Logo

समाचार

कांग्रेस महाधिवेशनका लागि ठमेल, गौशाला र सुन्धाराका होटलमा ३८ सय बेड बुकिङ, दैनिक आठ हजारलाई खाना



नेपाली कांग्रेसले महाधिवेशन प्रतिनिधिहरूका लागि बसोबास र खानाको व्यवस्था गरेको छ।

मंसिर २४ गतेदेखि २७ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा कांग्रेसको १४ औं महाधिवेशन हुँदैछ। महाधिवेशन प्रतिनिधिहरू काठमाडौं आउने क्रम सुरू भइसकेको छ।

कांग्रेस महाधिवेशनका लागि गठित भोजन तथा आवास समितिले भने मंसिर २३ गतेदेखि मात्रै प्रतिनिधिलाई बसोबासको व्यवस्थापन गर्नेछ।

केन्द्रीय सदस्यसमेत रहेका भोजन तथा आवास समिति संयोजक सुरेन्द्रराज पाण्डेले आवास र भोजनका लागि व्यवस्थापन गर्ने काम भइरहेको बताए।

उनकाअनुसार ठमेल, सुन्धारा र गौशालामा महाधिवेशन प्रतिनिधिलाई बसोबासका लागि होटल बुकिङ गरिएका छन्।

‘अहिलेसम्म ३८ सय बेड बुकिङ भइसकेको छ। अब पाँच/सात सय बेड बुकिङ गर्न बाँकी छ, आज बुकिङ गरिसक्छौं,’ उनले भने।

कांग्रेसमा करिब चार हजार पाँच सय महाधिवेशन प्रतिनिधि हुन्छन्।

सबैभन्दा धेरै ठमेलका होटलमा गरी दुई हजार बेड बुकिङ गरिएको छ। एक हजार पाँच सय बेड भने गौशला र बाँकी सुन्धाराका होटलमा व्यवस्थापन गरिने उनले बताए।

खानाको व्यवस्थापन दुइटा पार्टी प्यालेसलाई दिइएको छ। बसुन्धाराको दियालो फुडल्याण्ड र बत्तीसपुतलीको अनुपम फुडल्याण्डले खानाको व्यवस्थापन गर्नेछन्।

‘दैनिक ८ हजार जनाका लागि खानाको व्यवस्थापन गर्न दुइटा फुडल्याण्डलाई जिम्मा दिइएको छ,’ पाण्डेले भने।

महाधिवेशन प्रतिनिधिलाई बिहान र बेलुकी खाना खुवाउने तयारी छ।

मंसिर २४ मा महाधिवेशन उद्घाटन भएदेखि मंसिर २७ गते बेलुकीसम्म महाधिवेशन प्रतिनिधिले भृकुटीमण्डपमा खाना खान पाउनेछन्।

सभापतिका उम्मेदवार कसैले पनि ५१ प्रतिशत मत ल्याएनन् भने महाधिवेशन मंसिर २७ पछि पनि केही दिन लम्बिन सक्छ।

‘भोजन र आवास गरेर करिब साढे ३ करोड खर्च हुने अनुमान गरिएको छ,’ उनले भने, ‘मंसिर २७ पछि पनि महाधिवेशन लम्बियो भने प्रतिदिन ८० लाख खर्च थपिँदै जान्छ।’

कांग्रेसले महाधिवेशन तयारीलाई तीव्रता दिएको छ। भृकुटीमण्डपमा मञ्च बनाउने काम पनि सुरू भइसकेको छ। यसपालि कांग्रेसले महाधिवेशनमा शक्ति प्रदर्शन नगर्ने बताएको छ। आज प्रवक्ता विश्वप्रकाश शर्माले महाधिवेशन स्थलमा कांग्रेसको झन्डा राख्ने कार्यक्रम छ। कांग्रेसले महाधिवेशन स्थलमा ५ हजार झन्डा राख्ने तयारी गरेको छ।

जिल्ला-जिल्लाबाट बसमा कार्यकर्ता नल्याउने र सालिन ढंगले महाधिवेशन गर्ने तयारी रहेको कांग्रेसका नेताहरू बताउँछन्।

प्रधानमन्त्रीसमेत रहेका सभापति शेरबहादुर देउवाले पनि शक्ति प्रदर्शनको पक्षमा पार्टी नरहेको प्रष्टाएका छन्। उनले कोरोना महामारी कायमै रहेकोले धेरै भिडभाड गर्न नहुने बताएका छन्।

महाधिवेशन प्रतिनिधिहरूलाई उनीहरू बसेको होटलबाट भृकुटीमण्डपसम्म ओहोर-दोहोर गराउन १५० भन्दा बढी गाडी परिचालन गरिने छ।

गाडीमा मास्क र सेनिटाइजरको व्यवस्था गरिएको र समस्या परे एन्टिजेन परीक्षण गर्न चिकित्सक तयारी अवस्थामा राखिएकोस्वास्थ्य समिति संयोजक मोहन बस्नेतले जानकारी दिए।

सेतो पाटिबाट

प्रकाशित : २१ मंसिर २०७८, मंगलबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    दुर्गादेवी अधिकारी ९८१५९२९१२४
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल