मुलुक भ्रमण गरेका यात्रुलाई पनि बिहीबार राति १२ बजेदेखि नेपाल प्रवेशको अनुमतिमा रोक लगाइएको छ ।
यस्तै, संक्रमणको जोखिम भएका मुलुकबाट नेपाल भ्रमणमा आउने यात्रुलाई अनअराइभल भिसा पनि नदिने निर्णय सरकारले गरेको छ । सोही निर्णयानुसार ती देशहरूबाट हवाई तथा स्थलमार्ग हुँदै नेपाल आउन रोक लगाइएको अध्यागमन विभागका महानिर्देशक नारायाणप्रसाद भट्टराईले बताए ।
“संक्रमण रेसियो हेरेर अहिलेका लागि यी नौ मुलुकबाट प्रवेशमा रोक लगाइएको हो । रोक लगाइएकामध्ये हङकङबाहेक अन्य मुलुकसँग हाम्रो प्रत्यक्ष उडान पनि छैन । तर, हामीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललगायत स्थलमार्गमा रहेका नाकामा पनि कडाइ गर्न स्थानीय प्रशासनहरूसँग समन्वय गरिरहेका छौँ,” भट्टराईले भने ।
यता, गम्भीर संक्रमणको जोखिम कम गर्न सरकारले दैनिक दुई लाखजनालाई कोभिड–१९ विरुद्धको खोप दिने भएको छ । बिहीबारकै मन्त्रिपरिषद्को बैठकले दैनिक न्यूनतम दुई लाखजनालाई अनिवार्य खोप लगाउने व्यवस्था मिलाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई निर्देशन दिइसकेको छ ।
अहिले दैनिक डेढदेखि तीन लाखजनासम्मलाई कोभिड–१९ विरुद्धको खोप दिइरहेको मन्त्रालयले जनाएको छ । नेपालमा मंसिर १६ गतेसम्म ८५ लाख ५९ हजार २४२ जनाले कोभिड–१९ विरुद्धको दुवै डोज र एक करोड एक लाख २७ हजार ४०७ जनाले पहिलो डोज खोप लगाएका छन् ।
निषेधाज्ञा गर्ने तयारी छैन
नेपालमा अहिले कोभिड–१९ पुष्टि भएका व्यक्तिहरूमा नयाँ भेरियन्ट भए/नभएको परीक्षण गर्न सरकारले देशभरका सीमानाकामा रहेका हेल्थ डेस्कबाट नमुना संकलन गरी जिन सिक्वेन्सिङ गरिरहेको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाकी निर्देशक डा. रुणा झाका अनुसार कोभिड पोजिटिभ आएका नमुनाहरूमा नयाँ भेरियन्ट रहे/नरहेको परीक्षण गर्न अहिले जिन सिक्वेन्सिङ परीक्षणको संख्या समेत बढाइएको छ ।
नेपालमा पछिल्ला दुईवटा लहरमा डेल्टा भेरियन्ट फैलिएको थियो । डेल्टापछि कुनै पनि नयाँ भेरियन्ट पहिचान नभएको डा.रुणा झाले बताइन् ।
ओमिक्रोन भेरियन्टलाई लिएर विभिन्न अड्कलबाजी गरिए पनि सरकारले आधिकारिक रूपमा निषेधाज्ञाबारे कुनै छलफल गरेको छैन । नेपालमा दोस्रो लहरको कोरोना महामारीको बेलामा गरिएको पूर्वतयारी यथावत् राखिएको गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले जानकारी दिए ।
‘‘नेपालमा अहिलेसम्म ओमिक्रोन देखिएको छैन । अहिले निषेधाज्ञा गर्ने/नगर्ने कुनै पनि तयारी छैन । सीमानाकामा कडाइ गरिएको छ । निषेधाज्ञा जारी गरिहाल्नुपर्ने अवस्थामा विभिन्न सरोकारवाला निकायसँग छलफल गरेर मात्रै निर्णय गरिन्छ । हाम्रो पहिलेको पूर्वाधारहरू यथावत् नै छ,” प्रवक्ता पोखरेलले भने ।
जनस्वास्थ्यका मापदण्डमा नचुकौँ
कोभिड–१९ विरुद्धको खोप लगाएका व्यक्तिहरूमा कोभिड संक्रमण भए पनि सिकिस्त हुने र मृत्यु हुने सम्भावना निकै कम भएको तथ्य विभिन्न अध्ययनहरूले देखाइसकेका छन् । ओमिक्रोन यसअघिका विभिन्न भेरियन्टभन्दा बढी संक्रामक भएको तथ्यांकहरूले देखाए पनि यो कति घातक छ भन्नेबारे विश्व स्वास्थ्य संगठनले अनुसन्धान गरिरहेको छ ।
तर, जनुसुकै भेरियन्ट आए पनि खोपले सिकिस्त हुनबाट बचाउने भएकाले बढीभन्दा बढी खोप लगाउनु नै जोखिम कम गर्नु भएको बताउँछन्, वरिष्ठ सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुन ।
ओमिक्रोनबारे पर्याप्त अनुसन्धान भइनसकेको भए पनि जनस्वास्थ्यका मापदण्ड कडाइका साथ पालना गर्नु र खोप लगाउनु नै यसबाट जोगिने उपाय भएको बताउँछन्, जनस्वास्थ्य अनुसन्धानकर्ता डा. समीरमणि दीक्षित । उनी भन्छन्, “सबैले जनस्वास्थ्यका मापदण्ड अनिवार्य पालना गर्नुपर्यो । सरकारले बढीभन्दा बढी खोप वितरण गर्नुपर्यो । जनुसुकै भेरियन्ट आए पनि त्यसबाट जोगिने उपाय यिनै हुन् ।”
जोखिम वर्गमा परेका दीर्घरोगी तथा ज्येष्ठ नागरिकलाई ‘बुस्टर डोज’ पनि दिएर जोगाउन सकिने डा. दीक्षितको धारणा छ । खोप कार्यक्रमलाई अझै तीव्र बनाउनुपर्नेमा उनको जोड छ ।
प्रतिक्रिया